बाढी, पहिरो र नदी कटानले खानेपानी प्रणाली ध्वस्त बनाएपछि हजारौँ बेनीवासीको दैनिकी प्रभावित; १५ करोडको क्षति, पुनर्निर्माणका लागि स्रोतको प्रतीक्षा
बेनी (म्याग्दी) : असोज दोस्रो साताको अविरल वर्षाले बेनी बजारलाई चारैतिरबाट पानीले घे¥यो । कालीगण्डकी र म्याग्दी नदी उर्लिए, सडक र बस्तीमा बाढी पस्यो, पहाडबाट पहिरो खस्यो । तर यही पानीको प्रकोपबीच बेनीवासीका धारामा भने पानी सुक्यो ।
बाहिर झरीको झन्कार, तल नदीको गर्जन र माथि पहिरोको त्रास, तर घरभित्र पिउने पानीको अभाव । प्रकृतिले पानीको कुनै कमी नरहेको दृश्य देखाइरहँदा हजारौँ नागरिकलाई एक गाग्री पानी जुटाउनै मुस्किल पर्यो । विपद्ले घर, सडक र पूर्वाधारमा क्षति पु¥यायो नै, बेनीको जीवनरेखा मानिएको खानेपानी प्रणालीसमेत भत्काइदियो । चारैतिर पानी भएर पनि तिर्खाउनुपर्ने यो विरोधाभास अहिले बेनीवासीले भोगिरहेको विपद्को सबैभन्दा पीडादायी तस्बिर बनेको छ ।

असोज ८ देखि ११ गतेसम्मको वर्षा र त्यसपछि आएको बाढी–पहिरोले बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुख्य प्रणालीमा व्यापक क्षति पुर्याएपछि बजारमा खानेपानी संकट चुलिएको हो । असोज ९ गतेको बाढीले मुहानदेखि मुख्य ट्रान्समिसन लाइनसम्मका संरचना क्षतिग्रस्त बनायो । संस्थाका अनुसार करिब १५ किलोमिटर मुख्य पाइपलाइन र एक हजार मिटर वितरण लाइनमा क्षति पुगेको छ ।
बेनी नगरपालिका, वडा नं. ७ र ८ तथा वडा नं. २ को हाडेभिर क्षेत्रका एक हजार १७० उपभोक्ता प्रभावित बनेका छन् । यसबाट करिब २२ देखि २५ हजार जनसंख्याको दैनिकी प्रभावित भएको संस्थाको अनुमान छ । प्रारम्भिक मूल्याङ्कन अनुसार खानेपानीका संरचनामा मात्रै करिब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
मुहानदेखि धारासम्म भत्कियो खानेपानीको जीवनरेखा
बेनी बजारमा खानेपानी आपूर्ति हुँदै आएका अन्नपूर्ण गाउँपालिका–८ का रिठ्ठाखर्क र डाँडाखर्क, पुङ्दीखोला तथा बेनी नगरपालिका–२ को कोप्रेखोला मुहान बाढीबाट प्रभावित भए । रिठ्ठाखर्कबाट प्रतिसेकेन्ड १३ लिटर, डाँडाखर्कबाट नौ लिटर र कोप्रेखोलाबाट तीन लिटर पानी ल्याउने व्यवस्था थियो । आवश्यकताअनुसार हिउँदमा पुङ्दीखोलाको पानीसमेत प्रयोग गरिन्थ्यो । तर असोज ९ गतेको बाढीले यी मुहान, इन्टेक र कलेक्सन च्याम्बरमा क्षति पुर्याएपछि नियमित आपूर्ति अवरुद्ध भयो ।
अन्नपूर्ण गाउँपालिका–८ र रघुगंगा गाउँपालिका–३, नयाँ बैसरीस्थित कालीगण्डकी नदीमाथि बिछ्याइएको १५० एमएमको पाइप क्रसिङ, संरक्षण पर्खाल, आरभीटी ट्याङ्कीको संरक्षण संरचना, ग्याबिन जाली र एङ्कर ब्लकसमेत क्षतिग्रस्त भए । मुहान र पाइपलाइनमा एकैपटक क्षति पुगेपछि पुरानै प्रणाली तत्काल सञ्चालन गर्न सम्भव भएन ।
“बाढीले हाम्रो मुख्य प्रणालीमा यति ठूलो क्षति ग¥यो कि तत्काल पुनःसञ्चालन सम्भव नै भएन,” बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले भन्नुभयो । उहाँका अनुसार नियमित स्रोत र संस्थाको आफ्नै क्षमताले व्यवस्थापन गर्न सक्नेभन्दा क्षति धेरै ठूलो छ । पुरानो प्रणाली पुनःस्थापना गर्न मात्रै करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
क्षतिको विवरण संकलनपछि संस्थाले प्रदेश सरकारका सम्बन्धित मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति तथा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लगायत निकायसँग बजेट र सहयोग माग गरेको छ । तर क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पर्याप्त आर्थिक सहयोग प्राप्त नभएको संस्थाको भनाइ छ । संकटको तत्कालीन व्यवस्थापनसँगै अब ठूलो लगानी जुटाएर प्रणाली पुनःस्थापना गर्नुपर्ने चुनौती थपिएको छ ।
वैकल्पिक स्रोतको भर, १२ घण्टे पालोमा पानी
मुख्य प्रणाली बन्द भएपछि संस्थाले वैकल्पिक स्रोतबाट पानी ल्याउने प्रयास थाल्यो । बेनी नगरपालिका–६, राहुवडाबाट पानी ल्याउन करिब ६०० मिटर लामो ७५ एमएम एचडीपी पाइप जडान गरी डल्लेपिपल, बिरौता, कालीपुल, अस्पतालरोड, पिपलचोक र गणेशटोलसम्म वितरणको व्यवस्था मिलाइयो ।
अम्रेनी तल्लो मुहानबाट करिब एक हजार ६०० मिटर पाइप दुईवटा समानान्तर लाइनमा विस्तार गरियो । कोप्रेखोलामा क्षतिग्रस्त पाइपलाइन मर्मत गरेर पनि आपूर्ति सञ्चालन गर्ने प्रयास गरियो । आवश्यक थप पाइप खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराबाट प्राप्त भएपछि विस्तारको काम अघि बढाइएको संस्थाका प्रबन्धक यामबहादुर विकले बताउनुभयो ।
असोज १८ गतेदेखि राहुवडाको वैकल्पिक स्रोतबाट कालीपुल, गणेशटोल, संगमचोक हुँदै हुलाकचोक क्षेत्रसम्म आंशिक रूपमा पानी वितरण सुरु भयो । तर राहुओडामुनिको जंगल क्षेत्रमा जडान गरिएका केही पाइप चोरी भएपछि मर्मत र विस्तारमा थप कठिनाइ उत्पन्न भएको छ ।
हाल अम्रेनी तल्लो मुहानबाट प्रतिसेकेन्ड सात लिटर, राहुवडाबाट चार लिटर र कोप्रेखोलाबाट तीन लिटर गरी कुल १४ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भइरहेको संस्थाले जनाएको छ । सामान्य अवस्थाको तुलनामा यो मात्रा निकै कम भएकाले मागअनुसार पानी उपलब्ध गराउन सकिएको छैन । त्यसैले संस्थाले १२–१२ घण्टाको पालोमा पानी वितरण गरिरहेको छ । उपलब्ध स्रोतलाई अधिकतम उपयोग गरेर न्यूनतम आवश्यकता पूरा गर्ने प्रयास भए पनि नियमित आपूर्ति बहाल हुन सकेको छैन ।

पानीको अभाव गम्भीर बनेका सुरुवाती दिनमा बेनीवासी निजी धारा भएका आफन्त, छिमेकी र विभिन्न संस्थाको सहयोगमा निर्भर हुनुपर्यो । बौद्ध युवा क्लब, मंगलाघाट, गंगा जिसी फाउन्डेसन, बेनी नगरपालिकाको दमकल, विद्यालय तथा अन्य सामाजिक संस्थाहरू पानी वितरणमा सक्रिय भए ।
गंगा जिसी फाउन्डेसन, बौद्ध युवा क्लब र खानेपानी संस्थाको सहकार्यमा सामाजिक सञ्जाल तथा बजारका चोकमा माइकिङ गरेर निःशुल्क ट्याङ्करबाट पानी वितरण गरियो । होटल, विद्यालय र ठूला ट्याङ्की भएका उपभोक्तालाई आवश्यकता अनुसार शुल्क तिरेर ट्याङ्करमार्फत पानी उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको थियो ।

तर सबै वैकल्पिक स्रोतको पानीको गुणस्तर समान छैन । संस्थाका अनुसार अम्रेनी तल्लो मुहान र कोप्रेखोलाबाट आएको पानी शुद्धीकरण गरेर वितरण गरिएको छ भने राहुवडाको पानीलाई शुद्धीकरण गर्न नसकिएकाले प्रत्यक्ष वितरण प्रणालीमा जोडिएको छ । त्यसैले संस्थाले सबै उपभोक्तालाई पानी उमालेर वा उपयुक्त विधिबाट शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेको छ । पानीको अभावसँगै सुरक्षित पानीको सुनिश्चितता पनि बेनीवासीका लागि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।
वैकल्पिक प्रणालीमै पहिरो, बेनीवासीको त्रास दोहोरियो
मुख्य खानेपानी प्रणाली क्षतिग्रस्त भएको केही दिनमै बेनीले अर्को संकट सामना गर्नुपर्यो । बेनी नगरपालिका–८ को खोरिया क्षेत्रमा जमिन चर्किएको थियो । यही क्षेत्र हुँदै रिजर्भ ट्याङ्कीसम्म जाने मुख्य ट्रान्समिसन पाइपलाइन रहेकाले पहिरोको जोखिमले वैकल्पिक आपूर्तिसमेत प्रभावित हुने सम्भावना थियो । असोज १३ गते बेनीको न्यूरोड पछाडिको क्षेत्रमा पहिरो खस्यो । स्थानीयका अनुसार पाइपलाइनबाट निस्किएको पानीले सञ्जीवनी अस्पताल पछाडिको भत्किएको क्षेत्रमा थप असर पारेको थियो ।

तलतिर उर्लिरहेको कालीगण्डकी र माथिबाट खस्न सक्ने पहिरोका कारण स्थानीयवासी त्रसित बनेका बेला असोज १४ गते राति ९ः१५ बजे न्यूरोडमाथि पुनः पहिरो खस्यो । पहिरोले वैकल्पिक रूपमा सञ्चालन गरिएको मुख्य ट्रान्समिसन लाइन र वितरण लाइनमा समेत क्षति पुर्यायो । यसबाट हिलसाइड, घट्टानचोक, पुरानो ग्यारेज र नयाँ बस्ती क्षेत्रमा पानी वितरण प्रभावित भयो । बेनी–८ का वडाध्यक्ष उत्तम कर्माचार्यको अगुवाइ र समन्वयमा क्षतिग्रस्त पाइपलाइन मर्मत गरिएपछि असोज २४ गतेदेखि ती क्षेत्रमा पुनः पानी वितरण सुरु भएको संस्थाले जनाएको छ ।
भौतिक क्षतिसँगै संकटका बेला फैलिने अपुष्ट सूचनाले पनि नागरिक र बाहिर रहेका आफन्तलाई थप चिन्तित बनायो । पहिरो र नदीको जोखिमबारे वास्तविक सूचना समयमै सम्प्रेषण नहुँदा सामाजिक सञ्जालमा बेनीको अवस्थाबारे अतिरञ्जित वा अपुष्ट विवरण फैलिएको स्थानीयको अनुभव छ । विपद्का बेला सही सूचना, जोखिमको स्पष्ट जानकारी र सम्बन्धित निकायको नियमित अद्यावधिक विवरण पनि राहत र उद्धारजत्तिकै महत्वपूर्ण हुन्छन् ।
बेनीमा खानेपानी आपूर्ति अवरुद्ध भएको यो पहिलो घटना भने होइन । २०७७ सालमा रघुगंगा खोलाले गलेश्वर र राहुघाट जोड्ने बेलिब्रिज बगाउँदा पनि खानेपानी प्रणाली प्रभावित भएको थियो । त्यतिबेला दुईमध्ये एउटा पाइपलाइन मात्र क्षतिग्रस्त भएकाले राहुवडा, डाँडाखर्क र कोप्रेखोलाको पानी उपयोग गरी करिब तीन महिनासम्म आपूर्ति सञ्चालन गरिएको थियो । यसपटक भने मुख्य मुहान, ट्रान्समिसन प्रणाली र विभिन्न संरचनामा एकैपटक क्षति पुगेकाले पुनःस्थापनाको चुनौती धेरै जटिल बनेको संस्थाको भनाइ छ ।
क्षतिपूर्ति मात्र होइन, विपद् थेग्ने दिगो प्रणालीको खाँचो
बेनीमा खानेपानी संकटले एउटा आधारभूत प्रश्न उठाएको छ : बाढी, नदी कटान र पहिरोको जोखिममा रहेका संरचनालाई पटकपटक मर्मत गरेर मात्रै कति समय सुरक्षित राख्न सकिन्छ ? न्यूरोड र म्याग्दी क्याम्पस माथिबाट गुज्रिएको मुख्य पाइपलाइन पहिरोको जोखिममा रहेको विषय यसअघि पनि उठ्दै आएको थियो । यसपटकको क्षतिले सुरक्षित स्थानबाट पाइपलाइन लैजाने र विपद् प्रतिरोधी पूर्वाधार निर्माण गर्ने आवश्यकतालाई अझ स्पष्ट बनाएको छ ।
संस्थाले डल्लेपिपल, कालीपुल, भाइरलरोड हुँदै बेनी नगरपालिका अगाडिको पक्की पुलबाट मुख्य संरचनासम्म पाइपलाइन पु¥याउने अवधारणासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नयाँ योजनाका लागि पहल गरेको जनाएको छ ।
जोखिमयुक्त क्षेत्रका पाइपलाइन स्थानान्तरण गर्नुका साथै जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अघि बढाउने, रिठ्ठाखर्क, डाँडाखर्क र पुङ्दीखोलाजस्ता प्रमुख स्रोतको दीर्घकालीन संरक्षण गर्ने, पहुँचमार्ग सुधार गर्ने र बराहपाखा वन संरक्षण गर्ने योजना पनि अघि सारिएको छ । आपत्कालीन अवस्थामा उपयोग गर्न सकिने नयाँ सम्पवेल तथा डिप बोरिङको व्यवस्था गर्ने विकल्प समेत अध्ययनमा छ ।
मंगलाघाटपारि म्याग्दी नदी किनारमा लिफ्टिङ प्रणालीबाट पानी ल्याउने उद्देश्यले निर्माण गरिएको सम्पवेल पनि वैकल्पिक स्रोतका रूपमा उपयोग गर्न सकिने अपेक्षा गरिएको थियो । तर सुरुदेखि नै बालुवा भरिने समस्याका कारण त्यसबाट प्रभावकारी रूपमा पानी सञ्चालन गर्न नसकिएको संस्थाले जनाएको छ । यसले नयाँ संरचना निर्माणसँगै त्यसको प्राविधिक उपयुक्तता, नियमित मर्मत र सञ्चालनको दिगोपन सुनिश्चित गर्नुपर्ने आवश्यकता देखाउँछ ।
“अब हाम्रो लक्ष्य क्षति टालटुल गर्ने मात्र होइन, भविष्यका यस्ता विपद्समेत सामना गर्न सक्ने दिगो प्रणाली निर्माण गर्नु हो,” अध्यक्ष गिरीले भन्नुभयो । सेवा क्षेत्रका सबै उपभोक्तालाई चौबीसै घण्टा सुरक्षित खानेपानी उपलब्ध गराउने दीर्घकालीन सोचका साथ अघि बढिरहेको उहाँको भनाइ छ ।
सुरक्षित खानेपानी नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र संविधानको अनुसूची–८ ले आधारभूत खानेपानी सेवासम्बन्धी जिम्मेवारी स्थानीय तहसँग जोडेको छ ।
त्यसैले बेनीको खानेपानी संकटलाई उपभोक्ता संस्थाको प्राविधिक वा आर्थिक समस्याका रूपमा मात्र हेर्न मिल्दैन । विपद्का बेला नागरिकको आधारभूत सेवा कसरी निरन्तर राख्ने, क्षतिग्रस्त प्रणाली पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच कसरी समन्वय गर्ने तथा जोखिमयुक्त पूर्वाधारलाई दीर्घकालीन रूपमा कसरी सुरक्षित बनाउने भन्ने साझा दायित्वको प्रश्न पनि हो ।
संस्थाले संघीय तथा प्रदेशस्तरका सम्बन्धित निकाय र विपद् व्यवस्थापन संयन्त्रसँग सहयोग मागेको भए पनि पुनःस्थापनाका लागि पर्याप्त स्रोत जुट्न बाँकी छ । अबको प्राथमिकता तत्कालीन पानीको अभाव व्यवस्थापन गर्ने, वितरण भइरहेको पानीको गुणस्तर सुनिश्चित गर्ने र मुख्य प्रणालीको पुनर्निर्माणका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग जुटाउने हुनुपर्छ । त्यससँगै पहिरो र नदी कटानको जोखिमको प्राविधिक मूल्याङ्कन गरी वैकल्पिक स्रोत र आपत्कालीन आपूर्ति प्रणालीलाई पनि भरपर्दो बनाउनु आवश्यक छ ।
चारैतिर पानी भएर पनि तिर्खाउनुपर्ने बेनीको अवस्था विपद्ले सिर्जना गरेको विडम्बना मात्र होइन, आधारभूत पूर्वाधारको जोखिम र तयारीको परीक्षा पनि हो । बाढीले भत्काएका पाइप र मुहान पुनःनिर्माण गर्नु तत्कालको आवश्यकता हो; तर त्यससँगै भविष्यको बाढी र पहिरोले फेरि उही संकट नदोहो¥याउने प्रणाली निर्माण गर्नु दीर्घकालीन दायित्व हो । बेनीवासीको अपेक्षा स्पष्ट छ ः धारामा नियमित र सुरक्षित पानी फर्कियोस् र अर्को विपद् आउँदा फेरि तिर्खाको यस्तो पीडा भोग्न नपरोस् ।


289 पटक हेरिएको 

