
सर्लाही : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा देशको हरेक गतिविधि ठप्प छ । तर सरसफाइ क्षेत्र भने यही अवधिमा अझ चलायमान भएको छ । लकडाउनका कारण परिवर्तित दैनिकीमा सरसफाइले उर्जा थपेको बागमती सेवा समाज नेपालका टिम लिडर गजेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार लकडाउनकै अवधिमा सर्लाहीको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा २ सय ४० घरधुरीमा हात धुने स्थान र भाँडाकुँडा सुकाउने चाङ निर्माण गरिएको छ ।
ग्लोबल स्यानिटेशन फण्ड/यूएनह्याविटाटको सहयोगमा वाग्मती सेवा समाज सर्लाहीद्वारा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत लकडाउन अवधिमै सामूहिक तथा व्यक्तिको घर घरमै गएर १० हजार बढीलाई साबुन पानीले हात धुन सिकाइएको टिम लिडर साहले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको साबुन पानीले हात धुने बानी हो भन्ने कुरा वैज्ञानिक रुपमा पुष्टि भएकाले सर्वसाधारणलाई साबुनपानीले हात धुन सिकाउने अभ्यासलाई पनि संस्थाले अभियानकै रुपमा सञ्चालन गरिरहेको साहले जानकारी दिनुभयो ।
स्थानीय सरकारसँग समन्वय गरी कोरोनाबाट प्रभावित व्यक्तिलाई राहत वितरण गर्ने कार्यमा पनि सहयोग गरिएको र राहत वितरण स्थानमा साबुन पानीले हात धुने ठाउँ स्थापना गरी अभियान चलाईएको संस्थाका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो ।

‘लकडाउनको समयमा भेला गर्ने, तालिम सञ्चालन गर्ने काम नभएपनि हामीले पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिनका लागि विभिन्न व्यक्तिलाई टेलिफोन गर्ने, मोवाइलमा सरसफाइसँग सम्बन्धित म्यासेज पठाउने आदि गरेर व्यक्तिगत र घरायसी सरसफाइलाई जोड दिन आग्रह गरिरहेका छौं ।’ अध्यक्ष कार्कीले भन्नुभयो । यसका साथै व्यक्तिगत सुरक्षा अपनाएर सामाजिक एवं भौतिक दुरी कायम राख्दै कोरोनाबाट जोगिनका लागि सन्देश पनि प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीका अनुसार चर्पी नभएका घरमा मोवाइलमा सन्देश पठाएर चर्पी निर्माणका लागि अनुरोध गर्ने, चर्पी स्तरीकरणका लागि प्रोत्साहन गर्ने काम पनि गरिएको छ ।



1822 पटक हेरिएको 

