विस्तारित खानेपानी सुरक्षा योजना कार्यान्वयन गर्न १० बुँदे प्रतिबद्धता

  वास खबर समाचारदाता  172 पटक हेरिएको
🔗
122
Shares

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा सुरक्षित, गुणस्तरीय तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न विस्तारित खानेपानी सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

गाउँपालिकामा आयोजित पालिका स्तरीय विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला गोष्ठीका सहभागी गाउँपालिका, खानेपानी उपभोक्ता समिति, मर्मत सम्भार कार्यकर्ता, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका शिक्षक एवं अन्य सरोकारवालाले खानेपानीको मुहानदेखि उपभोक्ताको धारासम्म पानीको गुणस्तर कायम राख्न १० बुँदे प्रतिबद्धता जनाएका हुन्।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको सहजीकरणमा दार्मा गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा जारी प्रतिबद्धता पत्रमा खानेपानीका स्रोत तथा वितरण प्रणालीमा हुन सक्ने जोखिम पहिचान, मूल्याङ्कन र न्यूनीकरण गर्ने, नियमित रूपमा पानीको गुणस्तर परीक्षण तथा अनुगमन गर्ने र देखिएका समस्या समयमै समाधान गर्ने उल्लेख गरिएको छ।

नियमित परीक्षणदेखि विपद् जोखिम न्यूनीकरणसम्म

प्रतिबद्धता पत्र अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले तोके बमोजिम खानेपानीको भौतिक, रासायनिक तथा जैविक गुणस्तर परीक्षण गरिनेछ। परीक्षणका नतिजा अभिलेखीकरण गर्नुका साथै गुणस्तरमा समस्या देखिएमा आवश्यक सुधारका उपाय अवलम्बन गरिनेछ।

पानीलाई सुरक्षित बनाउन आवश्यकता अनुसार निर्मलीकरण (डिसइन्फेक्सन) सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयनका लागि पहल गरिने पनि प्रतिबद्धता जनाइएको छ।

त्यसैगरी, खानेपानीका मुहान, जलाधार क्षेत्र, पाइपलाइन, भण्डारण ट्याङ्की तथा वितरण प्रणाली लगायत संरचनाको संरक्षण गरी सम्भावित प्रदूषणका जोखिम न्यूनीकरण गरिनेछ।

बाढी, पहिरो, भूकम्प, खडेरी तथा जलवायु परिवर्तनका कारण खानेपानी सेवामा पर्न सक्ने असर पहिचान गरी आवश्यक पूर्वतयारी र व्यवस्थापनका उपाय अवलम्बन गर्ने प्रतिबद्धता समेत गरिएको छ।

खानेपानी सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागितालाई प्राथमिकता दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ।

स्थानीय योजना, बजेट र मर्मत सम्भारसँग आबद्ध गरिने

विस्तारित खानेपानी सुरक्षा योजनालाई प्रभावकारी र दिगो बनाउन यसका गतिविधिलाई गाउँपालिका तथा उपभोक्ता समितिको नियमित योजना, बजेट, अनुगमन र निर्णय प्रक्रियासँग आबद्ध गरिनेछ।

खानेपानी प्रणालीको नियमित सञ्चालन तथा मर्मत सम्भारका लागि गाउँपालिकाको सेवा सहायता केन्द्रलाई संस्थागत गर्दै उपभोक्ता समिति, स्थानीय तह र सम्बन्धित प्राविधिक जनशक्तिको भूमिका तथा जिम्मेवारी स्पष्ट गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

खानेपानी आयोजनाको सञ्चालन तथा मर्मत सम्भारमा देखिने समस्या समाधान गर्न सम्बन्धित उपभोक्ता समितिको संस्थागत क्षमता र आत्मनिर्भरता अभिवृद्धि गरिनेछ। यसका लागि आवश्यक प्राविधिक ज्ञान, सीप तथा व्यवस्थापकीय क्षमता विकासमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ।

सरोकारवालाले खानेपानी सुरक्षा योजनालाई एक पटक सञ्चालन गरेर सकिने गतिविधिका रूपमा नभई निरन्तर अनुगमन, समीक्षा र सुधार गर्नुपर्ने व्यवस्थापन प्रक्रियाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्धता पत्रमा उल्लेखित विषयलाई आ-आफ्नो भूमिका, जिम्मेवारी तथा कार्यक्षेत्रअनुसार कार्यान्वयन गर्दै दार्मा गाउँपालिकामा सुरक्षित, भरपर्दो, समावेशी तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सामूहिक प्रयास गरिने जनाइएको छ।

यसैबीच सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले खानेपानी सुरक्षा योजना सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो।

उहाँका अनुसार खानेपानीको मुहानदेखि उपभोक्ताको धारासम्म पानीको गुणस्तर कायम राख्न जोखिमको पहिचान, नियमित परीक्षण, प्रभावकारी अनुगमन तथा समयमै मर्मत सम्भार आवश्यक हुन्छ।

गोष्ठीको सहजीकरण गर्दै उहाँले खानेपानी सुरक्षा योजनालाई स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटसँग आबद्ध गर्दै उपभोक्ता समिति र सम्बन्धित सरोकारवालाको जिम्मेवारी स्पष्ट बनाउन सके यसको कार्यान्वयन प्रभावकारी हुने बताउनुभयो।

खानेपानी प्रणालीको दिगोपनका लागि स्थानीय तह र उपभोक्ता समिति बीच समन्वय, संस्थागत क्षमता अभिवृद्धि तथा नियमित समीक्षा आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

फोटोहरु : पी.टी.लोप्चन/वास खबर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार