वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द, करिब ३ लाख जनसंख्या प्रभावित

सुर्खेत : अविरल वर्षाका कारण मुहानमा पहिरो जाँदा वीरेन्द्रनगर उपत्यमा खानेपानी आपूर्ति बन्द भएको छ । झुप्राखोला, खरिखोरा र बोरीखोलको मुहानमा पहिरो गएपछि बिहीबार राति २ बजेदेखि वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति बन्द भएको हो ।

कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानीका सबै मुहानहरुमा बाढी आएपछि खानेपानी आपूर्ति बन्द भएको जनाएको छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खानेपानीको मुहानमा पहिलो जानुका साथै ढल आएर लेदो मिसिएकाले केही दिन उपत्यकामा खानेपानी वितरण गर्न नसकिने बताए । ‘सबै मुहानमा पहिरो गएको छ । लगातार वर्षाका कारण कहाँ कती क्षति भयो त्यस्को विवरण निकाल्न पनि सकिएको छैन’ अध्यक्ष देवकोटाले भने ।

वर्षा नरोकिएसम्म खानेपानी आपूर्ति गर्न पनि नसकिने अध्यक्ष देवकोटाले बताएको खबर अनलाइन खबरले प्रकाशन गरेको छ । ‘स्रोतहरूमा बाढीको बहाव कम हुने वित्तकै मुख्य प्रसारण पाइप लाइनमा र धमिलोपना कम हुने बित्तिकै प्रसोधन केन्द्रहरुमा पानी राखी खानेपानी संचालन गर्ने गरी कर्मचारीहरु खटाइएका छौं । अहिले क्षतिको विवरण लिने काम भैरहेको छ,’ उनले भने ।

झन्डै २ लाख ८० हजार जनसंख्या रहेको वीरेन्द्रनगरमा समयमै खानेपानी आपूर्ति नभए समस्या हुँने देखिन्छ । अध्यक्ष देवकोटाका अनुसार वीरेन्द्रनगरमा वर्षातको समयमा दैनिक औसत ४९ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार