चेतनाबाट दिगोपनतर्फः समुदायको स्वामित्व मार्फत ODF लाई व्यवहारमा उतार्ने अभ्यास

  यज्ञ राज जोशी  353 पटक हेरिएको

यज्ञ राज जोशी

नेपाल सरकारले २०७६ साल असोज १४ गते (३० सेप्टेम्बर २०१९) देशलाई खुला दिसामुक्त (ODF) राष्ट्र घोषणा गर्‍यो। यस ऐतिहासिक उपलब्धि हासिल गर्न सरकार तथा विभिन्न विकास साझेदारहरूको उल्लेखनीय लगानी र प्रयास रह्यो। तथापि, यस घोषणापछि पनि ग्रामीण नेपालका धेरै समुदायहरूमा खुला दिसा गर्ने अभ्यास पूर्ण रूपमा अन्त्य हुन नसकेको यथार्थ अनुभव र तथ्यांकहरूले देखाएका छन ।

वाइन टु वाटर नेपाल अन्तर्गत गण्डकी तथा बागमती प्रदेशका विभिन्न स्थानीय तहहरूमा वास परियोजना कार्यान्वयन गर्ने क्रममा संकलित प्रारम्भिक (baseline) तथ्यांकअनुसार ४० प्रतिशतभन्दा बढी घरधुरीमा अझै खुला दिसा गर्ने अवस्था विद्यमान रहेको पाइयो। यसले ODF घोषणा कागजमा सीमित रहेको र व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

संस्थाको नीति अनुसार “एक घर–एक धारा–एक शौचालय” अवधारणा अवलम्बन गरिएको छ । तर नेपाल पहिले नै ODF राष्ट्र घोषित भइसकेको कारण धेरै दातृ निकायहरू शौचालय निर्माणमा प्रत्यक्ष आर्थिक लगानी गर्न इच्छुक नदेखिएका कारण, यस यथार्थले परियोजना कार्यान्वयनको रणनीतिमा पुनर्विचार गर्दै समुदायमा शौचालय निर्माणमा प्रत्यक्ष आर्थिक सहयोग प्रदान गर्नुको सट्टा, व्यवहार परिवर्तन, सचेतना अभिवृद्धि र समुदायमा चेतना जगाउने (Triggering) गतिविधिहरूलाई प्राथमिकता दिने रणनीति अबलम्बन गर्ने निधो गरियो । यस रणनीतिले शौचालयको महत्व, यसको उचित प्रयोग, र निर्माण गरिएको संरचनाको दीगोपनालाई केन्द्रमा राख्दै अभियान संचालन गर्ने निर्णय गरियो ।

यस अभियान अन्तर्गत स्थानीय सरकारसँग घनिष्ठ समन्वय गर्दै संस्थाका कर्मचारी, युवा समूह, महिला समूह तथा समुदायका जिम्मेवार अगुवाहरूलाई सक्रिय रूपमा परिचालन गरियो । प्रारम्भिक चरणमा यो प्रक्रिया निकै चुनौतीपूर्ण रह्यो, धेरै समुदाय सदस्यहरूले आर्थिक अभावलाई कारण देखाउँदै नगद सहयोगको माग गरे, जसले अभियानलाई अघि बढाउन कठिनाइ सिर्जना गर्‍यो।

तर, निरन्तर संवाद, नियमित सचेतनामूलक कार्यक्रम, घरदैलो भेटघाट र सामुदायिक छलफलमार्फत बिस्तारै समुदायको सोचमा परिवर्तन गर्दै , शौचालय प्रयोगले स्वास्थ्य, मानवीय मर्यादा र सामाजिक सम्मानमा ल्याउने सकारात्मक प्रभावबारे स्पष्ट बुझाइ विकसित हुँदै जादा , यही बुझाइ संगै समुदायका सदस्यहरूले आफ्नै स्थानीय स्रोत, श्रम र सीप प्रयोग गरी शौचालय निर्माण गर्न सुरु गरे, जसले उनीहरूमा स्वामित्व र जिम्मेवारीको भावना अझ बलियो बनायो।

यस अनुभवबाट प्राप्त मुख्य सिकाइ स्पष्ट छ की खुला दिसामुक्त अवस्था (ODF) लाई दीर्घकालीन रूपमा दिगो बनाउन पहिलो प्राथमिकता चेतना र व्यवहार परिवर्तन हुनुपर्छ, प्रत्यक्ष आर्थिक लगानी होइन । जब समुदाय स्वयं सचेत, प्रेरित र जिम्मेवार बन्छ, तब मात्र खुला दिसामुक्त अवस्था दीर्घकालसम्म कायम रहन सक्छ ।

यसैकारण, आज वाइन टु वाटर नेपाल को परियोजना कार्यान्वयन भइरहेका समुदायहरूमा कुनै प्रत्यक्ष अनुदानबिना नै ग्रामीण भेगका प्राय जसो धेरै चेपाङ समुदायका घरधुरीहरूमा समेत शौचालय निर्माण कार्य तीव्र गतिमा भइरहेको देखिन्छ, जुन खुलास दिसामुक्त अवस्था (ODF) को दिगोपनाको सकारात्मक उदाहरण हो ।

लेखक जोशी वाइन टु वाटर नेपालमा कार्यक्रम प्रबन्धक हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार