डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाको दुर्गम बस्ती दुर्गाउँ कायेखोली खानेपानी आयोजनाको खानेपानीमन्त्री प्रदीप यादवले उदघाटन गर्नुभयोा। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को आर्थिक सहयोगमा बनेको खानेपानी आयोजनाको मन्त्री यादवले शनिबार उदघाटन गर्नुभएको हो ।
१ करोड ४ लाख ४२ हजार रुपैयाँ लागतमा बनेको खानेपानी योजनाबाट ९५० जनसंख्या लाभान्वित भएका छन् । बस्तीमा १ सय ६० वटा निजी धारा, २ वटा सार्वजनिक धारा, एउटा विद्यालयका लागि समेत धारा जडान गरिएको छ ।
खानेपानी उदघाटन खानेपानी मन्त्री यादवले दुर्गाउँ कायेखोली खानेपानी आयोजनाबाट उपभोक्ताहरूलाई प्रदान गरिएको सेवा देखेर निकै खुशी लागेको बताउनुभयो । ‘यस कार्यको लागि सुस्वा परियोजना र सम्पूर्ण टोलीलाई विशेष धन्यवाद’ उहाँले भन्नुभयो ।
सुस्वाले कर्णाली प्रदेशको दुर्गम पहाडी क्षेत्रहरूमा स्थानीय सरकारसँग मिलेर गरेको कार्यको प्रशंसा गर्दै उहाँले भन्नुभयो ‘‘मैले यहाँको ढल व्यवस्थापनमा समस्या देखेको छु । विशेष गरी पहाडी क्षेत्रमा। यो समस्यालाई खानेपानी तथा ढल व्यवस्थापन विभाग मार्फत आगामी आर्थिक वर्षमा सम्बोधन गर्नेछु।”
खानेपानी योजना उदघाटन कार्यक्रममा मन्त्री यादवको साथमा विशेष अतिथि खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, विभाका उपमहानिर्देशक राम चन्द्र काफ्ले र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख मनिष कुमार राज लगायत सहभागी हुनुहुन्थ्यो ।
टोलीले हिजै डोल्पाको जुफाल बजारमा सुस्वाद्वारा निर्मित शौचालयको अनुगमन गर्नुका साथै ठूलीभेरी नगरपालिका–७ जुफालमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गरेको छ।