दाङ: असारसम्म बबईको पानी घोराहीमा वितरण गरिने भएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सहलगानी आयोजना मार्फत बबईको पानी लिफ्टिङ गरेर घोराहीमा ल्याउन लागेको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्जका आयोजना प्रमुख अतुलेस कुमार कर्णले आउँदो असार मसान्तसम्म बबईको पानी घोराहीमा आउने बताउनुभयो। अहिले त्यसै अनुसार काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो।
‘अहिलेको कामअनुसार असार मसान्तसम्ममा काम सकिने छ,’ प्रमुख कर्णले भन्नुभयो ‘लक्ष्य अनुसार नै काम सकिएपछि घोराही बजारमा बबईको पानी आउने छ ।’ भौतिक प्रगति ८३ प्रतिशत भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि भिमेश्वर ड्रिलिङ कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।
२०८२ असार मसान्त सम्म सक्ने गरी ४९ करोड ८५ लाखमा भएको ठेक्काको काम दु्रत गतिमा अगाडि बढेको देखिएको छ । ठेक्का अवधिसम्म काम सकेर हस्तान्तरण गर्ने गरी धमाधम काम गरिरहेको निर्माण व्यवसायीको भनाइ छ । कम्तीमा १२० लिटर प्रतिसेकेन्ड अर्थात् करिब एक करोड लिटर पानी दैनिक रूपमा घोराही क्षेत्रमा भित्याउने लक्ष्य अनुरुप आयोजनाको काम भइरहेको छ ।
आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका–१४ झिंगौरामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, ओभर हेड ट्यांकीको नजिकै, तीन लाख लिटरको रिजर्भ्वायर ट्यांकी निर्माण गरिने भएको छ । अर्को दुई लाख लिटर क्षमताको रिजर्भ्वायर ट्यांकी पनि सोही ठाउँमा बनाइँदैछ । त्यसैगरी घोराही–७ शुक्रबारबाट आएको पानी संकलन गर्न झिँगौरा टोलमा तीन लाख लिटर क्षमताको रिजर्भ्वायर ट्यांकी बनाइने छ ।
घोराही–७ शुक्रबारमा ६ लाख लिटर क्षमताको फिल्टरसहितको एउटा रिजर्भ्वायर टयांकी निर्माण गरिने छ भने घोराही–७ बेसाहीमा पनि तीन लाख लिटर क्षमताको रिजर्भवयर टयांकी निर्माण हुनेछ । यी काम केही निर्माण भइसकेका छन् भने केही निर्माण भइरहेका छन् । शुक्रबारमा पाँचवटा बोरिङ मार्फत् पानी जमिनमुनिबाट निकालेर सप्लाई गर्नेमा चारवटा रहने भएका छन् । पाइपलाइन तर्फ जम्मा २४ हजार मिटरमा रहने भएको छ ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव श्रेष्ठका अनुसार घोराही वडा नं ७ शुक्रबारमा बालुवा छान्ने ‘र्यापिड स्याण्ड फिल्टर’ ट्यांकी निर्माण भएको छ । घोराही–७ शुक्रबारमा १५० मिटर तल गाडिएका तीनवटा बोरिङ बाट प्रति सेकेन्ड २३ लिटर पानी आइरहेको छ । उक्त बोरिङको पानी प्रेसर फिल्टरमा छानिएपछि रिजर्भ्वायर ट्यांकी, ओभरहेड ट्यांकी हुँदै धारामा पठाइनेछ ।
पाइपलाइन मार्फत् शुक्रबारमा रहेको ६ लाख लिटर क्षमताको रिजर्भ्वायर ट्यांकीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको टंकी र झिँगौराको रिजर्भ्वायरट्यांकीमा जाने छ । त्यहाँबाट गुलरियाको ओभरहेड ट्यांकी, घोराही–१४ शिव मन्दिरनेरको ओभरहेड ट्यांकी र घोराही–१५ मा रहेको अद्वैत संस्था नजिक रहेको ओभरहेड ट्यांकी, घोराही–१८ ढोडेनीको रिजर्भ्वायर ट्यांकी र निर्माणा धीन झिँगौराको ओभरहेड ट्यांकीमा जम्मा भएर वितरण हुने आयोजनाले जनाएको छ ।
आयोजना सुरु भएपछि घोराही १४ र १५ मा चार हजारभन्दा बढी नयाँ धारा पनि वितरण हुनेछ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भौतिक संरचना दुई हजार ३३५ घनमिटर पानी अट्ने क्षमताको छ । प्रति सेकेन्ड १३० लिटर पानी सञ्चय गरिने र प्रतिदिन ६० लाख लिटर पानी वितरण गर्ने गरेको संस्थाले जानकारी दिएको छ ।
आयोजनाका लागि नेपाल सरकारले जम्मा रकमको ७० प्रतिशतले हुन आउने ३४ करोड ८९ लाख अनुदान दिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भएपछि ३५ देखि ४० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्ता माझ पुर्याउन सकिने दाबी संस्थाका अध्यक्ष देवीबहादुर डिसीको छ ।
भविष्य सोचेर बनाएको योजना भएकोले नयाँ १२ हजार घरधुरी घोराहीमा थपिँदासम्म धान्न सकिने उहाँले बताउनुभयो। ‘अहिलेलाई त पानी पुगेकै छ भविष्य सोचेर ल्याएको योजना हो,’ उहाँले भन्नुभयो ‘यो आयोजना पूरा भएपछि १२ हजार नयाँ घरधुरी थपिँदा सम्म पनि पानी पुग्छ ।’ घोराही खानेपानीले आठ हजारभन्दा बढी व्यक्तिगत धारामात्रै वितरण गरेको जनाएको खबर कारोबारमा छापिएको छ। अहिले साँझ र बिहान गरेर ६० लाख लिटर पानी वितरण भइरहेको छ ।