
तनहुँ : मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी आपूर्ति बन्द भएको हो ।
बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिनुभयो ।
त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त समितिले व्यास नगरपालिका–१ का दुई हजार छ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल बर्षाका कारण पाइपमा क्षति पुर्याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो ।


601 पटक हेरिएको 

