जनता नमुना माविमा शीतल जल

  वास खबर सम्वाददाता  350 पटक हेरिएको


विराटनगर : विराटनगरको शंकरपुर स्थित जनता नमुना माविमा माहेश्वरी महिला मञ्चले खानेपानीको फिल्टर प्लान्ट जडान गरेको छ । शीतल जल नाम दिईएको उक्त प्लाण्टको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्कीले मङ्गलवार उद्घाटन गर्नुभयो।

मञ्चले विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडक पेटीमा गरी २ ठाउँमा फिल्टर प्लान्ट जडान गरेको हो। केही समय यता मञ्चले गरेका सेवा कार्यमा आफू उपस्थित भएको उल्लेख गर्दै यसबाट आफू प्रभावित भएको उपप्रमुख कार्कीले बताउनुभयो। मञ्चका अध्यक्ष पुनम राठीले यस योजनामा १५ सय लिटर पानी अट्ने स्टोरेज ट्याङ्क राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरिएको जानकारी दिनुभयो।

प्लान्टमा ५ तहको फिल्टर, आरओ र युभी सहित जडान भएकाले सुरक्षित पानी मात्र उत्पादन हुने अध्यक्ष राठीको भनाइ छ । राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी फिल्टर गर्ने क्षमता छ । अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाह बीच फिल्टर प्लान्टको मर्मत सम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिन अघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको स्मरण गर्दै अब फिल्टर प्लाण्ट भएपछि त्यस्तो समस्या भोग्नु नपर्ने बताउनुभयो। उदघाटन कार्यक्रममा प्रधानाध्यपक घिमिरेले चर्को गर्मीमा विद्यार्थीहरू प्यासले छट्पटिइरहेका बेला मञ्चका अध्यक्ष राठी र उहाँको समूहले पिउने पानीको प्लाण्ट राखिदिन्छु भन्दा आफूलाई जल देवता आए जस्तै लागेको बताउनुभयो।

कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालय भित्र र बाहिर दुवैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ लिन सक्ने मञ्चले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार