बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत गुलरिया बजारमा खटिएका सफाइ कर्मचारी रुमालको फेरोले नाकमुख छोपेर काम गर्दै आएका छन् । मास्क र पन्जाको अभावमा असुरक्षित रूपमा काम गर्न बाध्य भएको सरसफाइकर्मीहरु बताउँछन् । नाम नखुलाउन आग्रह गर्दै एक सरसफाइकर्मीले अधिकांश मजदुरलाई बुट, पन्जा र मास्कको अभावमा नाङ्गो हातले फोहोर संकलन गर्नुपरेको बताए ।
‘स्यानिटाइजर माग्दा साँझ दुई बोतल रक्सी दिए भइहाल्छ नि किन स्यानिटाइजर चाहियो भन्छन,’ ती मजदुरले भने । अर्का मजदुर गरुबचन विकले बुट, पन्जा, स्यानिटाइजर नपाउँदा जोखिममा रहेर काम गरिरहेको बताउनुभयो ।
तर, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव भने पन्जा, मास्क र स्यानिटाइजर माग अनुसार उपलब्ध गराएको दाबी गर्नु भएको छ । नगरपालिकाले दैनिक १५ जना मजदुरलाई ज्यालादारीमा खटाएको छ । फोहोर संकलन गर्ने र मरेका पशु चौपाया गाड्ने जिम्मा १० जना सफाइ मजदुरको जिम्मामा छ भने जम्मा भएको फोहोर कुहिने र नकुहिने छुट्याउने जिम्मा पाँच मजदुरलाई दिईएको छ ।