
काठमाडौ : नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुभएको हो ।
घोषणा अघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले स्वागत मन्तव्य व्यक्त गर्दै आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइ मार्फत स्वच्छ र स्वस्थ नेपाल निर्माण गरिने बताउनुभयो ।
उहाँका अनुसार सन् १९८० मा २ प्रतिशत नेपालीको घरमा मात्र रहेको चर्पी सन् २०१० मा ४३ प्रतिशत पुगेको थियो । सन् २०११ मा सरसफाइ गुरुयोजना निर्माण गरी कार्यान्वयन भएपछि २०१९ सम्म आधारभूत सरसफाइमा शतप्रतिशत प्रगति हासिल गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले सन् २०११ बाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।
घोषणा समारोहमा कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश २ बाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, विभिन्न जिल्लाका डिवाससीसी अध्यक्षहरु, पूर्व सचिवहरु सहभागी हुनुहुन्थ्यो ।


3248 पटक हेरिएको 

