चार पटक म्याद थप्दा पनि खानेपानी आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई गराइयो कागज

अबको दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने

  वास खबर सम्वाददाता  775 पटक हेरिएको

खोटाङ : चार पटक म्याद थप हुँदा पनि खानेपानी आयोजनाको काम पूरा नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई महिनाभित्र काम पूरा गर्न ठेकेदारलाई कागज गराएको छ । हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको ठेकेदारलाई जनप्रतिनिधि, सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको रोहबरमा नगरपालिकाले दुई महिनाभित्र काम पूरा गर्न कागज गराएको हो ।

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्का लिएको दिवा–महादेव खिम्तीलाई माघ १६ गतेसम्ममा काम सम्पन्न गर्न कागज गराइएको हो ।

यस्तै काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई पनि आउँदो माघ १६ गतेसम्ममा आफ्नो काम सम्पन्न गर्ने गरी कागज गराइएको छ । यही आयोजनाको भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्शनलाई पनि प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताउनुभयो ।

सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी पुर्‍याउन झन्डै एक अर्ब रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भईरहेको छ । ठेकेदारले ढिलासुस्ती गर्दा चार – चार पटक म्याद थप हुँदा समेत खानेपानी आयोजना निर्माणको काम सम्पन्न हुन सकेको छैन । बर्षौदेखि कुवाको पानी बोकेकै भरमा खानेपानी पिउदै आएका बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरे लगायत क्षेत्रका बासिन्दाले अझै पनि उस्तै समस्या झेल्न बाध्य छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार