हात धुनु भनेको त खोप लाउनु जस्तै रहेछ

🔗
7
Shares

एक जना व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो ‘सरकार एक महिना लकडाउन गर्ने हो भने कमाई जत्ति त साबुनमै सकिने रहेछ ।’ त्यसभन्दा अघि नै अर्का एक जनाले हात धुँदा – धुँदा हातको चक्र नै मेटिने डर भयो भनेर लेख्नुभएको थियो ।

उल्लेखित कुराहरु त्यत्तिकै आएका भने होइनन् । केही व्यंग्य मिश्रित होला ? तर अघि पछि खासै हात नधुने मानिसहरुले अहिले कोरोनाको डरले भए पनि साबुन पानीले हात धुन थालेका प्रमाण हुन् ।

बिगतमा साबुन पानीले हात धुने कुरा गर्दा मैला भएपछि आफैले धोई हालिन्छ नि, हात धुन पनि सिकाउनुपर्छ भन्ने हामी नै हौं । हात धुनुपर्छ भन्ने थाहा भएका तर हात नधुने जमात अहिले पनि कति छन् कति ?

अहिले बुझ्दा हात धुनु भनेको पनि खोप लगाउनु जस्तै रहेछ । नियमित रुपमा साबुन पानीले हात धोईरहे हातको माध्यमबाट फैलिन सक्ने रोगहरु फैलिन नपाउने रहेछ । यत्ति कुरा बुझेपछि अब कोरोनाको त्रास हुँदा मात्र होइन अरु अवस्थामा पनि हात धोइन्छ, धोइन्छ ।

यही प्रसंगमा बाल्यकालको कुरा सेयर गर्न मन लाग्यो । अहिले जस्तो काँटा चम्चाको चलन थिएन । त्यसैले खाना खानु अघि अनिवार्य हात धुनुपर्ने चलन थियो । हात धोइएन भने आमाले भात दिनुहुन्थेन । त्यसैले खान पाक्न साथ हात धोएर अगेनाको डिलमा बसेर भात कुरिरहेका हुन्थ्यौं । जे होस् भात पाउनकै लागि भए पनि पानीले हात भिजाइन्थ्यो ।

खाना खानका लागि हात धुनुपर्छ भन्ने बुझाईबाट हुर्के बढेपछि मैले हात मैलो भएपछि धुने हो भन्ने बुझ्न थालें । हातमा कत्लै कत्ला हुने गरी मैलो पथ्र्यो त्यो बेला । कहिले त तातो पानीले ढुङ्गाले रगट्दै धोईन्थ्यो । दिनहुँ दुई चार पटक धोए पो मैलो पनि पर्दैन थियो होला ? भात पाउनका लागि मात्र हात पानीमा छम्काउने त्यो बेला कहिले हप्ता दिनमा तातो पानीमा डुबाएर ढुङ्गाले घोट्दा चर्चरी रगत निस्कन्थ्यो ।

तर हात त बारम्बार धोइरहनुपर्ने रहेछ । फोहोर हातबाट विभिन्न किसिमको संक्रमण फैलिन सक्ने भएकाले खाना बनाउनु, खानु र खुवाउनु अघि चर्पीको प्रयोग गरिसकेपछि, बच्चाको दिसा धोएपछि, फोहोर छोएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्दोरहेछ । यो कुरा पछि मात्र थाहा पाए पनि यसको खासै व्यवहारिक अभ्यास भने गरिएन ।

तर हरेक बर्षअक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउँदा समेत यसको खासै आवश्यकता छैन भनेर हिडिन्थ्यो । यसको विरोध गर्ने साथीलाई साथ दिदै कहिलेकाहीं त ‘यो एनजिओहरुको काम छैन, हात धुन पनि सिकाउँदै हिड्छ पनि भनियो होला ?’

