
काठमाडौ : नव नियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पदबहाली पछि मन्त्री यादवले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताउनुभयो।
‘मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाह्रै महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ’ उहाँले भन्नुभयो ‘खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु ।’ उहाँले सबै मिलेर खानेपानी समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो।
जलवायु परिवर्तन लगायतका कारणले जमिनमुनि पानीको सतह घट्ने, पानीको स्रोत सुक्ने लगायत समस्या देखिन थालेको भन्दै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानको उपाय खोजिनुपर्नेमा जोड दिनुभयो।
‘उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराई लगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्ची लगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्याउन लागिपर्नेछु’ उहाँले भन्नुभयो।
प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बन्नु भएको छ । सिंहलाई सहरी विकास र पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् ।
कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिईएकोछ । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बन्नु भएकोछ । त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्नु भएको छ । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ भने कांग्रेसको शेखर कोइराला समूहबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी दिईएको छ।
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्नु भएको छ। मधेशबाट राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्रालयको जिम्मेवारी दिईएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बन्नु भएको छ। भण्डारी र अधिकारी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा हुनुहुन्थ्यो।
त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री भन्नु भएको छ । लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बन्नु भएको छ भने जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नु भएको छ।


397 पटक हेरिएको 

