तनहुँ : व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कुल ५२ किलोमिटर दूरी मध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
व्यास–५ स्थित मादी नदी किनारबाट व्यास–१ को अमिलीभञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी लैजाने तयारी गरिएको हो । मादीनदी किनारमा पानी लिफ्टिङ गरी अमिलीभञ्ज्याङमा निर्माण गरिने पानी प्रशोधन केन्द्रबाट पानी वितरण गरिनेछ ।
समितिले ट्यांकी निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ । रिजर्भ ट्यांकीको भूइँ ढलान गर्ने कार्य सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ । उक्त आयोजनाको निर्माण सम्पन्न पश्चात् प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहेको सो संस्थाले जनाएको छ ।
पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ । व्यवस्थापक श्रेष्ठले भन्नुभयो “मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादीनदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने छ ।”
नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । वि.सं. २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । वि.सं. २०५६ सालमा ५२ वटा सार्वजनिक धाराबाट सुरुवात गरेको संस्थाले हालसम्म दुई हजार ६ सय बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
उक्त आयोजना निर्माण सम्पन्नपश्चात् व्यास–१ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी प्रशस्त मात्रामा प्रयोग गर्नसक्ने संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो।
भादगाउँमा बढ्दो सहरीकरणले अहिलेको पानीको क्षमताले पूर्ति गर्न कठिनाइ देखिएपछि वैकल्पिक पानीको स्रोततर्फ लागिएको उहाँले बताउनुभयो । संस्थाले दीर्घकालीन सोचका साथ पानीको स्रोत जुटाउन हरदम प्रयास गर्दै आएकोले आयोजनाको लागि सरकारले समेत चासो देखाएको उहाँले बताउनुभयो ।


582 पटक हेरिएको 

