
सुर्खेत : फिनल्याण्ड सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता आयोजना -Sustainable WASH for all (SUSWA) ले कर्णाली प्रदेशको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा लगानी गरिरहेको छ । सन् २०२१ नोभेम्बरदेखि सुरु भएको सुस्वा आयोजनाले कर्णाली प्रदेशको ४२ वटा पालिकाहरुमा दिगो विकास लक्ष्य ६ का क्षेत्रहरु (खानेपानी, सरसफाइ र स्वच्छता) मा लगानी गर्दैछ।
सुस्वा आयोजना सन् २०२२ जुनसम्म कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लाका ८ वटा स्थानीय तहहरुमा कार्यान्वयन भईसकेको अनुगमन तथा मुल्याङ्कन विशेषज्ञ विमलराज शर्माले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोजना सञ्चालित स्थानीय तहहरुमा खानेपानी र सरसफाइका क्रियाकलापहरु सन्चालन भईरहेको आयोजनाले जनाएको छ । आयोजना सञ्चालित ८ वटा पालिकाहरुमा २५ वटा खानेपानी योजनाहरु निर्माण तथा मर्मत गरी २ हजार ६ सय ३० घरधुरीका १७ हजार ५६ जनालाई सेवा दिने लक्ष्य राखेको छ । यस्तै विद्यालय शौचालय निर्माण तथा मर्मत तर्फ २२ वटा योजनाहरु निर्माण गरी ५ हजार १ सय ८४ विद्यार्थीलाई लाभ पुर्याउने लक्ष्य राखेको छ ।
सन् २०२७ सम्म सञ्चालन हुने आयोजनाको लागि फिनल्याण्ड सरकारबाट ९ मिलियन युरो, युरोपेली संघबाट १०.१ मिलियन युरो, नेपाल सरकारको ५ मिलियन युरो लगानी रहनेछ । यस्तै सम्बन्धित नगरपालिकाहरुबाट ५ मिलियन युरो र उपभोक्ताको योगदान २ मिलियन युरो गरी ३१.१ मिलियन युरो लगानी हुने अनुमान गरिएको छ ।

आयोजनाका परिणामहरु :
आयोजना अवधिभित्र आयोजना सञ्चालित सम्बन्धित स्थानीय तहमा तीन वटा क्षेत्रमा कार्य गरी निम्न परिणाम निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।
परिणाम क्षेत्र १ :
आयोजना सन्चालन हुने पालिकाहरूमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) को सेवाहरू र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) को क्रियाकलापहरु संचालनको लागि अनुकूल वातावरण र सुशासनलाई सबल बनाउने ।
पालिका स्तरको खानेपानी, सरसफाई तथा स्वच्छता इकाई(M-WASH-Unit) को गठनको लागि सहयोग, खानेपानी, सरसफाई तथा स्वच्छता योजना (WASH Plan) तयार गर्नमा सहयोग, पालिकाहरुमा लैङ्गिक उत्तरदायी बजेट बनाउन र खानेपानी, सरसफाइ तथा स्वच्छता जानकारीको लागि व्यवस्थापन सूचना प्रणाली (Management Information System, MIS) प्रयोग गर्न सहयोग गर्ने ।
परिणाम क्षेत्र २ :
आयोजना सन्चालन हुने पालिकाहरूमा जलवायु अनुकूलित, सुरक्षित र सन्चालित (कार्यात्मक) खानेपानी आपूर्ति २ लाख ६२ हजार ५ सय लाभान्वित हुने । खानेपानी योजना पुनर्स्थापना अन्तर्गत २ लाख ५२ हजार ५ सय जनसंख्या र नयाँ खानेपानी योजना अन्तर्गत १० हजार जनसंख्या, जल सुरक्षा योजना (Water Safety Plan,WSP++) जसमा जलवायु परिवर्तन अनुकूलन र प्रकोप जोखिम न्यूनीकरणस मर्मत सम्भार तथा पानी शुल्क सङ्कलन र समावेशीकरण सम्मिलित गरिने । खानेपानी योजना अन्तर्गत ३५ वटा खानेपानी आयोजनाको पानीको बहुउपयोग (Multiple Water Use System – MUS) पद्दतिका योजनाहरु हुनेछन ।
परिणाम क्षेत्र ३ :
दिगो सरसफाइ तथा स्वच्छता र मर्यादित महिनावारी व्यवस्थापनबाट ६ लाख १२ हजार २५२ लाभान्वित हुनेछन् । व्यक्तिगत र घरेलु सरसफाइ तथा स्वच्छताका व्यवहारहरुस खुला दिसामुक्त अवस्थालाई दिगो बनाउदै पूर्ण सरसफाइतर्फ अघि बढ्दै, संस्थागत सरसफाई सुविधा (विद्यालय र स्वास्थ्य संस्थाहरुमा) साबुन पानीले हात धुने, मर्यादित महिनावारी, छाउपडी प्रथा विरुद्ध अभियान, मानव मलमूत्रीय फोहर व्यवस्थापनका क्रियाकलापहरु सञ्चालन गरिने । संस्थागत शौचालयहरु ३ सय वटा मर्मत एवम निर्माण हुनेछन ।
कार्यक्रममा कसले के भने ?

कार्यक्रममा आयोजना समन्वय इकाईका प्रमुख देवेन्द्र कुमार झाले फिनल्याण्ड सरकार तथा युरोपेली संघले लामो समय देखि नेपालमा खानेपानी तथा सरसफाइको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको र दिगो विकास लक्ष्य -६ हासिल गर्नका लागि महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले सुस्वा आयोजना नेपालको अति बिकट तथा विभिन्न विकास सूचकांकमा पछाडि परेको कर्णाली प्रदेशमा सन्चालन गरेकोमा धन्यबाद समेत व्यक्त गर्नुभयो ।
आयोजना समन्वय इकाई प्रमुख झा ले २०२२ जुलाई सम्ममा कर्णालीका ८ पालिकाहरुमा निर्माण चरणका क्रियाकलापहरु सन्चालन गरिरहेको आयोजनाले कर्णालीका थप १५ पालिकाहरुमा प्रारम्भिक कार्यहरु सुरु गरेको जानकारी गराउनुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेत सुस्वा आयोजनाको आयोजना समन्वय एकाई रहने व्यवस्था छ ।
यस्तै कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले सुस्वा आयोजनाले नीति तर्जुमा गर्न सुझाब दिनुभयो । उहाँले आयोजनाले विषयगत जनशत्तिको व्यबस्थापन गर्दै स्थानीइ स्तरमा वास ऐन बनाएर कार्यान्वयन गर्न समेत सुझाब दिनुभयो ।
यस्तै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले पनि कार्यशालामा छलफल भएका बिषयमा आफ्नो भनाइ राख्दै आयोजनाले सरसफाइ तथा स्वच्छता, पूर्ण सरसफाइ जनचेतनामूलक अभियानलाई बढावा दिनुपर्ने र स्पस्ट भूमिका र जिम्मेवारी सहितको स्थानीय तहमा क्रियाशील संस्थागत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
आयोजनाले आगामी चार वर्षको लागि सुझाव संकलन समेत गरेको छ। समूहगत कार्यबाट आएका प्रमुख विषयवस्तु तथा सुझावलाई आयोजनाले सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्ने जनाएको छ ।
खानेपानी सचिब मनिराम गेलालको अध्यक्षतामा सम्पन्न कार्यशालामा फिनल्याण्ड राजदुतावास, युरोपेली संघ, नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेशको भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशस्तरका संघसंस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।



1573 पटक हेरिएको 

