पूर्ण सरसफाइका लागि टोलबासी जुटे, बैनाथपुर सरसफाइ मुल समिति गठन

🔗
14
Shares

सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १ स्थित बैनाथपुरका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाई टोल बनाउनका लागि एकजुट भएर लाग्ने निर्णय गरेका छन् । इश्वरपुर नगरपालिका वडा नं. १ का वडा सदस्य रामबली साहको अध्यक्षतामा शनिबार बसेको टोलवासीहरुको भेलाले उक्त निर्णय गरेको हो । भेलाले जयकुमारी राउतको अध्यक्षतामा बैनाथपुर सरसफाइ मुल समिति गठन गरेको छ । वहाँका अनुसार अब छिट्टै नै समितिको बैठक बसी कार्ययोजना निर्माण गरेर पूर्ण सरसफाइका लागि अभियान सञ्चालन गरिनेछ ।

“आफ्नो घर र आफ्नो टोल सफा राख्नु भनेको रोग भित्रिन नदिनु हो ।” वडा सदस्य साहले भन्नुभयो “सरसफाइमा ध्यान दिनाले व्यक्ति, घर र समुदायको सुन्दरता बढ्ने मात्र नभई स्वास्थ्य उपचारका नाममा खर्च हुने पैसामा समेत बचत हुन्छ ।”

सोही भेलामा टोलबासीलाई सम्झाउँदै शिक्षक रामनरेश रामले सरसफाइ मानिसको बानी व्यवहार र आचरणसँग गाँसिएकाले टोललाई सफा बनाई सभ्यताको परिचय दिनुपर्ने बताउनुभयो । दलित समुदायको बाहुल्यता रहेको बैनाथपुरमा जम्मा ३९ घरपरिवार रहेको पूर्ण सरसफाइ सहजकर्ता प्रमोद चौधरीले बताउनुभयो ।

सरसफाइ सम्बन्धी अभियान सञ्चालन गरी टोललाई पूर्ण सरसफाइ बनाउने लक्ष्यका साथ आयोजना गरिएको भेलामा सोही वडाकी महिला वडा सदस्य गोरखी देवी रामले समेत टोललाई पूर्ण सरसफाइ बनाउन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सहजकर्ता चौधरीका अनुसार उक्त टोलमा खुला दिसामुक्त अभियानका समयमा चर्पी निर्माण भए पनि सबै घरमा चर्पीको समुचित प्रयोगमा कमी आएको छ भने खानेपानी र सरसफाइको अवस्था दयनीय छ ।

“बैनाथपुरबासीले पूर्ण सरसफाइ टोल बनाउन देखाउनुभएको तत्परता प्रशंसनीय छ ।” पूर्ण सरसफाइको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको बागमती सेवा समाजका टिम लिडर गजेन्द्र साहले भन्नुभयो “टोललाई पूर्ण सरसफाइयुक्त बनाउन परियोजनाले प्रविधि सहजीकरणमा सहयोग पुर्‍याउँछ ।”

टिम लिडर साहका अनुसार बागमती सेवा समाजले युएन ह्याविट्याटको साझेदारीमा सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका, हरिवन नगरपालिका र बासबरिया गाउँपालिकामा पूर्ण सरसफाइको कार्यक्रम संचालन गरिरहेको छ । “परियोजना अन्तर्गत स्थानीय तहसँग मिलेर प्रत्येक वडामा नमूना सरसफाइ टोल र नमूना सरसफाइ विद्यालय बनाउन प्राविधिक रुपमा सहयोग गरिरहेका छौं ।” टिम लिडर साहले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार