सफाई कर्मचारीलाई शौचालय सरसफाइ सम्वन्धी तालिम

🔗
3
Shares


काठमाडौ : कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीलाई शौचालय सरसफाइ सम्वन्धी तालिम र सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ । कीर्तिपुर नगरमा रहेका सार्वजनिक शौचालयको वर्तमान अवस्थाको सुधार गर्ने, शौचालयमा काम गर्ने कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाउने र सरसफाइमा काम गर्दा कर्मचारीहरुको व्यक्तिगत सरसफाइ र सुरक्षा सम्वन्धी अवगत गराउने उद्देश्यले तालिम दिईएको हो । गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । तालिम गुथि र वाटर एड नेपालको सहकार्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको हो ।

सार्वजनिक शौचालय नगरको सरसफाइ र स्वच्छ वातावरण कायम गर्न महत्वपूर्ण अंग भएपनि सार्वजनिक शौचालयमा उचित व्यवस्थापन, सही पुर्वाधार तथा दक्ष तालिम प्राप्त सञ्चालकको कमीका कारण शौचालयको अवस्थामा नाजुक रहेको सल्लाहकार अमात्यले बताउनुभयो ।

एरोसान सस्टेनेबल स्यानिटेसन र संयुक्त राष्ट््र अमेरिकाको टेम्पल विश्वविध्यालयले काठ्माडौंको शौचालयमा गरेको अध्ययनले शौचालयमा प्रयोगकर्ताको संख्या बढे सँगै हानिकारक सूक्ष्मजीवको कोलोनीको संख्या बढ्दै गएको र समय समयमा सही तरिकाले शौचालयको सरसफाइ नगरे यसले स्वास्थ्यमा नकारात्मक असर पर्ने औल्याएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई कम गराउन पनि सरसफाइमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

तालिमका प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै कीर्तिपुर नगरपालिकाका स्वास्थ्य, वातावरण, वन, फोहरमैला व्यवस्थापन समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष हर्ष महर्जनल कीर्तिपुर नगरपालिकाले पहिलो पटक सरसफाइकर्मी सँग बसेर कार्यक्रम गरिरहेको बताउनुभयो । ‘तपाईहरुको सहकार्यका कारण कीर्तिपुर नगरपालिका सफा र हराभरा बनेको छ । तर यसले मात्र पुग्दैन । कीर्तिपुर नगरमा पाहुना आउँदा शौचालय कहाँ, कति टाढा छ भनेर जानकारी दिन सके र शौचालय व्यवस्थित र राम्रो सरसफाइ भएमा पाहुनाहरु अझ धेरै समय बस्थे होला । कीर्तिपुर नगरमा आउन ुहुने पाहुनाहरु “आहा कति राम्रो” भनेर गए अझ राम्रो ।’ उहाँले भन्नुभयो ।

समाजमा सरसफाइको काम निश्चित जातका मानिसले मात्र गर्ने परम्परा रहेको र उनीहरुलाई फरक तरीकाले हेर्ने गरिएको भन्दै गुथिका सल्लाहकार प्रकाश अमात्यले यो पुरातन सोचलाई परिवर्तन गर्न र सरसफाइकर्मीहरुको क्षमता अभिवृद्धि गर्न र उनीहरुको पेशागत दक्षता बढाउन पनि तालिम प्रदान गरउिको बताउनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका ज्ञान बज्र महर्जनले स्वास्थ्यको लागि सरसफाइ र शौचालयको महत्वको बारेमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले शौचालय तथा सरसफाइमा काम गर्दा आफूहरुलायृ सुरक्षित राख्न अपनाउनुपर्ने सावधानीका बारेमा बताउनुभयो ।  कार्यक्रमको अन्त्यमा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले नगर सफा गर्न सरसफाइकर्मीहरुको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कीर्तिपुर नगरपालिकाले नगर सभाद्वारा सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन पारित गरिसकेको छ । मार्गदर्शन अन्तर्गत रहेर सार्वजनिक शौचालयमा काम गर्ने कर्मचारीहरुलाई शौचालय सरसफाइ सम्वन्धी तालिम दिईएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार