चिसापानीमा १ हजार ३५० घरधुरीलाई नियमित खानेपानी, पानीको गुणस्तर परीक्षणमा जोड

  वास खबर सम्बाददाता  123 पटक हेरिएको
🔗
63
Shares

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित चिसापानी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता संस्थाले १ हजार ३५० घरधुरीमा चौबीसै घण्टा खानेपानी वितरण गर्दै आएको छ।

संस्थाको १६औँ वार्षिक साधारणसभा आइतबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ। सभामा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन नगरपालिकाको सहकार्यमा पानी परीक्षण भइरहेको बताउनुभयो। उहाँले नगरपालिकाका सबै वडामा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो।

सभामा संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन, सचिव विमल पन्थीले नीति, कार्यक्रम तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष शान्ति पोख्रेल पौडेलले आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। लेखा समितिका सदस्य सीता खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा विभिन्न उपसमितिका तर्फबाट तारा चन्द, माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्राचार्य अनिलचन्द्र अधिकारी, सल्लाहकार चन्द्रबहादुर थापा, सूर्यज्योति युवा क्लबका अध्यक्ष राम भण्डारी र जहदा खानेपानी संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

वि.सं. २०५६ सालमा स्थापना भएको संस्थाले हालसम्म १ हजार ३५० घरधुरीमा धारा जडान गरी नियमित खानेपानी सेवा प्रदान गर्दै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार