काठमाडौ : विद्यालय शिक्षाको केन्द्र हो, जहाँ बालबालिकाले ज्ञानको उज्यालो संगाल्दछन्। यसै सन्दर्भमा छात्राहरूको लागि सुरक्षित, स्वच्छ र गोपनीयता रहेको शौचालयको व्यवस्था हुनु अत्यन्तै आवश्यक छ।
शौचालयको गुणस्तर र पहुँचले छात्राहरूको आत्मसम्मान, स्वास्थ्य, तथा विद्यालय उपस्थितिमा प्रत्यक्ष असर पार्दछ, विशेष गरी महिनावारीको समयलाई समेत ख्याल गरेर शौचालय निर्माण गरी त्यस भित्र आवश्यक पर्ने सेवा सुविधालाई ध्यानमा राखी शौचालय निर्माण गर्नुपर्दछ।
छात्राहरूका लागि आवश्यक शौचालयको विशेषताहरू
१. गोपनीयता र सुरक्षाको प्रत्याभूति
छात्राहरू सहज ढंगले शौचालय प्रयोग गर्न सकुन् भन्ने हिसाबले शौचालय पूर्ण रूपमा ढाकिएको, लक गर्न मिल्ने ढोका भएको र सुरक्षित स्थानमा हुनु जरुरी छ। खुला वा अर्धनिर्मित शौचालयले उनीहरूको आत्मसम्मानमा आघात पुर्याउन सक्छ।
२. स्वच्छता र सरसफाइ
नियमित रूपमा सफा गरिने शौचालय, दुर्गन्धरहित वातावरण र सफा पानीको उपलब्धता अत्यावश्यक छ। रोगप्रतिरोधात्मक उपायका रूपमा साबुन, पानी र धुने सुविधा पनि सुनिश्चित हुनुपर्छ।
३. महिनावारी स्वच्छता व्यवस्थापनका लागि अनुकूल
छात्राहरू महिनावारी हुँदा शारीरिक र मानसिक रूपमा असहज हुन सक्छन्। त्यसैले विद्यालय शौचालयमा निम्न व्यवस्थाहरू हुनु अनिवार्य छ:
-
• प्रयोग गरिएका प्याडहरू फाल्ने सुरक्षित डस्टबिन वा नष्ट गर्ने इन्सिनिरेटर।
-
• प्याड वा अन्य स्यानिटरी सामग्री राख्न मिल्ने साना अलमारी।
-
• आवश्यक परेमा स्यानिटरी प्याडको आपूर्ति।
-
• हात धुने सुविधा भएको छुट्टै कोठा वा शौचालयभित्रै हात धुने सुविधा।
-
• रगत हटाउनका लागि पानीको पाइप वा बाल्टीनको व्यवस्था।
४. शारीरिक पहुँच
विद्यालयमा रहेको शौचालय सबै छात्राहरूका लागि समान रूपमा पहुँचयोग्य हुनुपर्छ। यसले विशेष गरी शारीरिक अपाङ्गता भएका छात्राहरूका लागि थप ध्यान पुर्याउन आवश्यक छ। शारीरिक पहुँच सुनिश्चित गर्नका लागि निम्न कुराहरू ध्यान दिनुपर्छ:
-
√ र्याम्पको व्यवस्था: ह्वीलचियर प्रयोग गर्ने छात्राहरूका लागि शौचालयसम्म पुग्न सहज हुने गरी ढलानयुक्त र सम्यक चौडाइ भएको र्याम्प अनिवार्य छ।
-
√ ढोका र भित्री स्थानको चौडाइ: शौचालयको ढोका पर्याप्त फराकिलो हुनु पर्छ जसबाट ह्वीलचियर सजिलै भित्र जान सक्छ। भित्रको स्थान पनि घुम्न मिल्ने गरी पर्याप्त फराकिलो हुनुपर्छ।
-
√ हात समाउने रेलिङ : शौचालयभित्र भित्तामा सहाराको लागि मजबुत रेलिङको व्यवस्था हुनुपर्छ जसले अपाङ्गता भएका छात्राहरूलाई बस्न–उठ्न सहयोग गर्दछ।
-
√ साबुन राख्ने स्थानको उचाइ: हात धुने स्थान र साबुन राखिएको ठाउँ यस्ता हुनुपर्छ जसमा सबै छात्राहरूले सजिलै उपयोग गर्न सकून्, चाहे उनीहरूको उचाइ कम होस् वा उनीहरू ह्वीलचियर प्रयोगकर्ता हुन्।
-
√ सूचना संकेतहरू : शौचालयहरूको चिन्ह स्पष्ट र बुझ्न सजिलो हुनुपर्छ। दृष्टिविहीन वा दृष्टि कमजोर छात्राहरूका लागि ब्रेल लिपिमा समेत संकेत उपलब्ध गराउनु समावेशी अभ्यास हो।
५. शिक्षा र सचेतना
यसर्थ छात्राहरूमा महिनावारी स्वच्छता सम्बन्धी उचित ज्ञान दिनुपर्ने हुन्छ। यसका लागि विद्यालयले स्वास्थ्य शिक्षा, अभिमुखिकरण कार्यक्रम तथा शिक्षकको सहज पहुँच सुनिश्चित गर्नुपर्छ।
छात्राहरूका लागि उपयुक्त शौचालय सुविधा विद्यालयको शैक्षिक वातावरणको अभिन्न हिस्सा हो। महिनावारी व्यवस्थापनका लागि आवश्यक संरचना र सचेतनाको अभावले छात्राहरूको आत्मविश्वास गुम्न सक्छ, विद्यालय उपस्थितिमा कमी आउन सक्छ र लामो समयसम्म शिक्षाबाट टाढा रहने अवस्था सिर्जना हुन सक्छ।
अतः सबै विद्यालयले छात्रा–मैत्री शौचालय निर्माण र व्यवस्थापनलाई प्राथमिकता दिनु अत्यन्त जरुरी छ।