
सल्यान : छत्रेस्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रुपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।
संघीय विशेष अनुदान अन्तर्गत संघले छत्रेस्वरी गाउँपालिका ६ लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजनाको लागि दुई करोड बजेट विनियोजन गरेको थियो । पालिकाले गरेको टेन्डर अनुसार मस्टा जेभी काठमाडौंले ०७७ फागुनमा लिफ्ट खानेपानीको लागि १ करोड २२ लाखमा सम्झौता गरेको थियो ।
योजना अलपत्र पर्दा भोटेचौर र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि स्थानीय अहिले पुराना मुहानबाट लामो समय हिँडेर पानी ल्याई खान बाध्य हुँदै आएका छन् । खानेपानीको लागि उनीहरुले विभिन्न किसिमका समस्या भोग्नु परेको छ । योजनाको कामको काम गर्ने अवधि सकिएपछि ठेकेदारले ल्याएका सामग्री अहिले त्यत्तिकै थन्किएका छन् ।
शारदा नदीको किनारमा बोरिङ गरेर लिप्टमार्फत बस्तीमा खानेपानी लैजाने योजनाको अहिलेसम्म बोरिङ मात्र खनिएको छ र पाइप गाडेको स्थानमा पर्खाल मात्र लगाइएको र अन्य कुन काम नभएको स्थानीय केशव बस्नेतले बताए । अलपत्र परेपछि ठेकेदार देखिने छाडेको उनले जानकारी गराए । उनका अनुसार योजनाको काम अलपत्र पर्दा स्थानीय पुरानो मूल र खोलाको पानी खान बाध्य छन् ।
ठेकेदार कम्पनीले काममा ढिलाई गरेका र बीचैमा छाडेका कारण घरमै धारामा शुद्ध पानी भर्ने पाउने सपना अहिलेसम्म पूरा हुन नसकेको प्रमिला खड्काले बताइन् । वर्षातको समयमा र वैशाख, जेठमा पानीको लागि साह्रै गाह्रो हुने उनले जानकारी गराए । ‘कपडा धुन, सरसफाइको लागि नजिकै शारदा नदीको पानी प्रयोग गर्छौं । खानेपानीको लागि भने समस्या हुने गरेको छ,’ उनले भनिन् ।
पुरानो योजनाको मर्मत नहुँदा नियमित धारामा पानी नआउने र छोटो समयमा लागि मात्र आउने गरेकाले एक खसक बढी समयदेखि खानेपानीको लागि सास्ती भोग्दै आएको निर्मला नेपालीले बताइन् । कहिलेकाही त शारदा नदीकै पानी प्रयोग गर्दै आएको उनले जानकारी गराए । योजना सम्पन्न गर्नको लागि माग राख्दै आएपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
क्रमागत योजना भएकाले सरकारले विनियोजन गरेको बजेट असारमै फिर्ता जाँदा ठेकेदारले काम गर्न छाड्दा लिफ्ट खानेपानी योजना रोकिएको छत्रेस्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । रोकिएको योजनाको लागि यो वर्ष प्रदश सरकारबाट बजेट परेकाले निर्वाचन सकिए लगत्तै पुनस् टेन्डर गरी काम सुरु गरिने उनले जानकारी गराए । उनका अनुसार पहिलाको ठेकेदारले २०/२५ प्रतिशत काम गरेको थियो । क्रमागत योजना भएको र सरकारले एकमुष्ठ बजेट नपठाउँदासम्म योजना समयमै सम्पन्न हुन नसक्ने उनको भनाइ छ ।


763 पटक हेरिएको 

