सरसफाइका क्रममा हुने जोखिम न्यूनीकरणमा महानिर्देशक श्रेष्ठको जोड

  वास खबर समाचारदाता  255 पटक हेरिएको

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले शहरी क्षेत्रमा बढ्दो जनसंख्या, सीमित जग्गा र अव्यवस्थित संरचनाका कारण मानव मलमूत्रको व्यवस्थापन खटिने सरसफाइ श्रमिकहरूले भोगिरहेको गम्भीर स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणमा जोड दिनु भएको छ ।

‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ को समीक्षा कार्यक्रममा महानिर्देशक श्रेष्ठले सरसफाइका क्रममा हुने जोखिम कम गर्न पूर्वतयारी, ज्ञान र सुरक्षात्मक उपायहरूको अपरिहार्यता औंल्याउनुभएको हो।

देशका प्रमुख शहरहरूमा सिमित जमिनमा घर निर्माण हुने र साना आकारका सेप्टिक ट्यांकहरू धेरै जनाले प्रयोग गर्ने हुँदा ती चाँडै भरिने हुन्छ । महानिर्देशक श्रेष्ठ भन्नुहुन्छ “यसले नियमित रूपमा सेप्टिक ट्यांक खाली गर्नुपर्ने अवस्था सिर्जना गरेको छ, सहरका भित्री साँघुरा गल्लीहरूमा सवारी साधन पुग्न नसक्दा अझै पनि धेरै स्थानमा हातैले सफा गर्नुपर्ने बाध्यता छ।”

यस्तो अवस्थाले सरसफाइ कर्मीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको उहाँले बताउनुभयो। आवश्यक सुरक्षा सामग्रीको अभाव, उचित तालिम नहुनु तथा कामको दबाबका कारण आफूले सिकेका सुरक्षा सम्बन्धी उपायहरू पनि व्यवहारमा लागू गर्न नसकिने अवस्था देखिएको उहाँको भनाइ छ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

विशेष गरी सेप्टिक ट्यांकभित्र उत्पादन हुने विषाक्त ग्यासहरू ठूलो जोखिमका रूपमा देखिएका छन्। मानव मलमूत्र सेप्टिक ट्याङ्क भित्र जम्मा हुँदा हाईड्रोजन सल्फाइड, मिथेन, एमोनिया र कार्बनडाइअक्साईड जस्ता ग्यासहरू उत्पन्न हुने गर्छन्, जसले सास फेर्न गाह्रो बनाउने देखि बेहोस हुने र ज्यानै जाने सम्मका दुर्घटना निम्त्याउन सक्छ।

“सेप्टिक ट्यांकको ढकनी खोल्ने बित्तिकै यस्ता ग्यासहरू बाहिर निस्कने हुँदा पूर्व जानकारी र सावधानीको अभावमा दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ,” महानिर्देशक श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार यस्ता जोखिम न्यूनीकरणका लागि ‘ सुरक्षात्मक सावधानी’ (Safety Precaution) अपनाउनु अत्यन्त आवश्यक छ। सरसफाइ कार्य अघि जोखिमको मूल्यांकन गर्ने, व्यक्तिगत सुरक्षात्मक सामग्री (PPE) जस्तै मास्क, ग्लोभ्स, बुट, ग्यास डिटेक्टरको प्रयोग गर्ने तथा कामको स्पष्ट  कार्य सञ्चालन प्रक्रिया (स्ट्यान्डर्ड अपरेटिङ प्रोस्युडर) तयार गरी त्यसको पालना गर्ने अभ्यासले जोखिम घटाउन सकिन्छ।

त्यसैगरी, सरसफाइ कर्मीहरूलाई नियमित तालिम प्रदान गर्ने, आपतकालीन अवस्थाका लागि उद्धार प्रणाली तयार राख्ने तथा यान्त्रिक उपकरणहरूको प्रयोगलाई प्राथमिकता दिने नीतिगत सुधार आवश्यक रहेको उहाँले औंल्याउनुभयो।

विशेषज्ञहरूका अनुसार, सरसफाइ क्षेत्रलाई अझ सुरक्षित बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच समन्वय आवश्यक छ। दीर्घकालीन रूपमा व्यवस्थित फोहोर व्यवस्थापन प्रणाली, पर्याप्त पूर्वाधार विकास तथा श्रमिकको सम्मानजनक काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।

महानिर्देशक श्रेष्ठले सरसफाइ कर्मीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर नीतिगत तथा व्यवहारिक दुवै तहमा सुधार गर्न सके मात्र सुरक्षित र स्वस्थ शहर निर्माण सम्भव हुने बताउनुभयो।

कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले सरसफाइकर्मीहरुको आवाज परियोजना अन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धी र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा प्रस्तुतीकरण गर्नुभयो।

कार्यक्रममा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले सरसफाइकर्मी बिना स्वच्छ वातावरण निर्माण र जनस्वास्थ्यको रक्षा असम्भव भएका हुनाले सरसफाइकर्मीको पेशागत स्वास्थ्य सुरक्षाको सवालमा एकीकृत प्रयासको खाँचो औल्याउनुभयो।

एन्फोका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सरसफाइकर्मी मान बहादुर पोडे, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, खानेपानी मन्त्रालयका सिडिई योगेन्द्र चित्रकार र एरोसानका म्यानेजर अर्चना श्रेष्ठ लगायत वक्ताहरु बीच सरसफाइकर्मीहरुले भोगिरहेको चुनौती, नीतिगत र व्यवहारिक समाधानका उपायहरुका बिषयमा प्यानल छलफल समेत गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार