डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिका–७ जुफालमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटन गरिएको छ । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत स्थापना भएको सेवा सहायता केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले उदघाटन गर्नुभएको हो ।
खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन कार्यान्वयन गर्न कर्णाली प्रदेशका २५ वटा पालिकासँग गत भदौ २ गते समझदारी भएको थियो। समझदारी पत्रले खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन २०८० मा उल्लेखित प्रावधान बमोजिमको कार्य सञ्चालन सम्बन्धी बुँदाहरूमा सहमत रहेको र सबै साझेदारहरु बीच समझदारीको शर्तहरु निर्धारण तथा कार्यगत प्रतिवद्धता रहेको छ। समझदारी अनुसार सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) सञ्चालित अन्य पालिकाहरुमा पनि ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना हुनेछ।
उदघाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले मन्त्री यादवले ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको यस परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानी लागि थप सुदृढ बनाएको बताउनुभयो । ‘यस परियोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाइको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु’ उहाँले भन्नुभयो । सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियन प्रति समेत मन्त्री यादवले हार्दिक आभार व्यक्त गर्नुभयो।
यस्तै नेपालका ग्रामीण क्षेत्रका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा यस्तो पहलले महत्त्वपूर्ण योगदान दिने मन्त्री यादवले बताउनुभयो।
‘नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ’ मन्त्री यादवले भन्नुभयो।
खानेपानीमन्त्री सहित खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको टोली ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटन गर्न डोल्पामा पुगेको हो ।