
तारा बाबु खाती, बर्दिया : प्रदेश नं. ५ का भूमी तथा कृषि सहकारी विकास मन्त्री आरती पौडेल भोजनमा बनेका परिकार देखेर मुस्कुराउँदै हुनुहुन्थ्यो । ‘यही हो प्रगति र नयाँ सोच अनि आर्थिक उन्नतिको माध्यम’ उहाँले भन्नुभयो ।
प्रसंग हो लक्ष्मणपुरमा सञ्चालित होम स्टेको उदघाटन कार्यक्रम पछिको जलपान कार्यक्रमको । बर्दियाको वासगढी नगरपालिका वडा नं. ४ र ५ समेटेर बनेको लक्ष्मणपूर सरसफाइको नमूना गाउँ बनेपछि होम स्टे सञ्चालन गर्न सुरु गरिएको हो । लक्ष्मणपुर सामुदायिक होम स्टे समितिले आयोजना गरेकोे होम स्टे उदघाटन कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो ‘वाँसगढी नगरपालिका बजार क्षेत्रवाट नजिकै रहेको समुदाय हेर्दा पनि आर्कषक देखिन्छ, स्थानिय उत्पादनवाट वनेका परिकारहरु खानामा राखी होम स्टेले अझ बढी सम्भावित जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ ।’

मन्त्री पौडेलले होम स्टेको सम्भावनाका बिषयमा बताईसकेपछि वासगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले होम स्टे सञ्चालनका लागि धेरै ठाउँमा प्रस्ताव तथा सहयोगको प्रक्रिया अगाडि वढेको बताउनुभयो । उहाँले स्थानीय सामग्री उत्पादनका लागि पनि आवश्यक सहयोग गरी अगाडि वढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्ष्मणपूरमा हाल सम्ममा ६ वटा होम स्टे सञ्चालन भएका छन भने ६ वटा होम स्टे सञ्चालनको तयारीमा छन् ।
लक्ष्मणपुरमा विगत छ महिना देखि GSF/UN Habitat को सहयोग तथा आई. डि. एस. नेपाल, मायुस वर्दियाको सहजीकरणमा सञ्चालित पूर्ण सरसफाइ अभियान सफल उन्मुख रहेको छ । समुदायले सुरक्षित शौचालय, शुद्घ पिउने पानी, सुरक्षित खाना, व्यक्तिगत सरसफाइ, घरायसी सरसफाइमा विशेष ध्यान दिन थालेका छन् । यस्तै छुट्टै हात धुने स्थान निर्माण गरेको, चाङ्ग, जुठेल्ना, फोहोर मलाईको निर्माण गरेको, गोठ व्यवस्थापन पनि गरिएको छ । सरसफाइ समितिले घरै पिच्छे अनुगमन फाराम राखी १५/१५ दिनमा अनुगमन गरी स्टिकर समेत टाँस गरेको छ । साथै वडा तथा नगरपालिकावाट अनुगमन गरी स्व—घोषणा गर्न सकिने निर्णय गरेको छ ।

होम स्टेको उदघाटन कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश नं. ५ का भूमी तथा कृषि सहकारी विकास मन्त्री आरती पौडेल, विशिष्ठ अतिथि एवं प्रदेश नं. ५ का सांसद कविराम थारु र भुवनेश्वर चौधरी, वासगढी नगरपालिकाका प्रमूख शालिकराम अधिकारी, उप प्रमुख सुस्मा चौधरी एवं वडाध्यक्षहरु र कर्मचारी तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।



1728 पटक हेरिएको 

