
काठमाडौं : दसैँमा नयाँ कपडा लगाउने चलन नेपाली समाजमा पुरानै हो । चाडपर्वमा नयाँ लुगा किन्ने, लगाउने र रमाइलो गर्ने परम्पराले बजारमा चहलपहल बढाउँछ । तर, हरेक पर्वमा नयाँ कपडा किन्ने र केही समयमै पुराना कपडा फाल्ने बढ्दो प्रवृत्तिले वातावरणमा कति असर पारिरहेको छ भन्ने विषयमा भने कमै ध्यान जाने गरेको छ ।
कपडा उपभोगको यही प्रवृत्तिले सहरी क्षेत्रमा कपडाजन्य फोहोरको मात्रा बढाउँदै लगेको छ । काठमाडौँ महानगरपालिकाले गत असारयता तीन महिना लगाएर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गरेको अध्ययन अनुसार त्यहाँ विसर्जन हुने कुल फोहोरमध्ये १०.८० प्रतिशत कपडाजन्य फोहोर रहेको छ । अध्ययनले काठमाडौँ उपत्यकाबाट दैनिक बञ्चरेडाँडामा विसर्जन हुने करिब १ हजार ४०० टन फोहोरमध्ये झन्डै १५० टन कपडाजन्य फोहोर रहेको देखाएको छ ।
महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिकासहित २१ नगरपालिकाबाट बञ्चरेडाँडा पुग्ने फोहोरमध्ये दैनिक १५ ट्रक कपडाजन्य फोहोर मात्रै हुने गरेको छ । यसले प्रयोग भइसकेका कपडाको व्यवस्थापन सहरी फोहोर व्यवस्थापनको एउटा गम्भीर चुनौती बन्दै गएको देखाउँछ ।
पुनः प्रयोग गर्ने बानी घट्दा ल्यान्डफिलमा चाप
पहिले पुराना कपडालाई घरायसी काममा प्रयोग गर्ने, अरूलाई दिने वा लामो समयसम्म लगाउने चलन थियो । तर, बदलिँदो जीवनशैली र उपभोग संस्कृतिसँगै प्रयोग भइसकेका कपडाको पुनः प्रयोग गर्ने अभ्यास कमजोर हुँदै गएको छ ।
फोहोर संकलनमा संलग्न श्रमिक जितबहादुरका अनुसार उपत्यकाबाट ठूलो परिमाणमा कपडाजन्य फोहोर संकलन हुने गरेको छ । उहाँका अनुसार ओढ्ने–ओछ्याउनेदेखि लगाउने कपडासम्म बोराका बोरा फालिने गरेका छन् । संकलित कपडा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेभन्दा पनि फोहोर उठाएर लैजाने काममा आफूहरू सीमित रहेको उहाँको भनाइ छ ।
डोको रिसाइक्लर्सका कार्यकारी अधिकृत पंकज पन्जियारले पनि बञ्चरेडाँडामा दैनिक १५० टन कपडा विसर्जन हुने अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँको अनुमानमा देशभरका सहरमा उत्पादन हुने कुल फोहोरमध्ये ८ देखि १० प्रतिशत कपडाजन्य फोहोर हुन सक्छ । यस आधारमा नेपालका सहरहरूबाट दैनिक ४ हजारदेखि ५ हजार टनसम्म फोहोर उत्पादन हुँदा करिब ४०० देखि ५०० टन कपडाजन्य फोहोर निस्कने अनुमान छ ।
यसअघि एसियाली विकास बैंकले सन् २०१३ मा देशका ५८ नगरपालिकामा गरेको अध्ययनमा कुल फोहोरमध्ये कपडाको हिस्सा २ प्रतिशत मात्रै रहेको देखिएको थियो । त्यतिबेला देशभर दैनिक २८ देखि ३० टन कपडाजन्य फोहोर उत्पादन हुने अनुमान गरिएको थियो । अहिलेको उपत्यकाको तथ्याङ्कसँग तुलना गर्दा कपडाजन्य फोहोरको परिमाणमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यद्यपि, यी तथ्याङ्क फरक समय र अध्ययन पद्धतिमा आधारित भएकाले तिनलाई प्रत्यक्ष तुलनायोग्य मान्न सावधानी आवश्यक छ ।
फोहोर कपडाबाटै कच्चा पदार्थ उत्पादनको सम्भावना
कपडाजन्य फोहोर वातावरणीय प्रदूषणको विषय मात्र होइन, आर्थिक सम्भावनासँग पनि जोडिएको छ । प्रयोग भइसकेका कपडालाई उचित प्रविधिबाट प्रशोधन गर्न सके पुनः प्रयोगयोग्य सामग्री, फाइबर र धागो उत्पादन गर्न सकिन्छ । यसले ल्यान्डफिलमा जाने फोहोर घटाउनुका साथै उद्योगका लागि आवश्यक कच्चा पदार्थको केही हिस्सा स्वदेशमै उपलब्ध गराउन सहयोग पुर्याउन सक्छ ।
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार फालिएका कपडाबाट पुनः धागो र नयाँ कपडा उत्पादन गर्न निश्चित पूर्वाधार तथा प्रविधि आवश्यक पर्छ । उहाँले कपडाजन्य फोहोर संकलन गरी उच्च प्रविधियुक्त पुनर्चक्रण (रिसाइक्लिङ) प्लान्ट स्थापना गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताउनुभएको छ ।
उहाँका अनुसार पुनर्चक्रित फाइबरबाट धागो उत्पादन गर्न सके नेपालमा कपडा बनाउन आवश्यक पर्ने कच्चा पदार्थको आयात झन्डै ५० प्रतिशतसम्म घटाउन सकिने सम्भावना छ । यसका लागि कपडाजन्य फोहोरलाई बेकारको वस्तुका रूपमा मात्र नहेरी उपयोगी स्रोतका रूपमा व्यवस्थापन गर्ने प्रणाली विकास गर्न आवश्यक छ ।
कपडा जन्य फोहोर व्यवस्थापनमा नीतिगत रिक्तता
नेपालमा कपडाजन्य फोहोरलाई लक्षित गरी स्पष्ट कानुनी तथा व्यवस्थापकीय व्यवस्था छैन । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले सामान्य फोहोरको संकलन, व्यवस्थापन र स्रोतमै वर्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि कपडाजन्य फोहोरको छुट्टै वर्गीकरण तथा पुनर्चक्रणसम्बन्धी व्यवस्था पर्याप्त छैन ।
कपडाजन्य फोहोरको बढ्दो परिमाणलाई नियन्त्रण गर्न उपभोक्ताको व्यवहार परिवर्तनसँगै नीतिगत र संस्थागत पहल पनि आवश्यक देखिन्छ । प्रयोग गर्न मिल्ने कपडा अरूलाई हस्तान्तरण गर्ने, मर्मत गरेर पुनः प्रयोग गर्ने, कपडा संकलन केन्द्र स्थापना गर्ने र पुनर्चक्रण उद्योगलाई प्रोत्साहन गर्ने उपाय प्रभावकारी हुन सक्छन् ।
त्यस्तै, कपडा उत्पादक तथा विक्रेतालाई प्रयोगपछि फिर्ता संकलन गर्ने प्रणालीमा सहभागी गराउने, स्थानीय तहमा कपडाजन्य फोहोरको छुट्टै संकलन र वर्गीकरण गर्ने तथा पुनर्चक्रण प्रविधिमा लगानी बढाउनेतर्फ ध्यान दिन जरुरी छ ।
दसैँमा नयाँ कपडा लगाउने परम्परा आफैँमा समस्या होइन । आवश्यकताभन्दा बढी कपडा किन्ने, छोटो समयमै प्रयोग गर्न छाड्ने र पुनः प्रयोग गर्न सकिने कपडासमेत फाल्ने प्रवृत्ति भने वातावरणीय चुनौती बन्दै गएको छ । त्यसैले चाडपर्वमा कपडा किन्दा आवश्यकतालाई प्राथमिकता दिने, टिकाउ गुणस्तर रोज्ने र प्रयोग भइसकेका कपडालाई सम्भव भएसम्म पुनः प्रयोग गर्ने बानी विकास गर्नु कपडाजन्य फोहोर घटाउने व्यावहारिक सुरुवात हुन सक्छ ।
सस्तो कपडा किन्ने र छिट्टै बदल्ने प्रवृत्ति
कपडाजन्य फोहोर बढ्नुमा उपभोक्ताको बदलिँदो रुचि, बजारमा नयाँनयाँ फेसनको प्रवेश र सस्तो मूल्यमा धेरै कपडा किन्ने प्रवृत्तिले प्रभाव पारेको छ । बजारमा नयाँ शैलीका कपडा आउनेबित्तिकै पुराना कपडा प्रयोग गर्न छाड्ने बानीले पनि फोहोरको मात्रा बढाइरहेको छ ।
कीर्तिपुरकी आशा अधिकारी कपडा किन्दा दुई–तीन पटकसम्म लगाउन मिल्ने, किफायती र आकर्षक देखिने कपडा रोज्नुहुन्छ । तर, बजारमा नयाँ फेसन आएपछि आफूहरू पनि त्यतैतिर आकर्षित हुने उहाँको अनुभव छ ।
जनकपुरका अभिनाशकुमार ठाकुर पनि महँगा कपडाभन्दा सस्तो मूल्यमा उपलब्ध हुने कपडा किनेर फेरिफेरि लगाउन रुचाउनुहुन्छ । उपभोक्ताको यस्तो रुचिले कपडाको खपत बढाउनुका साथै प्रयोगपछि फालिने कपडाको परिमाणसमेत बढाइरहेको छ ।
ललितपुरका कपडा व्यापारी प्रदीप कार्कीका अनुसार ग्राहकहरू १ हजार ५०० रुपैयाँ पर्ने राम्रो गुणस्तरको एउटा कपडाभन्दा सोही मूल्यमा तीनवटा कपडा किन्न बढी इच्छुक देखिन्छन् । सुन्धाराकी कपडा व्यापारी उमा श्रेष्ठको अनुभव पनि यस्तै छ । उहाँका अनुसार ग्राहकहरू सस्तो मूल्यका कपडा किनेर छोटो समयमै नयाँ कपडा प्रयोग गर्न रुचाउँछन् ।
कम मूल्यमा धेरै कपडा उत्पादन तथा खरिद गर्ने र छिट्टै नयाँ फेसन अपनाउने यो प्रवृत्तिलाई ‘फास्ट फेसन’ भनिन्छ । यसले कपडाको उत्पादन र खपत बढाउनुका साथै प्रयोग अवधि छोट्याउने र अन्ततः फोहोरको मात्रा बढाउने जोखिम निम्त्याउँछ ।


141 पटक हेरिएको 

