पञ्चायतदेखि अहिलेसम्म उही माग ‘खानेपानी, सडक र बिजुली’

खानेपानी ल्याउन विश्वासिलो प्रतिबद्धता नगरे भोटै नहाल्ने

सल्यान : कालीमाटी गाउँपालिका–६ काप्रेचौरका बासिन्दा झन्डै २ दशकदेखि खोलाको धमिलो पानी पिउन बाध्य छन् । गाउँमा सडक सुविधा नहुँदा बिरामीलाई घण्टौं स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । बिजुली नहुँदा दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता उनीहरूको छ ।
व्यवस्था बदलिए पनि विद्युत्, खानेपानी र सडक नहुँदा आफूहरू वर्षौंदेखि सास्ती भोग्न बाध्य भएको स्थानीय कमल बुढाले बताए ।

‘पञ्चायतदेखि नै विकासको समस्या भोग्दै आएका छौं, वरिवरिका गाउँमा विकासै विकास छ, राजनीतिक पहुँच नहुँदा हामी सधैं पछि पर्‍यौं,’ उनले भने, ‘अब त गाउँमा बिजुली, सडक र खानेपानी ल्याउन विश्वासिलो प्रतिबद्धता गराएर मात्र उम्मेदवारलाई भोट दिइन्छ, नत्र भोटै हालिँदैन ।’ गाउँपालिकाका अधिकांश गाउँहरू विकासको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका र सँगै जोडिएको बन्गाडकुपिण्डे नगरपालिकाका स्थानीयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मत माग्न गाउँ आएका उम्मेदवारसँग गतिलो सडक, घरघरमा पानी र बिजुलीको माग गर्न थालेका छन् । जसले बाह्रै महिना गाडी गुड्ने सडक, घरघरमा पानी र बिजुलीको व्यवस्था गर्न सक्छ त्यसैलाई मात्र भोट दिने स्थानीय अरुण बुढाले बताए ।

‘देशमा प्रजातन्त्र, लोकतन्त्र र संघीयता आए पनि हामीले विकासको कुनै अनुभूति गर्न सकेका छैनौं,’ उनले भने, ‘खानेपानीका लागि बाह्रै महिना खोलाको प्रदूषित पानी पिउनुपर्छ, एक गाग्री पानीका लागि एकरडेढ घण्टासम्म हिँड्नुपर्ने बाध्यता छ, बिजुली नभएका कारण सल्ले झर्रो बालेर रात गुजार्नुपर्छ ।’ आफ्ना माग पूरा गर्न नसक्ने कुनै पार्टीलाई भोट नदिने खबर कान्तिपुर दैनिकले छापेको छ ।

कालीमाटी गाउँपालिकाका झन्डै ३ हजार परिवारमा खानेपानी असुविधा छ । सडक भए पनि कच्ची भएकाले वर्षातको समयमा सधैं हिँडेर आउजाउ गर्न बाध्य भएको घुइयाबारीका नारायणसिंह सुनारले बताए । ‘अरू त के विकास हुन्थ्यो यहाँ खानेपानी नै पेटभरि पाइँदैन,’ उनले भने, ‘नेताहरू आउँछन्, वाचा गर्छन्, जितेर गएपछि फेरि फर्केर आउँदैनन् ।’

बन्गाडकुपिण्डे नगरपालिकाका १२ वडाका झन्डै ४ हजार घरमा पनि खानेपानी असुविधा छ । नगरपालिका भए पनि झन्डै ९ हजार परिवार विद्युत् सुविधाबाट वञ्चित छन् । सबैभन्दा बढी बामे, निगालचुला र माझकाँडाका स्थानीयवासी विकास नहुँदा ठूलो सास्ती भोग्न बाध्य भएको बामेका हिमबहादुर खत्रीले बताए । उनका अनुसार गाउँमा झन्डै ५० परिवारको जग्गाको लालपुर्जासमेत छैन । ‘विगतमा धेरै पार्टीका नेताले सबै माग पूरा गर्ने भन्दै निर्वाचनका बेला झुक्याएर भोट लिए पनि यसपालि पहिलेजस्तो जनता झुक्याउन पाउने छैनन्,’ उनले भने ।

जनताको मागप्रति बेवास्ता गर्ने र आफ्नो मात्र फाइदा उठाउनेलाई बस्तीमा प्रवेश गर्न नदिने उनले चेतावनी दिए । उनका अनुसार गाउँका अगुवाहरूले उम्मेदवारलाई लिखित प्रतिबद्धता गराएर मात्र मतदान गर्ने मौखिक सहमति गरेका छन् । उनले पहिले जितेर गएका सबै नेताहरूले आफूहरूलाई भ्रममा पारेको बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार