
काठमाडौ : वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुन सक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।
यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो।
अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी गराउनुभयो । आवश्यक उपकरण सहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्ट लगायत केही काम सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले सुरुङ खोतल्ने काम भईरहेको छ ।
सिनियर डिभिजनल इन्जिनियर कुँवरले सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत साल भन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको बताउनुभयो । जतिसक्दो छिटो सुरुङमा पानी पथान्तरण गर्ने गरी काम भईरहेको उहाँको भनाइ छ। उहाँका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पुर्याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो ।
विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो । विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्नेछ ।


633 पटक हेरिएको 

