‘शौचालय हमर सबहक सान अछि’ भन्दै लहानमा बालबालिकादेखि वृद्धसम्मको सरसफाइ अभियान

  वास खबर सम्बाददाता  209 पटक हेरिएको
🔗
140
Shares

सिरहा : हातमा सरसफाइ सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड। अगाडि बालबालिका, पछाडि किशोरकिशोरी, युवा, महिला र पुरुष। उमेर र समुदाय फरक भए पनि सबैको स्वर एउटै छ ‘शौचालय हमर सबहक सान अछि।’

लहानका बस्तीमा देखिएको यो दृश्य सरसफाइ र्‍यालीको दृश्य त हो नै, त्यो भन्दा पनि अझ खुला ठाउँमा दिसापिसाब गर्ने अवस्थाबाट सुरक्षित शौचालयको प्रयोगतर्फ समुदायलाई लैजाने र सरसफाइलाई घर–घरको व्यवहारसँग जोड्ने निरन्तर अभियान हो।

सरसफाइ अभियानमा बालबालिकादेखि वृद्धसम्म, किशोर किशोरीदेखि युवासम्म तथा महिला र पुरुषको समान सहभागिता देखिनुले सरसफाइ अब कुनै एउटा उमेर समूह वा संस्थाको मात्र विषय नभई समुदायको साझा सरोकार बन्दै गएको छ।

खुला दिसामुक्त घोषणा भए पनि चुनौती बाँकी

लहान नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेको नगर हो। तर, खुला दिसामुक्त घोषणा हुनु र सबै नागरिकले सुरक्षित तथा दिगो सरसफाइ सेवा पाउनु एउटै कुरा होइन। लहानमा खुला दिसामुक्त घोषणा भएको वर्षौँपछि पनि विशेष गरी विपन्न, दलित र भूमिहीन बस्तीमा शौचालयको पहुँच चुनौतीका रूपमा रहेको पाइएको छ।

नगरपालिका र वाटर एड नेपालले गरेको सर्वेक्षण अनुसार लहानका २४ हजार ७ सय घरपरिवार मध्ये ४ हजार २ सय १० घरमा अझै शौचालय नभएको पाइएको थियो। तीमध्ये वडा नं. १, २, ५, ९, १२ र २४ का मुसहर बस्तीमा समस्या बढी देखिएको थियो। लहानमा करिब ३० हजार दलित जनसंख्या मध्ये करिब ८ हजार मुसहर समुदाय रहेको र अधिकांश मुसहर भूमिहीन रहेको छ।

लहानमा सरसफाइको चुनौती शौचालय निर्माणमा मात्र सीमित छैन। जग्गाको अभाव, गरिबी, सुरक्षित आवासको अभाव र व्यवहार परिवर्तनलाई समेत सँगसँगै सम्बोधन गर्नुपर्ने अवस्था छ।

लहान नगरपालिकाले यही चुनौतीलाई सम्बोधन गर्न विकन परियोजना सँगको सहकार्यमा शौचालय निर्माण तथा चेतना अभिवृद्धिको अभियान अघि बढाएको छ। अभियानमा जनप्रतिनिधि, सामाजिक परिचालक र युवा समूहलाई परिचालन गरी घर–घरमा पुगेर अनुगमन तथा चेतना अभिवृद्धि गर्ने गरिएको छ।

‘शौचालय हमर सबहक सान अछि’ को सन्देश

मधेशी समुदायको स्थानीय भाषिक पहिचान बोकेको ‘शौचालय हमर सबहक सान अछि’ भन्ने नाराले सरसफाइलाई बाहिरबाट थोपरिएको कार्यक्रम भन्दा आफ्नै समुदायको सम्मान र प्रतिष्ठासँग जोड्न खोजेको देखिन्छ।

शौचालय हुनु भनेको दिसापिसाब गर्ने स्थान हुनु मात्रै होइन। सुरक्षित शौचालयले व्यक्ति र परिवारको स्वास्थ्य, सुरक्षा, सम्मान तथा वातावरणीय स्वच्छतासँग सम्बन्ध राख्छ।

विपन्न बस्तीमा शौचालय नहुँदा महिलालाई रातको समयमा समेत खुला ठाउँ खोज्नुपर्ने, बालबालिका तथा गर्भवती महिलालाई असुरक्षित स्थानमा जानुपर्ने र अर्काको खेत वा सार्वजनिक स्थान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।

त्यसैले अहिले सरसफाइ अभियानमा महिलासँगै पुरुष, बालबालिकासँगै युवा र वृद्धवृद्धाको सहभागिताले ‘सरसफाइ सबैको जिम्मेवारी हो’ भन्ने सन्देशलाई बलियो बनाएको छ।

लहानमा सरसफाइ अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको समुदायलाई शौचालय निर्माण गरिदिएर छोड्नु नभई त्यसको प्रयोग, नियमित सफाइ, मर्मत सम्भार र सुरक्षित सरसफाइ व्यवहारसँग जोड्नु हो।

यसका लागि सडक नाटक लगायत विभिन्न क्रियाकलापहरु मार्फत सरसफाइ तथा स्वच्छता बानी व्यवहार परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रमहरु पनि भैरहेका छन् ।

बालबालिकाको हातमा उठेका प्लेकार्ड, युवाको सहभागिता, महिलाको उपस्थितिसँगै वृद्धवृद्धाको साथले भने एउटा कुरा स्पष्ट देखाउँछ,  सरसफाइ अभियानको नेतृत्व पुस्तान्तरण हुँदैछ।

आज बालबालिकाले बोकेको ‘शौचालय हमर सबहक सान अछि’ भन्ने सन्देश भोलिको पुस्ताको व्यवहारमा स्थापित गर्न सकियो भने लहानको सरसफाइ अभियान नाराबाट व्यवहार परिवर्तन तर्फ अघि बढेको मान्न सकिनेछ।

सामुदायिक शौचालयदेखि व्यवहार परिवर्तनसम्म

लहानका केही बस्तीमा घरमै शौचालय बनाउन नसक्ने परिवारका लागि सामुदायिक शौचालय एउटा विकल्प बनेको छ।

लहान नगरपालिका–२२ को जहडी र वडा नं. ११ को पडारिया लगायतका बस्तीमा जग्गाको अभावका कारण घरमै शौचालय बनाउन नसकेका परिवारलाई लक्षित गरी सामुदायिक शौचालय निर्माण गरिएको छ। वाटर एड नेपालको सहयोगमा विकन परियोजना, लहान नगरपालिका र सम्बन्धित वडा कार्यालयको साझेदारीमा यस्तो अवधारणा अघि बढाइएको हो।

सामुदायिक शौचालय बनेपछि खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता घटेको मात्र होइन, महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धाका लागि सुरक्षित सरसफाइको पहुँच समेत बढेको स्थानीय अनुभव छ। कतिपय बस्तीमा प्रयोगकर्ताले आफैँ शौचालय सफा गर्ने र सञ्चालन खर्चका लागि सरसफाइ शुल्क संकलन गर्ने व्यवस्था समेत अपनाएका छन्।

यस्ता अभ्यासले सरसफाइको पूर्वाधार निर्माणसँगै त्यसको सञ्चालन, प्रयोग र संरक्षणमा समुदायको स्वामित्व विकास गरिएको छ।

अभिभावकले शौचालय प्रयोग गर्ने, घर सफा राख्ने र सरसफाइका व्यवहार अपनाउने वातावरण बनेपछि बालबालिकाले पनि त्यही व्यवहार सिक्ने सामाजिक परिचालक एलिना हिङमाङले बताउनुभयो। उहाँका अनुसार सामुदायिक शौचालय नयाँ पुस्ताका लागि व्यवहार परिवर्तनको आधार बन्न सक्छ।

फोटोहरु : मीता एफ.एम. 106 MHZ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार