
झापा : झापा र इलामका १० स्थानीय तहमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ।झापाका ६ र इलामका ४ स्थानीय तहलाई समेटेर आयोजित कार्यक्रममा तथ्याङ्कमा आधारित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माण र सेवालाई व्यवस्थित बनाउने सहमति जुटेको हो।
झापामा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा NWASH-MIS को महत्व, यसको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको वास योजना निर्माणमा तथ्याङ्कको उपयोग बारे छलफल गरिएको थियो।
NWASH-MIS ले स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको वर्तमान अवस्था पहिचान गर्न, तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गर्न र सेवा पहुँचमा रहेका कमी तथा चुनौती विश्लेषण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसबाट स्थानीय तहले वास्तविक आवश्यकता र उपलब्ध तथ्याङ्कका आधारमा योजना तथा बजेट तर्जुमा गर्न सक्नेछन्। साथै, सीमित स्रोत साधनलाई प्राथमिकताका आधारमा परिचालन गर्दै गुणस्तरीय र दिगो वास सेवा विस्तार गर्न सहयोग पुग्नेछ।

कार्यक्रममा खानेपानी कार्यालयका डिभिजन प्रमुख सुमन भट्टराईले वास क्षेत्रको योजना निर्माण र व्यवस्थापनलाई प्रभावकारी बनाउन भरपर्दो तथ्याङ्क आवश्यक रहेको बताउनुभयो। उहाँले NWASH-MIS को प्रभावकारी कार्यान्वयन, सम्बन्धित निकायबीचको समन्वय र स्थानीय तहको सक्रिय सहभागिताबाट तथ्याङ्कमा आधारित योजना निर्माण तथा दिगो सेवा व्यवस्थापनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, SNV नेपालका प्रदेश संयोजक रामप्रकाश सिंहले NWASH-MIS कार्यान्वयनका चरण तथा स्थानीय तहमा तथ्याङ्कमा आधारित वास योजना निर्माणको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुका साथै प्रदेश र स्थानीय सरकार बीच समन्वय तथा सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा.रजित ओझाले वास सेवाको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय, समावेशी र दिगो सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले स्थानीय तहको नेतृत्व, संस्थागत समन्वय र योजनाबद्ध कार्यान्वयनबाट वास सेवाको दिगो विकासमा योगदान पुग्ने बताउनुभयो।

कार्यक्रमको समापन कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयका उपसचिव रोशन थापाले गर्नुभएको थियो। कार्यक्रममा झापा र इलामका सम्बन्धित स्थानीय तहका अध्यक्ष तथा जनप्रतिनिधि, कर्मचारी, प्रदेश सरकारका प्रतिनिधि र अन्य सरोकारवालाहरू सहभागी थिए।
NWASH-MIS को प्रभावकारी कार्यान्वयनले स्थानीय तहमा वास क्षेत्रको योजना निर्माण, बजेट विनियोजन र सेवा व्यवस्थापनलाई तथ्याङ्कमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले सेवा पहुँचमा रहेका असमानता पहिचान गरी जलवायु उत्थानशील, समावेशी तथा दिगो खानेपानी र सरसफाइ सेवा विकासका लागि आवश्यक आधार तयार गर्नेछ।
समाचार तथा समन्वय: प्रदेश स्रोत व्यक्ति (PRP), कोशी प्रदेश


65 पटक हेरिएको 

