कीर्तिपुर : काठमाडौको कीर्तिपुर नगरपालिका क्षेत्रमा पनि स्पर्श रहित हात धुने स्टेशन जडान गरिएको छ । बायाँ प्याडल दबाउँदा साबुनको झोल आउने, दायाँ प्याडल दबाउँदा पानी आउने, प्याडल दबाउन छोड्दा पानी वा साबुन बन्द हुने र हातले छोईरहनु नपर्ने, स्पर्श रहित हात धुने स्टेशनको विशेषता हो । वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले कीर्तिपुर नगरपालिकाको ४ स्थानमा स्पर्श रहित हात धुने स्टेशन जडान गरिएको हो । हात धुने स्टेशनको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सुरुवात गर्नुभयो ।

कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर नगरपालिकाको कार्यालय भवन अगाडि, फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजार अगाडि स्पर्श रहित हात धुने स्टेशन जडान गरिएको हो । यस बाहेक कीर्तिपुर पाँगा दोबाटो, नगाउँ दोबाटो र ढोकाशी टोल स्थित खाना वितरण गर्ने स्थानमा गरी थप ३ स्थानमा पनि स्पर्श रहित हात धुने स्टेशन स्थापना गरिनेछ ।
यी हात धुने स्टेशन कीर्तिपुर नगरपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापनमा काम गर्ने मजदुर कर्मचारी, सुरक्षाकर्मी र निःशुल्क खाना खुवाउने स्थानलाई लक्षित गरेर छनौट गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । हाल कोभिड संक्रमणको जोखिम स्वास्थ्यकर्मी पछि फोहोरमैला जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने कर्मचारीमा बढी देखिन्छ । कीर्तिपुरमा १०० भन्दा बढी फोहोरमैलामा काम गर्ने सफाई मजदुरहरुको समुदाय रहेको छ ।

सावुन पानीले हात धुनु रोकथामको उपाय : मेयर महर्जन
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कोभिड–१९ को संक्रमणको लहर रोक्न सावुन पानीले हात धुने कार्य एक अत्यावश्यक रोकथामको उपाय भएको बताउनुभएको छ । स्पर्श रहित हात धुने स्टेशनको सुरुवात गर्दै मेयर महर्जनले धारा नछोई हात धुने प्रविधि एक सह्रानीय कदम रहेको र यसले सतहबाट फैलिने विभिन्न संक्रमण कम गर्ने बताउनुभयो ।
हाल कोभिड–१९ बाट बच्ने सवै भन्दा प्रभावकारी उपाय भनेको सावुन पानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको हो ।
कार्यक्रममा उपमेयर सरस्वती खड्काले भन्नुभयो ‘कीर्तिपुरको ७ स्थानमा नमुनाको रुपमा स्पर्श रहित हात धुने स्टेशन जडान गर्न पाउँदा यसले सेवा मात्र प्रदान नगरी व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धिमा समेत टेवा पुर्याउँछ । यस कार्यक्रमलाई अझ व्यापक बनाउने नगरपालिकाको योजना रहेको छ ।’

अहिले लक डाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरु र सर्वसाधारणका लागि स्पर्श रहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ । स्थापना पश्चात आगामी ३ महिना सम्म यही स्टेसनहरुमा दिनहुँ पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा निजी सेवा प्रदायकबाट गुथिले गर्नेछ ।
प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिका, सम्बन्धित वडा कार्यालय र समुदायले लिने सर्त सहित एक सम्झौतामा नगरपालिका, गुथि र वाटर एड नेपाल बीच हस्ताक्षर भएको छ । यो प्रविधिको निरन्तरता र दिगोपनालाई कायम गर्न सके हात धुने बानीलाई व्यापकता ल्याउन सकिने र जनस्वास्थ्य प्रति संवेदनशील हुने तथा कोभिड–१९ जस्ता महामारीबाट रोकथाम गर्न सकिने कुरामा विश्वस्त हुन सकिनेछ ।
वाटर एडको आर्थिक सहयोगमा यस अघि काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका र सिरहाको लहान नगरपालिकाको विभिन्न ठाउँमा स्पर्श रहित हात धुने स्टेशन जडान भईसकेको छ ।




2004 पटक हेरिएको 

