बीस बर्षपछि नहरमा पानी बग्न थालेपछि किसान हर्षित,

भूमिगत पानीको पुनर्भरण समेत हुने

मोरङ : मोरङको महादेवकोल शाखा नहरमा बीस वर्षपछि पानी पुगेपछि किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि पानी चल्न सकेको थिएन । नहरमा पानी नहुँदा त्यस क्षेत्रका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।

त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पुर्‍याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालन हुना सकेको थिएन । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो । मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताउनुभयो । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् ।

“बालीमात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन् । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ,” अध्यक्ष साहले भन्नुभयो । उहाँका अनुसार नहरमा बग्ने पानीले जमिनमुनिको पानी पुनर्भरणका लागि समेत सघाउ पुग्ने र ट्युबेल मार्फत सिंचाई गर्ने किसानहरुलाई पनि यसले थप सघाउ पुग्नेछ । “बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुवैको जीवन सम्भव छैन, नहरले भूमिगत पानीको पुनर्भरण हुनेमा पनि ढुक्क छौं” उहाँले भन्नुभयो ।

धान, मकै, गहुँ पर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजना मार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताउनुभयो । धान, मकै र गहुँ बालीभन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताउनुभयो ।

नहरको दुवैतर्फ तरकारी उत्पादक किसान रहेकाले सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने किसानको माग छ । आयोजनाका इन्जिनियर महेश चौधरीले किसानको माग र आवश्यकता अनुसार नहर सञ्चालनमा ल्याइएको बताउनुभयो । आयोजना प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले नहर निर्माण गरेको बताउनुभयो । उहाँले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार