बाहिरै पिसाब फेर्ने बानी छ ? २० रुपैयाँ तिर्नुपर्ला नि !

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाहिर दिसा गरेमा ५० रुपैयाँ जरिवाना तिराईन्छ ।

पूर्ण सरसफाइ कार्यक्रमका पालिका संयोजक सुरेन्द्र लामिछाने, पूर्ण सरसफाइ सहजकर्ता रमिता तामाङ र नमूना समुदायकी संयोजक रुपा लामिछाने लगायत समुदायका सदस्यहरु, नमूना समुदायको विविध पक्षका बारेमा छलफल गर्दै ।

मदिरा सेवन गरी होहल्ला गरेमा झनै कडा नियम जारी गरिएको छ । त्यस्तो व्यक्तिले ५०० रुपैयाँ तिर्नुपर्ने र त्यस्तो क्रियाकलाप बारे सूचना दिने व्यक्तिलाई जरिवानाको आधा रकम प्रोत्साहनको रुपमा उपलब्ध गराईने उल्लेख छ ।

समुदायलाई सरसफाइमा नमुना बनाउने उद्देश्यले समुदाय आफैले यस्तो नियम बनाएको हो । २०७६ साल मंसिर ६ गते शुक्रबारको आम भेलाले अनुमोदन गरेपछि नियम लागु भएको नगरकोट फेदी नमुना समुदायकी संयोजक रुपा लामिछानेले बताउनुभयो । सरसफाइ सम्बन्धी नियम जारी गरेपछि बस्तीलाई सफा र स्वच्छ राख्न मद्दत मिलेको उहाँले बताउनुभयो । ‘बस्तीमा प्रवेश गर्ने बिन्दुमा सबैले देख्ने गरी नीति नियम टाँसेका छौं, नियम हेरेपछि सबै जना सजग हुन्छन्’ लामिछानेले भन्नुभयो ‘यो नियमले बस्तीमा जथाभावी फोहोर फाल्ने बानी हटेको छ ।’

बस्तीमा जथाभावी प्लाष्टिकको टुक्रा फ्याँक्न नपाईने नियम मात्र बनाएको छैन समुदायले । प्लाष्टिकको टुक्रा विसर्जन गर्न सडकको ठाउँ ठाउँमा टोकरी, बोरा वा डोकोको व्यवस्था पनि गरिएको छ ।

फोहोर जम्मा गर्न सडकको किनारामा राखिएको डोको

बस्तीको बीचैमा सामुदायिक विद्यालय भएपनि वरिपरि कागजका टुक्रा र प्लाष्टिक देखिदैन । स्कुलमा अध्ययनरत आफ्ना विद्यार्थीलाई फोहोरमैला व्यवस्थापनका बिषयमा सचेतना अभिवृद्धि गराईरहेको र बाहिर फोहोरमैला गर्न नदिएको श्री नगरकोट आधारभूत विद्यालयका सरसफाइ सहजकर्ता शिक्षक जनक खत्रीले बताउनुभयो ।

‘फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने शिक्षा हामीले विद्यार्थीलाई बारम्बार दिने गरेका छौं, विद्यार्थी आफैले बानी व्यहोरा परिवर्तन गर्ने त छँदैछ, उनीहरु सरसफाइ शिक्षाका संवाहक पनि हुन् उनीहरुले घर परिवारको सदस्यको आनीबानीमा समेत रुपान्तरण गर्न सक्छन्’ शिक्षक खत्रीले भन्नुभयो । नमुना बस्तीमा ६२ घर समेटिएका छन् ।

नमूना समुदायको बीचमा रहेको श्री नगरकोट आधारभूत विद्यालय

चाँगुनारायण नगरपालिकाले २०७८ पुस मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन ‘पूर्ण सरसफाइ रणनीतिक योजना – २०७५’ जारी गरी कार्यान्वयन गरिरहेको छ । नगरपालिकाले तोकिएको समयभित्रै पूर्ण सरसफाइ उन्मुख नगर बनाउने लक्ष्य हासिल गर्न ग्लोबल स्यानिटेसन फण्ड/युएन ह्याबिटाट सँगको साझेदारीमा पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

नमुना समुदायले पालना गर्नुपर्ने आचारसंहिता

सरसफाइमा नमुना बस्तीको रुपमा विकास गर्न समुदायले बनाएको आचारसंहिता यस्तो छ ।

 प्रत्येक घरपरिवारले चर्पीको नियमित प्रयोगका साथै चर्पी भित्र हार्पिक, ब्रस, चप्पल र पानी अनिवार्य राख्नेछौं ।

 प्रत्येक घरधुरीले व्यक्तिगत सरसफाइमा नियमित ध्यान दिने ।

 जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन साबुन पानी अनिवार्य राख्नेछौं ।

 महिनावारी स्वच्छता सम्बन्धी ज्ञान र व्यवहार अबलम्बन गर्नेछौं ।

 सुरक्षित पानी प्रयोग गर्ने र घरायसी तहमा पानी शुद्धिकरण गरी पिउनेछौं ।

 सबै घरधुरीमा सुरक्षित खानाको प्रयोग गर्नेछौं ।

 फोहोरलाई कुहिने र नकुहिनेमा बर्गीकरण गर्नेछौं ।

 ठोस तथा तरल फोहोर उचित व्यवस्था गर्नेछौं ।

 सुधारिएको चुलो अनिवार्य प्रयोग गर्नेछौं ।

 भाँडा माझ्ने स्लाब र भाँडा सुकाउने चाङ बनाउनेछौं ।

 करेसाबारीको निर्माण, व्यवस्थापन र उपयोग गर्नेछौं ।

 जैविक खेती, अर्गानिकलाई प्रबद्र्धन गर्नेछौं ।

 घरभित्र र बाहिरको वातावरण सधैं सफा राख्नेछौं र उक्त ठाउँबाट निस्केको फोहोरमैलालाई बर्गीकरण सहित व्यवस्थापन गर्नेछौं ।

 सफा, स्वच्छ, वातावरण सहितको समुदाय बनाउनेछौं ।

 नमुना समूहले मासिक बचत गरी सरसफाइ प्रबद्र्धन कार्य गर्नेछौं ।

 सरसफाइका साथै कृषि, पशुपालन, पर्यटन, संस्कृति प्रद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य रहनेछ ।

 यस नमुना फेदी समुदायमा फोहोरमैला गर्नेलाई र आचार संहिता पालना नगर्नेलाई देहाय बमोजिमको सजायको व्यवस्था गर्नेछौं ।

 प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ, बाहिर दिसा गरेमा ५० रुपैयाँ, मदिरा सेवन गरी होहल्ला गरेमा ५०० रुपैयाँ

चाँगुनारायण नगरपालिका वडा नं. ६ स्थित नमूना समुदाय नगरकोट फेदी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार