सरसफाइ सूचक पूरा गरेका घरलाई सरसफाइ परिचयपत्र, ७ घरले पाएनन्

🔗
25
Shares

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ को माधवपुर सप्तरंगी टोलमा सरसफाइ परिचय पत्र वितरण गरिएको छ । सरसफाइको सूचक पूरा गरेका ४१ घरलाई वडाध्यक्ष दयाराम वैद्यले सरसफाइ परिचयपत्र वितरण गर्नुभएको हो । सरसफाइको सूचक पूरा नगरेका ७ घरले भने परिचय पत्र पाएनन् ।

वडा कार्यालयबाट वितरण गरिने सरसफाइ परिचय पत्र पाउनका लागि शौचालयको समुचित प्रयोग गरेको, सुरक्षित खाना खाने गरेको, व्यक्तिगत सरसफाइमा ध्यान दिएको, वातावरणीय सरसफाइ गर्ने गरेको, सार्वजनिक स्थानको सरसफाइमा भाग लिई सफा सुग्घर राख्ने गरेको र सुरक्षित पानीको प्रयोग गरेको जस्ता सूचक पूरा गरेको हुनुपर्छ । वडा कार्यालयले अनुगमन गर्दा सरसफाइका ६ वटा सुचकहरु शत प्रतिशत पूरा गरेको घरपरिवारले मात्र सरसफाइ परिचय पत्र पाउने टोल समितिका अध्यक्ष विष्णु प्रसाद पुरीले जानकारी दिनुभयो । परिचय पत्र पाउन योग्य नभएका घरपरिवारलाई सरसफाइका सबै सूचक पूरा भएपछि उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।

माधवपुर सप्तरंगी टोलबाट सुरु गरिएको परिचय पत्र वितरणको काम वडाको अन्य टोलमा पनि विस्तार गरिने १ नं. वडाका अध्यक्ष दयाराम वैद्यले जानकारी दिनुभयो । गेरुवा गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउने नीति अन्तर्गत आफ्नो वडामा सरसफाइको सूचक पूरा गरेका घरपरिवारलाई परिचय पत्र वितरण गर्दै लगिने उहाँले बताउनुभयो ।

वडाभित्र रहेका सबै घरधुरीले सरसफाइ परिचयपत्र पाएपछि पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने गाउँपालिकाको निर्णय छ । सरसफाइ परिचयपत्र प्राप्त गरेका घरधुरीलाई स्थानीय सरकारबाट प्रवाह गरिने सेवा सुविधामा समेत प्राथमिकता दिईने गाउँपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार