
अरुको घरको कौसी र आँगनमा पुष्प बगैचा देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै पुष्प बगैंचा भए ?’ तर सोचेर मात्र हुँदैन पुष्प बगैंचा । यसका लागि आफैले बनाउनुपर्छ । उसो भए कसरी बनाउने त पुष्प बगैंचा ?
गाह्रो केही पनि छैन, कौसीमा तरकारी खेती लगाए झैं तरकारीको सट्टा विभिन्न जातका फूलहरु रोप्ने मात्र हो । फूल रोप्ने ठाउँ (कौसी, आँगन, गमला वा चामल आदिको बोरा र माटो) को व्यवस्था गरेपछि कुन जातको फूल रोप्न चाहनुहुन्छ नर्सरी व्यवसायीहरुसँग सम्पर्क राख्न पनि सक्नुहुन्छ । होइन भने आफैले पनि बेर्ना उमार्न सक्नुहुन्छ ।
धेरै वर्ष देखि पुष्प बगैचा तथा नर्सरी सञ्चालन गर्दै आउनु भएकी प्रशिक्षक रेखा महर्जनका अनुसार प्रत्येक घरमा फूलका विरुवा र फलफूलका बोटहरु उमार्न सकिन्छ । यसका लागि थोरै समय भए पनि पुग्छ । पुष्प बगैंचामा हाल्ने मल भान्छाबाटै निस्कने फोहोर वस्तुलाई कुहाएर बनाउने प्रशिक्षक महर्जनले बताउनुभयो ।
उसो भए मल कसरी बनाउने त ?
यो पनि सजिलो तरिका छ । पहिले भान्छाबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी बर्गीकरण गर्ने । कुहिने फोहोरलाई कम्पोष्ट बिनमा हाल्ने । कम्पोष्ट बिन बजारमा किन्न पाइन्छ । कम्पोष्ट बिनमा हालेको फोहोरलाई चाँडो कुहाउनु छ भने ई.एम. झोलको मात्रा मिलाएर हाल्ने । जसले मललाई चाँडो गलाउन मात्र होइन, गन्ध आउन पनि दिदैन ।
ई.एम.का बिषयमा जानकार नरेन्द्रमान डंगोल भन्नुहुन्छ ‘ई.एम एक झोल पदार्थ हो जसमा लाभदायी शुक्ष्म जिवाणु पाइन्छ जसले मानिस र वातावरणलाई हानि गर्ने हानिकारक शुक्ष्म जिवाणु नष्ट गर्छ ।’ उहाँका अनुसार ई.एम. घरमै अर्गानिक कम्पोष्ट मल बनाउन र बोट विरुवा उमार्न माटोमा पनि प्रयोग गर्न सकिन्छ । साथै शौचालय सरसफाइको लागि हार्पिकको सट्टामा पनि ई.एम. झोललाई प्रयोग गर्न सकिन्छ ।
घरमै उत्पादित फोहोरबाट मल तयार भएपछि अब घरको आँगन वा छतमा रहेको भाग कहाँ पुष्प बगैंचा बनाउने हो ? छनौट गर्नुहोस् । ठाउँ छनौट गरिसकेपछि त्यसमा माटो र मलको अनुपात मिलाएर तपाईलाई मन पर्ने जातका फूलहरु रोप्नुहोस् । नर्सरीमै जानुभयो भने तपाईले रोजेका फूलहरु पाउनुहुन्छ । साथै फूलकै बारेमा पुष्प व्यवसायीले विभिन्न सल्लाहहरु समेत दिनुहुन्छ ।
अब तपाईको पुष्प बगैंचा तयार भयो । तपाईको बचेको खाली समय अब पुष्प बगैंचामा लगाउनुहोस् । तपाई अब भान्छामा उत्पादित कुहिने फोहोरहरु क्रमशः कम्पोष्ट विनमा हाल्दै जानुहुन्छ । एवं रीतले ती फोहोरहरु मलमा परिणत हुँदै जान्छ । तपाईले त्यसलाई संकलन गरेर पुष्प बगैंचामा नियमित रुपमा हाल्ने गर्नुहोस् । जसले गर्दा फोहोर लिन नगरपालिकाको गाडी कहिले आउँछ भनेर पर्खेर बस्नुपनि परेन । फोहोरलाई मल बनाएर हराभरा फूलको बगैंचा पनि तपाई सँग हुने भयो ।
पुष्प बगैंचाले तपाईको घरको शोभा बढाउने त छँदैछ । यसले मानसिक स्वास्थ्य कायम गर्न र स्वच्छ हावापानी तथा हराभरा वातावरण सिर्जना गर्न पनि सहयोग पुग्ने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।
पुष्प बगैंचाको यही महत्वलाई ध्यानमा राखी गुथिले शुक्रबार पुष्प बगैंचा सम्बन्धी अनलाइन तालिम आयोजना गरिएको थियो ।

NREN र ICD4Dको प्राविधिक सहयोगमा गैर सरकारी संस्था गुथिले आयोजना गरेको तालिममा जुम एपबाट प्रत्यक्ष ५० जना र फेसबुक लाइभबाट २ हजार ३ सय जनाले सहभागिता जनाएका थिए । तालिममा घरको कौशी र करेसामा पुष्प खेती कसरी गर्ने, यस्मा चाहिने सामग्री, घरकै कुहिने फोहोरको प्रयोगबाट मल उत्पादन गरी प्रयोग गर्ने र पुष्प बगैचामा आउने समस्यालाई कसरी समाधान गर्ने बिषयमा अन्तरक्रिया गरिएको थियो ।
तालिममा बोटविरुवामा लाग्ने किरा, फट्याङग्रा, विरुवा हुर्काउनका लागि चाहिने वातावरण, घरको भान्छाबाट निस्कने फोहोरबाट निर्मित कम्पोष्ट मल बनाउने विधि, किटनासक औषधी आदिका बारेमा सहभागीबाट आएका प्रश्नहरुको प्रशिक्षक रेखा महर्जनले समाधानको प्रयास गर्नुभएको थियो ।
बगैचा र बारीमा देखिएका समस्या जस्तै चिप्ले किराले विरुवा खाने स्थितीको समाधानका लागि किटनासक औषधीको विकल्पमा अण्डाको ब्रोका छर्ने सुझाव दिईएको थियो । जसले चिप्ले किरालाई घस्रन बाट रोकी बोट सम्म पुग्न नदिने उपायबारे तालिममा जानकारी दिईएको थियो ।


2257 पटक हेरिएको 