हुन पनि विभिन्न संघसंस्थाबाट खटिने साथीहरुले हात धुने तरिका सिकाउनुहुन्थ्यो । हात कति बेला धुने ? अनि हात कसरी धुने भन्ने बारे प्रदर्शन नै गरेर सिकाउँथ्यो । र पनि उनीहरुकै लागि भेला भईदिए जस्तो, उनीहरुकै लागि गरिदिनुपर्ने जस्तो व्यवहार देखाईन्थ्यो । नेपालमा खुला दिसामुक्त अभियानको क्रममा होस् वा पूर्ण सरसफाइ अभियानमा विभिन्न संघसंस्थाहरुले साबुन पानीले हात धुने कुरालाई जोड दिएका छन् र आज पर्यन्त पनि यो क्रम जारी छ ।

तर आज बल्ल बुझ्दैछु । हात धुनु भनेको हाम्रै लागि रहेछ । कोरोना जस्तो महामारीबाट बच्नका लागि हात धुनु जस्तो अर्को उपाय रहेनछ । विश्व स्वास्थ्य संगठनले समेत कोरोनाबाट बच्नका लागि नियमित साबुन पानीले हात धुनका लागि आव्हान गरिएको रहेछ । यसअघि बेला बखत मात्र हात धुने म लगायत अन्य मानिसहरु अहिले साबुन पानीले मिचीमिची हात धोईरहेका छन् ।

हात धुनु भनेको व्यक्तिगत सरसफाइसँग जोडिएको बिषय त हो नै, यो सभ्यता जोडिएको बिषय पनि रहेछ । धेरैजसो रोगहरु हातको माध्यमबाट फैलिने कुरा पनि बल्ल बुझ्दैछु । कुनै कुरा नचेतीकन प्रयोगमा ल्याउँदैनन् भन्ने कुरा अहिलेको कोरोना महामारीले पनि पुष्टि गरिसकेको छ । नत्र हिजोसम्म हात नधुने मानिसहरुमा आज किन एकाएक बदलाव आयो ? कारण हो कोरोना महामारी ।

कोरोना लागेर मर्नु भन्दा हात धुने र कोरोना संक्रमण हुनबाट बच्ने चेत आएको देखिन्छ मानिसमा । अब के कोरोनाको त्रास हुन्जेलसम्म मात्र हात धुने त ? भोलि कोरोनाको भय समाप्त भएपछि हात धुनै छाड्ने ? अहिलेको टड्कारो प्रश्न यही हो ।

अतः हामीले के चाहिं बुझ्न जरुरी रहेछ भने कोरोना लाग्नबाट बच्न मात्र होइन, अन्य विभिन्न रोगहरुबाट बच्न पनि हामीले नियमित रुपमा साबुन पानीले हात धुनैपर्छ । खाना बनाउनु, खानु र खुवाउनु अघि चर्पीको प्रयोग गरिसकेपछि, बच्चाको दिसा धोएपछि र फोहोर छोएपछि मात्र होइन अरु अवस्थामा पनि साबुन पानीले मिचिमिची हात धुन आवश्यक छ । रोग लागिसकेपछि खाइने औषधीले रोग निको पार्न पनि सक्छ, नपार्न पनि सक्छ । तर कुनै पनि रोग विरुद्धको खोप लगायो भने त्यो रोग लाग्ने जोखिम धेरै कम हुन्छ । जसरी जन्मेको पाँच बर्षभित्र बिसिजी, डिपीटी, पोलियो लगायतका खोपहरु लगाईन्छ ।

अहिले बुझ्दा हात धुनु भनेको पनि खोप लगाउनु जस्तै रहेछ । नियमित रुपमा साबुन पानीले हात धोईरहे हातको माध्यमबाट फैलिन सक्ने रोगहरु फैलिन नपाउने रहेछ । यत्ति कुरा बुझेपछि अब कोरोनाको त्रास हुँदा मात्र होइन अरु अवस्थामा पनि हात धोइन्छ, धोइन्छ ।

अतः तपाई पनि आफै सँग प्रण गर्नुहोस् ‘कोरोनाको त्रास भएको बेला मात्र होइन, अरु अवस्थामा पनि साबुन पानीले मिचीमिची हात धुनेछु’ भनेर ।

दिक्पाल गिरी/वास खबर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार