
काठमाडौ : कात्तिक मसान्तभित्रै मेलम्ची खानेपानी राजधानी ल्याउने योजना अनिश्चित बन्दै गएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने गरी काम भईरहेको जनाए पनि चुनावका कारण अनिश्चित बन्दै गएको हो ।
गत वर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो। सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जे शेर्पाले बताउनुभयो ।
‘गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैंले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन, तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ, मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौं’ उहाँले भन्नुभयो ‘यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ, महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ।’
राजधानीवासीलाई पानी खुवाउने हेलम्बुको सडक वर्षा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढ वर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ।
मेलम्ची बाढीको विषय चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो। स्थानीय सरकार नहुँदा सामाजिक संस्था मार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत लैजानुपर्ने उहाँको माग छ।
वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको टोलीले आयोजनास्थलको अध्ययन गरिसकेको छ । मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उहाँले बताउनुभयो ।
राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ। पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ। मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २७.५ किमी सुरूङ मार्ग हुँदै राजधानी ल्याइन्छ।
वि.सं २०७७ चैतमा बहुप्रतिक्षित मेलम्चीको पानी राजधानी ल्याईएको थियो । करिब साढे दुई महिनापछि वर्षाबाट हुनसक्ने सम्भावित क्षतिलाई रोक्न सुरुङमा पानी हाल्न बन्द गरिएको थियो । सुरुङमा पानी बन्द गरिएको भोलिपल्ट नै असार १ गते आएको गेग्रानसहितको बाढीले मुहानस्थलमा क्षति पुगेको थियो ।
वि.सं २०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी पाँच महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो । यसबर्ष भने सुरुङमा पानी बन्द गरिएको पाँच महिना पूरा भईसक्दा पनि अझै अनिश्चय बन्दै गएको छ ।


1094 पटक हेरिएको 

