
रुपन्देही : रुपन्देहीको सियारी गाउँपालिकामा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै सरसफाइ सम्बन्धी व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।
“सबैको घरमा स्वच्छ पानीको धारा, निरोगी जीवनको सहारा” भन्ने नारासहित आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८३ को वैशाख महिनाभित्र खानेपानीको धारा जडान गरेका ११३ जना उपभोक्तालाई प्लास्टिकरहित झोला, कपडा धुने सर्फ लगायतका सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
घरमा खानेपानीको धारा जडान गर्नु पानीमा पहुँच सुनिश्चित गर्ने महत्त्वपूर्ण कदम भए पनि सुरक्षित पानीको प्रयोग, व्यक्तिगत सरसफाइ र घरायसी स्वच्छतामा ध्यान दिनु उत्तिकै आवश्यक हुन्छ। यस्ता कार्यक्रमले उपभोक्तालाई खानेपानी र सरसफाइबीचको सम्बन्धबारे सचेत गराउँदै स्वच्छता प्रवर्द्धनका व्यवहार अपनाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष एबम खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का केन्द्रीय लेखा संयोजक झपेन्द्र राज अर्यालले खानेपानीको महत्त्व र सरसफाइका विषयमा प्रकाश पार्नुभयो।
उहाँले स्वच्छ खानेपानी र सरसफाइ स्वस्थ जीवनका आधार भएको सन्दर्भमा यसको महत्त्व स्पष्ट पार्नुभएको थियो।


231 पटक हेरिएको 

