
काठमाडौ : यत्तिबेला दशैं हाम्रो सम्मुखमा छ। पीङ हाल्ने, नयाँ लुगा खरिद गर्ने, स्वादिष्ट परिकार पकाउने र देवीपूजासम्मको चहलपहलले परिवार र समाज उत्सवमय बनेको छ। दशैं मात्र होइन, त्यसपछि आउने तिहार, छठजस्ता पर्वहरूले पनि हाम्रा जीवनमा उमङ्ग थप्छन्। तर, यीनै चाडपर्वले अर्को चुनौती पनि ल्याउँछन्, त्यो हो फोहोर व्यवस्थापन
चाडपर्वका दिनमा सामान्य अवस्थामा भन्दा धेरै फोहोर उत्पादन हुन्छ। नयाँ सामान ल्याउँदा आउने प्याकेजिङ, खानेकुराको अवशेष, पुजापाठका सामग्री, प्लास्टिकका झोला, बासी खानेकुरा, यत्तिकै खेर फालिएका खानाका अवशेष सबै एकैचोटि थुप्रिन्छन्। यदि यसलाई बेवास्ता गरियो भने रमाइलो चाडबाडकै बीचमा दुर्गन्ध, स्वास्थ्य जोखिम र वातावरण प्रदूषण जस्ता समस्या निम्तिन सक्छन्। त्यसैले हामीले चाडबाडलाई रमाइलोसँगै हरित र सफा सुग्घर बनाउन जिम्मेवार बन्छु भन्ने सोच राख्न जरुरी छ।
चाडबाडको समयमा फोहोर व्यवस्थापन कसरी गर्ने त ?
१. फोहोर छुट्याउने
घरमा उत्पादन हुने सबै फोहोर एउटै डस्टबिनमा हाल्ने प्रचलन अझै धेरै ठाउँमा छ। तर, चाडबाडमा बढ्ने फोहोरलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न जैविक र अजैविक फोहोर छुट्याउनु पर्छ । यसले गर्दा फोहोर गन्हाउने, कुहिने समस्या हुँदैन ।
• जैविक फोहोर : तरकारीका छिल्का, खाना पकाउने क्रममा बाँकी रहने अवशेष, फूलपाती, माला आदि।
• अजैविक फोहोर : प्लास्टिकका झोला, बट्टा, बत्तीका तार, बोतल, कागज वा धातु।
फोहोर छुट्याउने संस्कारले पुनः प्रयोग र पुनर्चक्रणमा सहज बनाउँछ।

२. कम्पोस्ट बनाउने
चाडबाडमा धेरै मात्रामा जैविक फोहोर उत्पादन हुन्छ। यसलाई साधारण खाल्डोमा थुपार्ने वा ढकनी भएको ड्रममा राखेर कम्पोस्ट बनाउन सकिन्छ। यसरी उत्पादन भएको मल बगैंचामा वा गमलामा प्रयोग गर्न सकिन्छ। यसले फोहोर घटाउने मात्र होइन, सहरी क्षेत्रमा हरियाली बढाउने काम पनि गर्छ।
३. एकपटक प्रयोग हुने वस्तुमा कमी ल्याउने
चाडबाडमा पाहुनालाई खानपान गराउँदा प्रायः डिस्पोजेबल कप, प्लेट वा प्लास्टिकका चम्चा प्रयोग गर्ने चलन बढ्दो छ। यी वस्तु सजिलो भए पनि वातावरणका लागि हानिकारक हुन्छन्। त्यसैले सकेसम्म स्टिल, पित्तल वा अन्य धातुका भाँडा प्रयोग गर्नुपर्छ। यसले न प्लास्टिक फोहोर बढ्छ, न त वातावरणलाई दीर्घकालीन हानी पुग्छ।
४. सजावटमा वातावरणमैत्री विकल्प
तिहारमा दीयो, बत्ती, सजावटी सामान बढी प्रयोग हुन्छ। यसमा पनि वातावरणमैत्री विकल्प रोज्न सकिन्छ। उदाहरणका लागि, प्लास्टिकका फूल वा बत्तीको सट्टा स्थानीय रुपमा बनेका कपासका बाती, माटोका दीयो वा प्राकृतिक सामग्री प्रयोग गर्न सकिन्छ।
५. पुनःप्रयोग र पुनर्चक्रण
• पुराना कपडालाई कपडा सङ्कलन केन्द्रमा दिन सकिन्छ।
• कागज, बोतल र प्लास्टिकलाई स्क्र्याप संकलन गर्ने व्यक्तिलाई दिन सकिन्छ।
• प्रयोग गरेर फ्याँक्ने सामानलाई नयाँ तरिकाले प्रयोग गर्न सकिन्छ, जस्तै प्लास्टिकका बट्टा स्टोर गर्ने कन्टेनरका रूपमा।
६. स्थानीय तहसँग सहकार्य
चाडबाडको समयमा फोहोर व्यवस्थापनमा स्थानीय तह पनि सक्रिय हुन्छन्। नगरपालिकाले तोकेको तालिका अनुसार फोहोर संकलन स्थलमा फोहोर दिनुपर्छ। कतिपय नगरपालिकाले जैविक र अजैविक छुट्याएर मात्र फोहोर बुझ्ने प्रणाली सुरु गरेका छन्। त्यसैले नागरिकले पनि त्यसअनुसार व्यवहार गर्नुपर्छ।
७. सचेतना र पारिवारिक जिम्मेवारी
फोहोर व्यवस्थापन केवल एक व्यक्तिको जिम्मेवारी होइन, परिवारका सबै सदस्यले सँगै गर्ने काम हो। विशेष गरी बालबालिकालाई फोहोर छुट्याउने, कम्पोस्ट बनाउन सिकाउने र पुनःप्रयोगको महत्व बुझाउने हो भने दीर्घकालीन संस्कार बस्छ।
चाडबाडले खुशी र मेलमिलाप ल्याउँछ। तर, त्यसैको बहानामा वातावरण प्रदूषित पार्नु हाम्रो संस्कार होइन। हामीले उत्पादन गर्ने प्रत्येक फोहोरको जिम्मेवारी लिने हो भने मात्र हाम्रो चाडबाड साँच्चिकै हरित र टिकाउ बन्न सक्छ।
फोहोर छुट्याउने, कम्पोस्ट बनाउने, पुनःप्रयोग गर्ने र स्थानीय तहसँग सहकार्य गर्ने अभ्यासले घर, समाज र वातावरणलाई सफा राख्न मद्दत पुर्याउँछ। यसरी, चाडपर्व केवल रमाइलो गर्ने अवसर मात्र होइन, जिम्मेवार नागरिक बन्ने अवसर पनि हो।


433 पटक हेरिएको 

