सोलार लिफ्ट आयोजना असफल

  वास खबर सम्बाददाता  179 पटक हेरिएको


जुम्ला : गैरसरकारी संस्थासँगको साझेदारीमा स्थानीय तहले निर्माण गरेको जुम्लाका सोलार लिफ्ट सिँचाइ आयोजना अहिले लथालिङ्ग अवस्थामा पुगेका छन्। जुम्लाका तिला, तातोपानी र हिमा गाउँपालिकामा निर्माण भएका लिफ्ट सिँचाइ आयोजना लथालिङ्ग अवस्थामा पुगेका हुन् । अध्ययन नै नगरी निर्माण गरिएका सोलार प्रणाली मार्फत पानी तान्ने सिँचाइ आयोजना अहिले उपलब्धिविहीन भएका हुन् । यस्ता आयोजनाका सोलार प्यानल र जिआई पाइप खोला, नदी–किनारामा लथालिंग भेटिन्छन् ।

तिलामा चारवटा, हिमामा चारवटा र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रति आयोजनामा कम्तीमा ५० लाख खर्च गरिएका यस्ता आयोजनामा कम्तीमा आठ करोड बजेट खर्च भएको छ । तर, अहिले चारवटा आयोजना मात्रै सञ्चालनमा रहेका छन् । १२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिंग अवस्थामा छन् ।

जुम्लाको तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्रै सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताउनुभयो। ‘यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँच वर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालू आर्थिक वर्षमा १ र ६ नम्बर वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण हुँदैछन्’ उहाँले भन्नुभयो।

हिमा गाउँपालिकामा चारवटा सोलार प्रणाली मार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको सूचना अधिकारी रतन रावतले बताउनुभयो। ‘सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना सक्सेस भएनन्’ उहाँले भन्नुभयो।

हिमा गाउँपालिका– ३, मोप्लागाउँमा दुई सय ८५ घरधुरीले सिँचाइ पुग्ने गरी ०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।

सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिवेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना हुन् । चारवटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्रै सञ्चालनमा छन् ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित ९पाखो० २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।

सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्‍याउन एक दशकअघिदेखि नजिकको नदी–खोलाको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याइएको हो।

अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्रै खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा सिँचाई नपुगेको जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेष गरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूल तर्फ स्याउ, ओखर लगाइँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार