प्रदेश सरकारको लगानीमा निर्मित पानी परीक्षण प्रयोगशाला भवनको उदघाटन

मधौलिया खानेपानीको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण

  वास खबर सम्वाददाता  860 पटक हेरिएको

लुम्बिनी : कपिलवस्तुको बाणगंगा नगरपालिका १ मा निर्मित खानेपानी परीक्षण प्रयोगशाला भवनको उदघाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरी, खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले संयुक्त रुपमा प्रयोगशाला भवनको उदघाटन गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकार, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी परिक्षण प्रयोगशाला भवन निर्माण गरी प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।

प्रदेश सरकारले प्रयोगशाला भवन निर्माण गरी खानेपानी परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको यो नै पहिलो हो । लुम्बिनी प्रदेश सरकार, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव ई.जक्की अहमद अन्सारीले खानेपानी परिक्षण प्रयोगशालामा एक जना केमिष्ट, ल्याब एसिस्टेन्ट र कार्यालय सहयोगीको दरबन्दी सिर्जना गरी प्रयोगशाला सञ्चालन गरिने बताउनुभयो ।

उहाँले प्रयोशालाका लागि आवश्यक उपकरणहरुको व्यवस्थापन भईसकेको र जनशक्ति परिपूर्ति हुने वित्तिकै सञ्चालनमा ल्याईने बताउनुभयो । उहाँले प्रयोगशालाका लागि आवश्यक दरबन्दी सिर्जना गरी मन्त्रीपरिषद कार्यालयमा पठाईसकेको र स्वीकृत हुनासाथ करारमा नियुक्ति गरी सञ्चालनमा ल्याईने जानकारी गराउनुभयो ।

खानेपानी परिक्षण प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले तोकेको पारामितीहरु परिक्षण हुनेछन् । प्रयोगशाला स्थापनाबाट खानेपानीमा भएको प्रदुषण पहिचान गरी शुद्धिकरणका विभिन्न उपायहरु अपनाउन सहज हुनेछ ।

मधौलिया खानेपानीको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण


कपिलवस्तुको बाणगंगा नगरपालिका ५ मा निर्माण गरिएको मधौलिया खानेपानी ओभरहेड ट्याङ्की आयोजनाको पनि आजै उदघाटन तथा स्वामित्व हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरी, खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

आर्थिक बर्ष २०७५/०७६ मा सुरु भएको मधौलिया ओभरहेड ट्याङ्की आयोजनाबाट ८ सय ५५ घर लाभान्वित हुनेछन् । ती मध्ये ६ सय ७४ घरले सदस्यता लिईसकेको र ३ सय ७२ मा घरमा धारा जडान भईसकेको खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव ई.जक्की अहमद अन्सारीले जानकारी दिनुभयो ।

खानेपानी आयोजनाको कुल अनुमानित लागत ८ करोड ५१ लाख १६ हजार ४२ रुपैयाँ भए पनि ४ करोड ३ लाख ७६ हजार ५ सय ४६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । ती मध्ये उपभोक्ताले ६४ लाख २६ हजार २ सय ५३ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

मधौलिया खानेपानी ओभरहेड ट्याङ्की आयोजनाको स्वामित्व पत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट अध्यक्ष खडानन्द गौतम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तर्फबाट डिभिजन प्रमुख दिनेश प्रसाद शाहले हस्ताक्षर गर्नुभएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार