
काठमाडौ : नेपालीको महान् चाड बडादसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकावासीले मेलम्ची खानेपानी आयोजनाको पानी तत्काल वितरण गर्न माग गरेका छन्। चाडपर्वमा खानेपानीको माग बढ्ने भए पनि मेलम्चीको पानी वितरण सुरु नहुँदा उपभोक्ता महँगो मूल्यमा जार र ट्याङ्करको पानी खरिद गर्न बाध्य भएका छन्।
बर्खायाम सुरु भएसँगै बाढीपहिरोको जोखिम देखाउँदै बन्द गरिएको मेलम्चीको पानी वितरण अझै सुरु हुन सकेको छैन। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को नियमित आपूर्ति कमजोर रहेको र धाप ड्यामबाट हप्तामा एक/दुई दिन वितरण हुने पानी समेत सबै क्षेत्रमा नपुग्ने गरेको उपभोक्ताको गुनासो छ। यसले गर्दा उपत्यकाका धेरै बासिन्दा खानेपानीको अभाव झेलिरहेका छन्।
चाडपर्वका बेला घरआँगन सफा गर्ने, आफन्त तथा पाहुनाको आवतजावत बढ्ने र विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुने भएकाले सामान्य समयको तुलनामा पानीको खपत बढ्ने गर्छ। यस्तो अवस्थामा पनि पर्याप्त पानी उपलब्ध नहुँदा उपभोक्तालाई दैनिक आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको छ।
‘पानी छोड्न सकिने अवस्था हुँदाहुँदै वितरणमा ढिलाइ’
मेलम्ची खानेपानी सङ्घर्ष समिति, काठमाडौँका संयोजक गोविन्द पन्तले चाडपर्वका बेला खानेपानीको माग अत्यधिक हुने भएकाले मेलम्चीको पानी यथाशीघ्र वितरण गर्नुपर्ने बताउनुभयो। उहाँले आयोजनाले चाहेमा पानी वितरण सुरु गर्न सकिने अवस्था रहेको दाबी गर्दै ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
“मेलम्चीखोलाको पानी सफा छ। मुहान खोल्नका लागि एक्साभेटर त्यहीमाथि नै छ। आयोजनाले चाहेमा मेलम्चीको पानी छोड्न सकिन्छ। पानी छोड्न ढिलो भएको छ। एकातिर मेलम्चीको पानी त्यत्तिकै बगेर गइरहेको छ भने अर्कोतिर जनता महँगो पानी किनेर खान बाध्य छन्,” उहाँले भन्नुभयो।
संयोजक पन्तका अनुसार सङ्घर्ष समितिको प्रतिनिधिमण्डलसँगको भेटमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले अबको १० दिनभित्र पानी वितरण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्धारित समयभित्र पानी वितरण सुरु नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको उहाँले जानकारी दिनुभयो।
सङ्घर्ष समितिका सदस्य एवं सरसफाइ अभियन्ता नारायण गिरीले मेलम्चीको पानी वितरण रोकिँदा राज्य र उपभोक्ता दुवैलाई घाटा भइरहेको बताउनुभयो। करिब ७० अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाको पानी उपयोगमा नआउँदा राज्यले राजस्वसमेत गुमाइरहेको उहाँको भनाइ छ।
“ट्याङ्करको पानी प्रयोग गर्दा आमनागरिक आर्थिक र स्वास्थ्यको समस्या गरी दोहोरो मारमा परिरहेका छन्। ट्याङ्करको पानी जमिनबाट जबरजस्ती ड्रिल गरेर निकालिएको पानी हो। त्यो पानी ‘रिफाइनिङ’ र सफा हुँदैन तर मेलम्ची आयोजनाबाट वितरण हुने पानी सुन्दरीजलमा प्रशोधन हुन्छ,” उहाँले भन्नुभयो।
