प्लास्टिक फोहोर व्यवस्थापनमा प्लीज परियोजनाले देखायो सम्भावनाको बाटो

  वास खबर सम्बाददाता  496 पटक हेरिएको

काठमाडौः कीर्तिपुर नगरपालिका प्लास्टिक फोहोर व्यवस्थापनतर्फ दृढ कदम चाल्दै ‘PLEASE’ परियोजना मार्फत नयाँ प्रयोग र अभ्यासहरू थालिरहेको छ। एकीकृत शहरी विकास केन्द्र (CIUD) को सहकार्यमा कार्यान्वयनमा ल्याइएको यो परियोजना स्थानीय स्तरमा प्लास्टिकको असर न्यूनीकरण गर्ने व्यावहारिक उपायहरूसँगै दीर्घकालीन समाधानका सम्भावनाहरू खोज्ने प्रयासको सुरुवात हो।

नेपालमा हरेक वर्ष करिब ६ लाख टन प्लास्टिक फोहोर उत्पादन भइरहेको छ। कीर्तिपुर नगरपालिका मात्रले प्रतिदिन २४.५ मेट्रिक टन ठोस फोहोर उत्पादन गर्छ, जसको १५.०६ प्रतिशत प्लास्टिक हो। यस्तो पृष्ठभूमिमा, प्लास्टिकको अव्यवस्थित विसर्जनबाट सिर्जिएको पर्यावरणीय चुनौतीलाई समाधान गर्न, कीर्तिपुरले प्रविधिमा आधारित, सहभागितामूलक र उद्यमशीलताको माध्यमबाट नयाँ मोडेल निर्माण गर्दै गएको छ।

परियोजनाको मूल लक्ष्य स्रोतमै फोहोर व्यवस्थापन, पुनः प्रयोगयोग्य प्लास्टिकको पृथकीकरण, पुनर्चक्रण र अप-साइक्लिङ प्रणालीलाई संस्थागत बनाउँदै स्थानीय उद्यमलाई प्रोत्साहन गर्नु हो। प्लास्टिक फोहोर सूचना व्यवस्थापन प्रणाली (PWIMS) को प्रयोग, महिला नेतृत्वमा प्लास्टिक व्यवसायको प्रवर्धन, र फोहोर बूम जस्ता नवीन उपायहरूले अब स्थानीय समुदाय आफैंले प्लास्टिकको समाधानमा भूमिका खेल्न थालेका छन्।

CIUD का कार्यकारी निर्देशक नवीन विकास महर्जनका अनुसार, परियोजनाले समुन्द्रसम्म पुग्ने प्लास्टिक फोहोरलाई स्रोतमै न्यूनीकरण गर्न र समुदायमै प्लास्टिक पुनःचक्रण र उपयोगको सञ्जाल बनाउन नयाँ सम्भावना देखाएको छ। “यो सुरुवात हो,” उहाँ भन्नुहुन्छ, “परियोजना सकिएको होइन, अब मात्र यसको असर देखिन थाल्दैछ।”

कार्यक्रममा सहभागी महिला उद्यमी रमिता राजबाहकले प्लास्टिकमा आधारित उद्यमशीलतामा आफूले देखेको अवसर र भोगेका चुनौतीहरू साझा गर्दै, महिलाले नेतृत्व गर्नसक्ने सामाजिक–आर्थिक मोडेल प्रस्तुत गर्नुभयो।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले नगरपालिका स्वच्छ, हरित र प्लास्टिकमुक्त बनाउने लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै भने “अहिले हामी सुरुवाती चरणमा छौं, यो केवल एउटा अभ्यास मात्र होइन, नगरको भविष्य निर्माण गर्ने दिशा हो।”

वन तथा वातावरण राज्यमन्त्री रूपा बीके, UNOPS नेपालकी कन्ट्री म्यानेजर कोमल कार्की र उपमेयर शुभलक्ष्मी शाक्य (सुनीता) ले पनि सबै सरोकारवाला बीच समन्वयात्मक दृष्टिकोणको खाँचो औँल्याउँदै परियोजनालाई निरन्तरता र विस्तारको आवश्यकतामा जोड दिनुभयो।

यो परियोजना एक टुक्रा प्रयास होइन, बरु दीर्घकालीन प्रणालीगत परिवर्तनको सुरुवात हो, जसले न केवल प्लास्टिक फोहोर व्यवस्थापनमा समुदायलाई सशक्त बनाउँछ, तर अर्को पुस्तालाई पनि स्वच्छ वातावरणको आधार प्रदान गर्ने दृढ इच्छाशक्ति प्रदर्शन गर्दछ।

यसरी, “PLEASE” परियोजनाले केवल प्लास्टिक फोहोरको व्यवस्थापनमा नभई, स्थानीय नेतृत्व, प्रविधिको प्रयोग, र सामूहिक प्रयासद्वारा दिगो र अनुकरणीय मोडेल प्रस्तुत गरेको छ, जुन देशभरका नगरपालिकाहरूले अनुसरण गर्न सक्ने दिशानिर्देशकको रूपमा स्थापित भएको छ।

कीर्तिपुर नगरपालिकामा प्लास्टिक फोहोरको व्यवस्थापन र सर्कुलर अर्थतन्त्र प्रवर्द्धन गर्न “PLEASE” (Plastic-waste managed communities and rivers through Local Engagement And Sustainable technologies for circular Economy) परियोजनाको अन्तिम प्रसार कार्यशाला सम्पन्न भएको छ। कार्यशाला एकीकृत शहरी विकास केन्द्र (CIUD) र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

विश्वभर वार्षिक २४ करोड २० लाख टन प्लास्टिक फोहोर उत्पादन हुने र यसको ८१ प्रतिशत एसियाबाट आउने सन्दर्भमा, नेपालमै पनि हरेक वर्ष ६ लाख टन प्लास्टिक फोहोर उत्पादन हुने तथ्यांक सार्वजनिक गरिएको कार्यशालामा, प्लास्टिक फोहोरको नियमन, पुनर्चक्रण, अपसाइक्लिङ र त्यसमा आधारित उद्यमशीलताको प्रवर्द्धनमा PLEASE परियोजनाले खेलेको भूमिकाबारे विस्तृत प्रस्तुति गरिएको थियो।

कार्यशालाका प्रमुख आकर्षणहरू मध्ये, कीर्तिपुर नगरपालिकाका वडाहरू नं. १, २, ३ र ४ का छ वटा समुदायहरूलाई प्लास्टिक-व्यवस्थित समुदायका रूपमा घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्लास्टिक फोहोर व्यवस्थापन सम्बन्धी नवीन प्रविधि तथा दृष्टिकोणहरू चित्रण गर्ने छोटा भिडियोहरू प्रदर्शन गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार