काठमाडौ : तपाईले क्लोरिन म्याटको बारेमा सुन्नु भएको छ ? यसअघि यसबारेमा खासै चर्चा नभए पनि कोरोना भाइरस (कोभिड १९) सँगै क्लोरिन म्याटले पनि चर्चा पाउन थालेको छ ।
क्लोरिन म्याट डोर म्याट जस्तै कार्यालय वा घरको ढोकामै राखिने म्याट हो । फरक यत्ति मात्र हो कि, डोर म्याटले खुट्टा वा जुत्तामा टाँसिएको धुलोमैलोलाई ढोकामै झार्न मद्दत गरी भित्र फोहोर हुन दिदैन भने क्लोरिन म्याटले बाहिरबाट आएका व्यक्तिको खुट्टामा कतै कोरोना भाइरस टाँसिएर आएको रहेछ भने निसंक्रमण गर्न सहयोग पुर्याउँछ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का निमित्त कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार क्लोरिन म्याट डोर म्याट जस्तै हुन्छ । यसको मुनिबाट प्यानल राखिएको हुन्छ भने प्यानल चाहिं थाल वा किस्ती जस्तो छ । आयातकार र प्लाष्टिकले बनेको यो म्याटमा हाई डेन्सिटीको फाम् हुन्छ । त्यसमा प्वालै प्वाल भएको रबरको डोर म्याट हुन्छ र क्लोरिनले भिजेको हुन्छ । जब मानिसले क्लोरिन म्याट माथि टेक्छन् तब मानिसको भारले क्लोरिन जत्ति माथि आउँछ । क्लोरिनले गर्दा जुत्ता वा चप्पलको तलुवामा भिज्दछ । यसरी मानिसको जुत्तामा कोरोना भाइरस टाँसिएर आएको रहेछ भने कार्यालय वा घरको ढोकामै निसंक्रमण गरिन्छ ।
क्लोरिन म्याट धेरै मानिसहरुको आवातजावत भईरहने कार्यालय तथा घरमै पनि उपयोगी हुने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार इको कन्सर्नले क्लोरिन म्याटको विक्री वितरण गरिरहेको छ ।


2128 पटक हेरिएको 