जार र ट्याङ्करको पानीमा निर्भर उपभोक्ता
ललितपुरको सानेपाका स्थानीय बासिन्दा राकेश मेहताले चाडपर्व नजिकिए पनि धारामा नियमित पानी नआउँदा महँगो मूल्यमा जार र ट्याङ्करको पानी खरिद गर्नुपरेको बताउनुभयो।
“चाडपर्व घरदैलोमा आइसक्यो तर धारामा हप्तामा एक दिन पनि पानी आउँदैन। महँगो मूल्यमा जार र ट्याङ्करको पानी किन्न बाध्य छौँ। दसैँअगाडि नै मेलम्चीको पानी आउँछ भनेर आश्वासन पाएका थियौँ तर आश्वासन मात्र ‘आश्वासन’ मै सीमित हुने देखियो। काममा ढिलासुस्ती भइरहेको छ,” उहाँले गुनासो गर्नुभयो।
मेलम्चीको पानी वितरण बन्द भएपछि उपत्यकामा निजी पानी व्यवसायीको निर्भरता बढेको र कतिपय व्यवसायीले मागको अवसर छोपेर मनपरी मूल्य लिने गरेको उपभोक्ताको आरोप छ। पानीको गुणस्तरप्रति समेत पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ।
भूमिगत पानीको स्रोत घट्दै जाँदा इनार तथा ढुङ्गेधाराबाट समेत पर्याप्त पानी पाउन कठिन भएको छ। यस्तो अवस्थामा निजी ट्याङ्कर र जारको पानीमा निर्भर हुनुपर्ने बाध्यताले विपन्न परिवार तथा डेरामा बस्ने नागरिकलाई बढी आर्थिक भार परेको छ।
बाटो पुनर्निर्माणपछि मात्रै सुरुङमा पानी पथान्तरण
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाले भने यस वर्ष बर्खा नरोकिएकाले मेलम्चीखोलाको बहावमा पर्याप्त कमी आउन नसकेको र आयोजनाको मुहानसम्म पुग्ने पहुँचमार्ग बाढीले क्षतिग्रस्त बनाएकाले पानी वितरणमा ढिलाइ भएको बताउनुभयो।
उहाँका अनुसार मुहानसम्म पुग्ने बाटो क्षतिग्रस्त भएकाले एक्साभेटरलगायत आवश्यक उपकरण लिएर हेडवर्क्ससम्म पुग्न सकिने अवस्था छैन। हाल स्थानीय तहले पहुँचमार्ग पुनर्निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो।
“आयोजनाको मुहानसम्म पुग्ने बाटो अहिले स्थानीय तहले पुनर्निर्माण गरिरहेका छन्। खोलाको बहाव कम र पहुँचमार्ग निर्माण भएसँगै सुरुङमा पानी पथान्तरण गरिने छ,” उहाँले भन्नुभयो।
चाडपर्वको मुखमा उपत्यकावासीले खानेपानीको अभाव झेलिरहेका बेला आयोजनाले जनाएको १० दिनभित्र पानी वितरण सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ। एकातिर बाढीका कारण क्षतिग्रस्त संरचना र पहुँचमार्ग पुनर्निर्माणको चुनौती छ भने अर्कोतिर उपभोक्तालाई तत्काल पर्याप्त र सुरक्षित खानेपानी उपलब्ध गराउनुपर्ने आवश्यकता छ।
मेलम्चीको पानी पुनः वितरण सुरु नहुँदासम्म उपत्यकावासीले महँगो वैकल्पिक स्रोतमा निर्भर हुनुपर्ने अवस्था कायमै रहने देखिन्छ। त्यसैले आयोजनाको प्राविधिक अवस्था, पहुँचमार्ग पुनर्निर्माण र पानी पथान्तरणको कामलाई तीव्रता दिँदै उपभोक्तालाई नियमित खानेपानी उपलब्ध गराउनु आवश्यक छ।


195 पटक हेरिएको 

