इलाम : इलाम सदरमुकामलाई खानेपानी पु-याउनुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ ।
आगामी वैशाखपछि इलाम सदरमुकामले खानेपानीको ठुलो समस्या झेल्नुपर्ने बाध्यता छ । गत असोजमा आएको भेलबाढीले सदरमुकाम ल्याइएको सहरी खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पुर्याएपछि नगरपालिकाले अझैसम्म दीर्घकालीन रूपमा मर्मत गर्न सकेको छैन । आयोजनाका विभिन्न स्थानमा बाढीपहिरोले पाइपलाइन बगाएको छ । कतिपय स्थानमा आयोजनाको पाइपलाइन नै भेटिने अवस्था छैन ।
यो आयोजनाको करिब तीन करोड रुपियाँको संरचना क्षति भएको र त्यसलाई प्राविधिक स्टिमेट गरेर विभागमा पठाइएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी डिभिजन कार्यालयले पनि सदरमुुकाम क्षेत्रको ६१ लाख रुपियाँको क्षति भएको अध्ययन गरेर त्यसको लागत अनुमान तयार गरी माथि पठाएको छ ।
नगरपालिकाले पनि तीन करोड रुपियाँको मर्मतका लागि अनुमान गरेर माथि पठाएको छ तर विभाग र मन्त्रालयबाट यसलाई चासो दिई हेरिएको छैन ।” उहाँले समयमा मर्मत नगरिए वैशाखपछि नगरपालिकामा पानीको खडेरी लाग्ने चिन्ता व्यक्त गनुभयो ।
आयोजना निर्माण गर्दा ५७ करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीको थियो । सुरु लागतको अनुमानित रकम पाँच प्रतिशतले हुन आउने करिब चार करोड रुपियाँभन्दा बढी रकम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत १४ करोड ४८ लाख रुपियाँ इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको थियो ।
२० वर्षसम्म डिजाइन अवधि रहेको आयोजनाका लागि चार वटा इन्टेक, एक हजार ३९२ घनमिटरका नौ वटा पानी ट्याङ्की र चार हजार एक सय निजी धारा निर्माण गरिएका थिए । ४१ किलोमिटर प्रसारण लाइन रहेको आयोजनालाई बाढीपहिरोले क्षतविक्षत बनाएपछि अहिले अस्थायी ढङ्गले मात्र पानी आपूूर्ति भइरहेको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख थापाले जानकारी दिनुुभयो । यो खबर गोरखापत्रले प्रकाशन गरेको छ।
आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका चार हजार एक सय धारामा चौबिसै घण्टा खानेपानी आउने भनिए पनि अहिले बिहान बेलुका मात्र पानी आइरहेको छ ।