सुस्वाका कर्मचारीहरुसँग महानिर्देशक श्रेष्ठले भने ‘सुस्वा देशको इज्जतसँग जोडिएको आयोजना हो’

  वास खबर सम्वाददाता  806 पटक हेरिएको


सुर्खेत : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. राम कुमार श्रेष्ठले सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना देशको इज्जतसँग जोडिएको आयोजना भएकाले परिणाम देखिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सुस्वा द्वारा आयोजित दोस्रो चरणको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी तथा नीति निर्माण, कार्यान्वयन सम्वाद कार्यक्रममा महानिर्देशक श्रेष्ठले कर्णालीबासीलाई सुरक्षित खानेपानी र सरसफाइमा पहुँच पुर्‍याउन फिनल्याण्ड सरकारले प्रदान गरेको अनुदानको उच्चतम सदुपयोग गर्न निर्देशन दिनुभयो।


‘यो देशको इज्जत र गरिमा सँग जोडिएको बिषय हो । फिनल्याण्ड सरकारले दिनु भएको अनुदानको उच्चतम सदुपयोग गरेर हामीले परिणाममुखी काम देखाउनुछ।’ महानिर्देशक श्रेष्ठले भन्नुभयो।

उहाँले सुस्वा आयोजना बाट सम्पन्न हुने हरेक काममा पारदर्शी र जवाफदेहिता निभाउनुपर्नेमा जोड दिनुभयो । ‘कहीँ कतै पनि पारदर्शिता माथि प्रश्न गर्ने ठाउँ नराखिकन काम गर्नुहोस, केही समस्या आएमा आफू भन्दा माथिल्लो निकायको सहयोग लिनुहोस, तर परिणाम देखिने गरि काम गर्नुहोस’ उहाँले भन्नुभयो ।

महानिर्देशक श्रेष्ठले कर्णालीको दुर्गम ठाउँसम्म पुगेर खानेपानी आयोजनाहरु निर्माण गरी विकटका नागरिकलाई खानेपानी खुवाउने कार्यमा संलग्न कर्मचारीहरुको उच्च प्रसंशा गर्नुभयो । ‘दुर्गम क्षेत्रमा बसेर खानेपानी र सरसफाइ सुविधा पु¥याउन लाग्नु भएका तपाई सबैको मिहेनतलाई विभागको तर्फबाट सल्युट गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।
आफू उपमहानिर्देशक पदमा रहँदा पनि सुस्वा आयोजनाको हरेका कामहरुमा सँगसँगै रहेको र सम्पन्न गरेका कामहरुको समेत अनुगमन गरेको स्मरण गर्दै उहाँले विभागको तर्फबाट आगामी दिनमा गर्नुपर्ने समन्वयकारी भूमिकामा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक सुस्वाको संयोजन समितिको अध्यक्ष रहने व्यवस्था छ ।

सुस्वाले बर्षभरि सम्पादन गरेका कार्यक्रमहरुको बारेमा समीक्षा गर्न कार्यक्रम सञ्चालित गाउँपालिकाका तथा नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वास संयोजक लगायतको उपस्थितिमा प्रदेशस्तरीय बार्षिक समीक्षा तथा नीति निर्माण कार्यान्वयन सम्वाद गरिरहेको छ ।


कार्यक्रममा हरेक गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को प्रगति प्रस्तुतीकरण गरिरहेको छ भने बार्षिक समीक्षा तथा नीति निर्माण कार्यान्वयन सम्वादमा तीन तहको सरकारमा वास नीति निर्माण, बजेट विनियोजन, कार्यान्वयन र अन्तरसम्बन्ध, पालिका स्तरको वास नीति निर्माण, बजेट कार्यान्वयन, अनुगमन र दिगोपना तथा वास क्षेत्रको ऐन, कानुन र स्थानीय तहको योजना तर्जुमा जस्ता बिषयमा छलफल गरिरहेको छ भने खानेपानी योजनाहरुको मर्मत सम्भार कोषको मस्यौदा कार्यविधि बारे पनि छलफल गरिरहेको छ ।

उपमहानिर्देशकबाट महानिर्देशकमा पदस्थापन भएपछि पहिलो पटक संघीय राजधानी बाहिर निस्किनु भएका महानिर्देशक श्रेष्ठले आजै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका कर्मचारीहरुलाई पनि निर्देशन दिनुभयो । उहाँले कार्यालय प्रमुखको निर्देशनमा रहेर आ आफ्नो पदीय दायित्व अनुसार जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।


देशैभरि रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरु विभागको आधारस्तम्भ भएकाले विनियोजित बजेटलाई अधिकतम खर्च गरी परिणाम निकाल्न निर्देशन दिनुभयो।

आयोजना कार्यालयमा आयोजित स्वागत कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख मनिष कुमार राजले आयोजना कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नभएकाले काम गर्न समस्या भएको बताउनुभयो । उहाँले करारका कर्मचारीहरुको स्थायित्व नहुने भएकाले काम गराउन आईपरेको समस्या बारे जानकारी गराउँदै दरबन्दी अनुसारको कर्मचारी खटाउन आग्रह गर्नुभयो ।


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतले ८० वटा खानेपानी आयोजना कार्यान्वयन गरिरहेको छ ।

महानिर्देशक श्रेष्ठलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका कर्मचारी र सुस्वा आयोजनाका कर्मचारीहरुले स्वागत गर्दै मायाको चिनो समेत प्रदान गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार