सल्यान : छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।
घरमा धारा निर्माण भएपछि पानीको सास्ती व्यहोर्दै आएका यहाँका नागरिकलाई सजिलो भएको छ । एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्ने गरेकी छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर पानी आउन खुसी हुनुभएको छ । उहाँले भन्नुभयो पानीका लागि साह्रै दुःख थियो । ती दिन अब गए।
छत्रेश्वरी ७ पानीखोलाका मिना कुमारी वलीले अहिले वषाैँदेखिको खानेपानी समस्या समाधान भएको बताउनुभयो । गाउँघरमा खानेपानीका धारा हात धुने स्थान तथा चाङ समेत निर्माण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाले ३६ वटा योजनामार्फत् ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको छत्रेश्वरी गाउँपालिका योजना शाखा प्रमुख नवीन चन्दले बताउनुभयो । उहाँका अनुसार सुस्वा परियोजनामार्फत तीन सय नौ जनाको घरमा धारा निर्माण गरिएको छ । यसबाट दुई हजार ७३९ जना लाभान्वित भएका छन् ।
गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपियाँ लगानी भएको छ । वास संयोजक निमराज केसीले घरघरमा खानेपानीका धारासँगै भाँडाकुँडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान निर्माण गरिएको छ ।
सङ्कटको समयमा खानेपानीको अभाव हुन नदिनका लागि स्थानीय सरकारले बाढी, खडेरी, वा अन्य प्राकृतिक प्रकोपको समयमा पानीको आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध तयारी गरेको गाउँपालिकाले जनाएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ। गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पानीको बहुआयामिक उपयोगलाई ध्यानमा राखेर योजना बनाएको बताउनुभयो ।