बोरिङ मार्फत किसानका खेत खेतमा पानी पुर्‍याईदै

सात सय डिप र स्यालो बोरिङ जडान

चितवन : कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको चितवानको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङ मार्फत किसानका खेत खेतमा पानी पुर्‍याउने भएको छ। नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गरी किसानका खेत खेतमा पानी पुर्‍याउन लागेको हो ।

साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्ष यता बोरिङ निर्माणमा केन्द्रित भएको माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार चार वर्षको अवधिमा माडी नगरपालिकाभित्र सात सय डिप र स्यालो बोरिङ जडान गरिएको छ । जसमा पाँच सय स्यालो, दुई मझौला र डिप बोरिङ जडान गरिएको छ ।

माडी नगरपालिकामा ६५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको उपाध्यायले जानकारी दिनुभयो । “जहाँ कुलो र ट्युबवेल छैनन् त्यहाँ मोटरका माध्यमबाट लिफ्ट सिचाइँको व्यवस्था गर्ने तयारीमा छौ, वडा कार्यालयले पनि सिँचाइलाई नियमित कार्यक्रममा राखेका छन् ।” उहाँले भन्नुभयो । यस्तै बोरिङ जोडेको ठाउँबाट किसानको खेतका गरागरामा पानी पुर्‍याउन पाइप जडानका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ ।

माडीमा चार हजार ५०० हेक्टर जमिनमा खेती भइरहेको छ । जसमा यस वर्ष चार हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । तीन वर्षअघि सात सय बिघामा धानखेती हुँदै आएको माडीमा सिँचाइको सुविधा भएपछि अहिले २२ सय बिघामा धान लगाइएको माडी नगरपालिकाले जनाएको छ ।

सिँचाइका कारण पछिल्लो समय माडी नगरपालिकामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने पनि बढेका छन् । माडीमा खोलाका किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका जमिन भने अझै पनि बाँझो छन् । नगरपालिकाले पूर्ण सिञ्चित माडी अभियानका साथ सिँचाइका कार्यक्रम सञ्चालन गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।

ठूला सिँचाइका कार्यक्रम संघ र प्रदेशसँग समन्वय गरेर सञ्चालन भइरहेका छन् भने साना सिँचाइका कार्यक्रम नगरपालिका आफैँ गरिरहेको छ । किसानले दिएको निवेदनका आधारमा जग्गा क्षेत्रफल छुट्याएर सिँचाइका लागि बोरिङ उपलब्ध गराइएको प्रमुख महतोले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार