
काठमाडौ : तपाई हामी मध्ये घरायसी सेप्टिक ट्याङ्कलाई धेरै जसोले केवल स्वास्थ्य र वातावरणीय स्वास्थ्यको मामिला मात्र मान्ने गर्छौ । तर यी साना–साना सेप्टिक ट्याङ्कहरूको सामूहिक प्रभावले हरितगृह ग्यास (विशेषगरी मिथेन) उत्सर्जन गरेर जलवायु परिवर्तन गर्न भूमिका खेलिरहेको हुन्छ ।
नेपालजस्ता देशहरू जहाँ परम्परागत रुपमा बनाइएका स्थलगत सरसफाइ प्रणाली (सेप्टिक, पिट) मा निर्भर छ, झनै हरित गृह ग्यास उत्सर्जन गर्ने दर पनि धेरै हुन्छ । तसर्थ यस पक्षलाई बेवास्ता गर्नुँ उत्तिकै जोखिमपूर्ण छ।
सेप्टिक ट्याङ्क आफैं जलवायु परिवर्तनको मुख्य कारक होइन । तर सेप्टिक ट्याङ्कमा जम्मा भएको मानव मलमूत्र जो सानो मात्रामा नै किन नहोस् धेरै संख्यामा हुँदा यसले हरितगृह ग्यास उत्सर्जनमा महत्वपूर्ण योगदान पुर्याईरहेको हुन्छ।
मुख्य कुरा
-
• मिथेन (CH₄) उत्पादन – सेप्टिक ट्याङ्कभित्र अक्सिजन नपुग्ने (Anaerobic) अवस्थामा मलमुत्र र फोहोर कुहिँदा मिथेन उत्पन्न हुन्छ। मिथेन कार्बन डाइअक्साइड भन्दा करिब २५ गुणा बढी प्रभावकारी हरितगृह ग्यास हो।
-
• नाइट्रस अक्साइड (N₂O) – केही अवस्थामा अपूर्ण नाइट्रोजनको अपघटन हुँदा नाइट्रस अक्साइड निस्कन्छ, जुन कार्बन डाइअक्साइड भन्दा झण्डै ३०० गुणा बढी शक्तिशाली हरितगृह ग्यास हो।
-
• कार्बन डाइअक्साइड (CO₂) – जैविक पदार्थको दीर्घकालीन विघटनमा सानो मात्रामा कार्बन डाइअक्साइड पनि निस्कन्छ।
सेप्टिक ट्याङ्कले किन ग्यास उत्सर्जन गर्छ?
सेप्टिक ट्याङ्कहरू प्रायः अक्सिजन रहित (Anaerobic) हुन्छन्। फोहोर र मानव मलमूत्रमा रहेका जैविक पदार्थहरू यी अवस्था अन्तर्गत सूक्ष्मजीवद्वारा विघटन हुँदा मिथेन उत्पादन गर्छन्।
मिथेनले जलवायु परिवर्तनमा कत्तिको धेरै योगदान गर्न सक्छ भनेर गरिएका अध्ययनहरुमा लामो अवधिको तुलना गर्दा धेरै उच्च देखिएको छ र त्यसैले थोरै मात्रमै पनि जलवायु प्रभाव ठूलो हुनसक्छ। यदि सेप्टिक ट्याङ्क ढाँचागत रुपमा ठीक छैन, चुहावट छ वा नियमित मर्मत नहुने हो भने उत्सर्जन अझ बढी हुन सक्छ।
नेपालको परिप्रेक्ष्यमा चिन्न जरूरी कुरा
नेपालमा घर परिवारको ठूलो हिस्सा स्थलगत सरसफाइ प्रणालीमा निर्भर छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालको ८९ प्रतिशत जनसंख्याले स्थलगत सरसफाइ प्रणाली नै अपनाईरहेका छन् ।
शहरी, शहरोन्मुख र ग्रामिण क्षेत्रको शौचालयको प्रकृति, सेप्टिक ट्याङ्कको डिजाइन, खाली गर्ने अभ्यास र मर्मत सम्भारमा केही भिन्नता छ। यी कारकहरूले हरित गृह ग्यास उत्सर्जनमा प्रत्यक्ष प्रभाव पार्छ । नियमित रूपमा खाली गरिने सेप्टिक ट्याङ्क र राम्रो डिजाइन भएका ट्याङ्कमा मिथेन ग्यास उत्सर्जन कम हुन सक्छ भने बन्द गरिएको, ढुङ्गाले ढाकिएको, लामो समयसम्म नभरिएका वा मानव मलमूत्रले भरिएको प्रणालीमा मिथेन ग्यास उत्सर्जन बढी हुनसक्छ।
अबको बाटो
स्थानीय अनुसन्धान र मापन बढाउने : स्थलगत अनुगमन गरी नेपालको सन्दर्भ अनुसार आफ्नो उत्सर्जन फ्याक्टर निर्धारण गर्नुपर्छ। यसले राष्ट्रिय गणनालाई थप भरपर्दो बनाउनेछ।
डिजाइन सुधार र मर्मत सम्भार : सेप्टिक ट्याङ्कको राम्रो डिजाइन, नियमित खाली गर्ने प्रणाली र आवश्यक मर्मत सम्भारले अनावश्यक उत्सर्जन घटाउँछ। यसका लागि स्थानीय सरकार र स्थानीय बासिन्दा बीच समन्वय र सहकार्य गर्न जरुरी छ ।
बायोग्यास उत्पादन : नेपालमा कतै कतै शौचालय सँगै बायोग्यास प्रणाली जडान गरी त्यसबाट उत्पादित इन्धन खाना पकाउन प्रयोग गरिएको पनि पाइन्छ । देशका कतिपय स्थानमा एसियाली विकास बैंक र वैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहयोगमा स्थानीय उद्यमीहरुले यसको व्यवसायिक उत्पादन पनि गर्न थालेका छन् ।
यदि स्थलगत सरसफाइ प्रणालीसँगै बायोग्यास इकाई जोडेर मिथेनलाई सन्चित गरी ऊर्जा स्रोतको रूपमा प्रयोग गर्न सकेमा मिथेन ग्यासको उत्सर्जन घटाउन सकिन्छ । जसले जलवायु परिवर्तन गराउन कम योगदान गर्छ ।
नीति निर्माण र कार्यान्वयन : नगरपालिकाहरुले स्थानीय स्तरमा घरायसी स्तरमै सेप्टिक ट्याङ्क सुधार तथा नयाँ घर निर्माण गर्दा सेप्टिक निर्माणको नयाँ मापदण्ड तय गर्नुपर्छ । नगरपालिकाहरुबाट निगरानी व्यवस्था र प्रोत्साहन/अनुदान नीति ल्याउन आवश्यक छ ।
जनचेतना र प्रशिक्षणः घरधुरीलाई सेप्टिक ट्याङ्क निर्माण तथा यसको उचित प्रयोग सम्बन्धी सचेतना अभिवृद्धि गराउनु पर्छ । सेप्टिक ट्याङ्कमा के नहाल्ने, कुन समयमा खाली गर्नुपर्ने जस्ता सरल शिक्षाले पनि दीर्घकालीन सुधार ल्याउन सक्छ ।
त्यसैले, सेप्टिक ट्याङ्कलाई केवल मानव मलमूत्र व्यवस्थापनको सानो भाग भनेर मात्रै हेर्नु हुँदैन । जलवायु क्षेत्रमा समावेशी र नीतिगत ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । नेपालजस्तो देशमा जहाँ स्थलगत सरसफाइ व्यवस्थापन प्रणालीको अभ्यास व्यापक छ, साना–साना प्राथमिकता परिर्वतनले राष्ट्रिय उत्सर्जनमा उल्लेख्य फरक पार्न सक्छ।
विज्ञान र प्रमाणमा आधारित थप स्थानीय प्रमाण जुटाइयो भने राष्ट्रिय रणनीति तयार पारेर सार्वजनिक स्वास्थ्य, वातावरण र जलवायु लक्ष्यहरू एकसाथ अघि बढाउन सकिन्छ।


278 पटक हेरिएको 

