विपद्पछि पुरानै संरचना होइन, जलवायु उत्थानशील वास प्रणाली बनाउनुपर्नेमा जोड

  वास खबर सम्बाददाता  166 पटक हेरिएको
🔗
261
Shares

काठमाडौं : जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, खडेरी तथा अनियमित वर्षाजस्ता जोखिमलाई ध्यानमा राखेर सुरक्षित, दिगो र जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ प्रणाली निर्माण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

दियालो टेक्नोलोजिज प्रा.लि.ले आयोजना गरेको ‘WASH Connect–02’ भर्चुअल संवाद कार्यक्रममा सहभागी विज्ञहरूले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण मात्र पर्याप्त नहुने भन्दै भविष्यमा आउन सक्ने विपद्को सामना गर्न सक्ने खानेपानी तथा सरसफाइ प्रणाली विकास गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा दियालो टेक्नोलोजिजकी परियोजना प्रबन्धक मेलिना खनालले रसुवा–भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकीलगायत क्षेत्रमा हालैका बाढीले खानेपानी तथा सरसफाइ संरचनामा पारेको प्रभावबारे प्रस्तुति दिनुभएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले रसुवा–भोटेकोशी बाढीबाट मूल्याङ्कन गरिएका क्षेत्रमा खानेपानी तथा सरसफाइ संरचनामा करिब एक अर्ब ३८ करोड रुपैयाँको प्रारम्भिक भौतिक क्षति भएको जानकारी गराउनुभयो। ती संरचनाको पुनर्स्थापनाका लागि करिब दुई अर्ब सात करोड रुपैयाँ आवश्यक पर्ने अनुमान रहेको उहाँले बताउनुभयो।

जलवायु परिवर्तनले पानीका स्रोत र प्रणालीको दिगोपनमा चुनौती

जलवायु उत्थानशीलता तथा दिगो पूर्वाधार विज्ञ डा. रेशम जंग सिंहले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा गरिएको अनुसन्धान प्रस्तुत गर्दै जलवायु परिवर्तनले खानेपानीका स्रोत र आपूर्ति प्रणालीमा गम्भीर चुनौती थपिरहेको बताउनुभयो।

बढ्दो तापक्रम, अनियमित वर्षा, खडेरी, बाढी तथा पहिरोका कारण पानीका स्रोत सुक्ने, पानीको गुणस्तरमा ह्रास आउने र खानेपानी प्रणालीको दिगोपनमा समस्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।

उहाँका अनुसार अध्ययनमा मूल्याङ्कन गरिएका ३३८ पानीका स्रोतमध्ये ६३ प्रतिशतमा पानीको मात्रा घटेको पाइएको थियो। यसले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न पानीका स्रोतको नियमित अनुगमन, जोखिममा आधारित योजना निर्माण तथा स्थानीय तहको प्राविधिक क्षमता अभिवृद्धि आवश्यक रहेको देखाएको उहाँले बताउनुभयो।

जलवायु जोखिमको सामना गर्न सरकारी निकाय, स्थानीय तह र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

‘Build Back Better WASH’ अवधारणा कार्यान्वयन गर्नुपर्ने

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ परामर्शदाता तथा जलवायु उत्थानशील वास विज्ञ डा. दिनेश राज मानन्धरले विपद्पछि क्षतिग्रस्त खानेपानी तथा सरसफाइ संरचनालाई पुरानै अवस्थामा पुनर्निर्माण गर्नुको सट्टा भविष्यका जोखिम सामना गर्न सक्ने गरी सुधार गर्नुपर्ने बताउनुभयो।

विपद्पछि तत्काल सुरक्षित खानेपानी उपलब्ध गराउने, पानीको गुणस्तर परीक्षण गर्ने तथा जनस्वास्थ्यसम्बन्धी जोखिमको निगरानी गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। यसका लागि राहत तथा पुनर्स्थापनाका गतिविधिलाई एकीकृत रूपमा अघि बढाउँदै सम्बन्धित निकायबीच समन्वय प्रभावकारी बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

डा. मानन्धरले ‘Build Back Better WASH’ अर्थात् विपद्पछि अझ सुरक्षित र उत्थानशील वास संरचना निर्माण गर्ने अवधारणालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहमा वास उत्थानशीलता योजना निर्माण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोग, स्थानीय ज्ञानको उपयोग र निजी क्षेत्रको सहभागितालाई दीर्घकालीन समाधानका महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो।

विपद्पछिको आपत्कालीन व्यवस्थापनलाई राहत वितरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नराखी भविष्यमा हुन सक्ने विपद्का कारण खानेपानी तथा सरसफाइ सेवा अवरुद्ध हुन नदिने प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

आपत्कालीन वास बाट दीर्घकालीन उत्थानशीलतातर्फ

दियालो टेक्नोलोजिजका साझेदारी विभाग प्रमुख कैलाश शर्माले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम मासिक रूपमा सञ्चालन हुँदै आएको ‘WASH Connect’ संवाद शृङ्खलाको दोस्रो संस्करण हो।

कार्यक्रमले विपद्का समयमा तत्कालीन आवश्यकता पूरा गर्ने आपत्कालीन वास व्यवस्थापनबाट दीर्घकालीन जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ प्रणाली निर्माणतर्फ अघि बढ्नुपर्ने साझा आवश्यकता उजागर गरेको छ।

यस पहललाई थप परिणाममुखी बनाउन दियालो टेक्नोलोजिजले आगामी दिनमा सरकारी निकाय, स्थानीय तह, विकास साझेदार, अनुसन्धानकर्ता, निजी क्षेत्र तथा अन्य सरोकारवालाको सहभागितामा बहुसरोकारवाला कार्यशाला आयोजना गर्ने योजना बनाएको छ।

उक्त कार्यशाला मार्फत ‘Emergency WASH to Resilient WASH Framework’ अर्थात् आपत्कालीन वास व्यवस्थापनबाट जलवायु उत्थानशील वास प्रणालीतर्फ रूपान्तरणका लागि आवश्यक रूपरेखाको प्रारूप तयार गर्ने लक्ष्य राखिएको छ।

दियालो टेक्नोलोजिजले मासिक ‘WASH Connect’ संवाद शृङ्खला मार्फत ज्ञान, अनुसन्धान, व्यावहारिक अनुभव र नीतिगत छलफललाई निरन्तर जोड्दै नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रको दिगोपन र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउने जनाएको छ।

‘From Emergency WASH to Resilient WASH: Lessons from the Recent Floods in Nepal’ विषयमा शुक्रबार आयोजित कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य सरोकारवालासहित २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार