
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि बल्ल संशोधनको प्रक्रिया सुरु गरेको छ । विभागले यसका लागि खानेपानी तथा सरसफाइ सेवा सञ्चालक तथा सेवा प्रदायकहरुसँग परामर्श गोष्ठी गरेको छ ।
समुदायमा आधारित खानेपानी अयोजनाहरुको डिजाइन, निर्माण र मर्मत सम्भारको लागि सन् १९९० मा युनिसेफको सहयोगमा तत्कालीन खानेपानी तथा ढल निकास विभागले राष्ट्रिय खानेपानी डिजाईन निर्देशिका तयार पारेको थियो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको अगुवाईमा युनिसेफ नेपाल र अक्सफार्म नेपालको सहयोगमा Scholars Consult Pvt. Ltd. र नियात्रा कन्सल्ट प्रालिको सहजीकरणमा डिजाइन गाईडलाइन संशोधनको प्रक्रिया सुरु गरिएको हो ।

खानेपानीका संरचनाहरु समयानुकूल परिमार्जन गर्नुपर्ने भएकाले डिजाइन निर्देशिका संशोधनको प्रक्रिया अगाडि बढाईएको अक्सफाम नेपालका प्राविधिक संयोजक ई.विजय थापाले बताउनुभयो । उहाँका अनुसार डिजाइन निर्देशिका तयार पारेको समयमा आयोजना चयन गर्दा सुरक्षित श्रोतहरु (जस्तै पहाडमा मूलको पानी) प्रयोग गर्ने भन्ने थियो भने त्यस बखत पानी प्रशोधनका संरचनाहरु समाबेश गरिएको थिएन ।
गोष्ठीमा क) संस्थागत प्रबन्ध, डिजाइन चरण ख) आयोजना निर्माण चरण र ग) आयोजना सञ्चालन तथा मर्मत सम्भार चरण गरी तीन वटा समूहमा छलफल गरी परिमार्जन गर्नुपर्ने बुँदाहरुलाई प्रस्तुतीकरण गरिएको छ ।
गोष्ठीमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), खानेपानी संस्थान, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नगर विकास कोष र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको सहभागिता रहेको छ ।
गोष्ठीको उदघाटन खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले गर्नुभयो।

जलवायु परिवर्तनका असरहरुसँग जुध्न गाईडलाइन परिमार्जन : महानिर्देशक
गोष्ठीको उदघाटन सत्रमा महानिर्देशक श्रेष्ठले जलवायु परिवर्तनका कारण खानेपानीका मूलहरु सुक्ने, खानेपानीका संरचनाहरुमा क्षति पुर्याउने जस्ता समस्याहरु निम्तिएकाले त्यस्ता समस्याहरुसँग जुध्न सक्ने संरचना निर्माणका लागि डिजाइन गाईडलाइन संशोधन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अबको ४/५ दशकसम्म परिमार्जन गर्नु नपर्ने गरी यसका सरोकारवाला सबै पक्षसँग घनिभूत छलफल गरेर डिजाइन गाईडलाइनलाई मूर्त रुप दिनुपर्नेमा जोड दिनुभयो। “बदलिदो मौसम,जलवायु उत्थानशील तथा हाम्रो सामाजिक आर्थिक परिवेशलाई समेत उपयुक्त हुने गरी डिजाइन गाईडलाइन परिमार्जन गर्न सके उत्तम हुन सक्छ” उहाँले भन्नुभयो।
राष्ट्रिय खानेपानी डिजाइन निर्देशिकाको संशोधन गर्न विभागले विभिन्न चरणमा यस्तै गोष्ठीहरुको आयोजना गर्ने जनाएको छ । विभागले अर्को चरणमा निर्माण व्यवसायी तथा सप्लायर्स र फार्महरु सँग गोष्ठी आयोजना गर्ने जनाएको छ । त्यसपछि डिजाइनिङ कन्सल्टेन्सी र विभिन्न फार्महरुसँग छलफल गर्ने र अन्त्यमा कार्यान्वयन गर्ने निकायहरु विभिन्न विकास साझेदार, खानेपानी तथा ढल व्यवस्थापन विभाग र खानेपानी मन्त्रालयसँग गोष्ठी आयोजना गर्नेछ ।
यसरी विभिन्न तहगत चरणमा गोष्ठी आयोजना गरी बहुपक्षीय सरोकारवालाहरुबाट आएको सुझावलाई समेत समेटेर एक बर्ष भित्र डिजाइन गाईडलाईन संशोधन गरी अन्तिम रुप दिने योजना रहेको युनिसेफ नेपालका वास विज्ञ दण्डीराम विश्वकर्माले बताउनुभयो।

डिजाइन गाईड लाइनको संशोधन किन ?
– डिजाइन निर्देशिका तयार पारेको समयमा सुरक्षित श्रोतहरु थिए ।
– त्यस बखत पानी प्रशोधनको संरचनाहरु समाबेश गरिएको थिएन ।
– सार्बजनिक धाराको अवधारणामा डिजाइन गाइडलाइन तयार गरिएको थियो ।
– पानीका सुरक्षित मुहानहरुको उपलब्धतामा कमी हुँदै गएको
– सन् २००२ मा साधारण Treatment components रहने गरी थप गरिएको र सो को सफ्ट कपि र Auto CAD Drawings तयार गरिएको
–शहरीकरण बढ्दै गएको, नदी, खोलाहरु नै खानेपानी आयोजनाका स्रोत भइरहेको
– ठुला खालका शहरी एवं अर्ध शहरी आयोजनाहरु निर्माण भइरहेको र एक घर एक धाराको नीति रहेको

– नयाँ नयाँ प्रबिधिको बिकास भइरहेको अवस्था
– सन् १९९० मा तयार भएको 12 Volume डिजाइन गाइडलाइनमा shallow tubewell को नीति रहेको
– हाल जनसंख्या वृद्धि, शहरीकरण, भूमिगत पानीको सतहमा परिवर्तन जस्ता कारणबाट Deep tubewell बाट आयोजना संचालन गरिएको ।
– सुरक्षित खानेपानी वितरण गर्नुपर्ने प्रावधान अनुरुप प्रशोधित खानेपानी वितरण गरिरहेको
– जलवायु परिवर्तनको असर र energy efficiency लाइ समेत डिजाइन गाइडलाइनमा समेट्नुपर्ने
– तीन तहको सरकार र खानेपानी तथा सरसफाइ ऐन तथा नियमावली सँग मेल खाने गरी एकरुपता कायम गर्न




1930 पटक हेरिएको 

