अनु निरौला/विराटनगर : कोरोना कहर, सबैलाई आफ्नै जीवन बचाउने चिन्ता । विद्यालय बन्द, हाटबजार र व्यवसाय समेत बन्द । चोक गल्लीहरुमा भेला हुन र गाउँले पसलहरुमा चिया गफमा मानिसको उपस्थिति पातलो । सञ्चार माध्यममा विहानदेखि साँझसम्म कोरोनाकै समाचार । कुन जिल्लामा कतिको मृत्यु भयो, कति जना आईसीयू र आइसोलेसनमा उपचार गराइरहेका छन् भन्ने खवर । कतिबेला आफैलाई कोरोनाले छुने हो कि भन्ने सन्त्रास ।
यही सन्त्राका बीच आफ्नो जीवनमात्र नहेरी, समुदायको स्वास्थ्य र सरसफाइ प्रबर्द्वनमा जुटे मोरङ बेलबारी नगरपालिकाका बालबालिका । “हामी आफूमात्र सफा, स्वस्थ र निरोगी भएर नपुग्नेरहेछ”, माझीगाउँ बाल क्लबका प्रतिमा धिमाल भन्नुहुन्छ, “सिंगै समुदाय सफा र निरोगी बनाउने वडाको योजनालाई सघाउन हामी बाल क्लबले समेत अर्को योजना तयार गरेका छौं ।”

कोरोना सन्त्रासका कारण विद्यालयहरु लामो समय बन्द रहे । विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनै पाएन, न त बजारमा गएर पुस्तक किन्ने मौका नै मिल्यो । केही संस्थागत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि अधिकांश बालबालिका यस बीचमा औपचारिक पढाइबाट टाढै रहे । विद्यालय बन्द भएका कारण विद्यालय तहका बाल क्लब पुनर्गठन नभए पनि, विद्यालय बाल क्लब र समुदाय तहका बाल क्लबले सहकार्य गरे, सरसफाइ प्रबर्द्वनका लागि ।
“हात धुने महाअभियान होस् या सरसफाइका सूचक पूरा गरेका घरमा हरियो झण्डा गाड्ने कार्यमा होस्, बालबालिकाको भूमिका महत्वपूर्ण रह्यो”, पूर्ण सरसफाइ अभियानका पालिका संयोजक रीता कोइराला भन्नुहुन्छ, “स्वास्थ्य सावधानी अपनाउँदै बालबालिकाहरुले आफ्नो समुदाय र छिमेकी समुदायसम्म पुगेर सरसफाइ प्रबर्द्वनमा क्रियाशील रहे ।”
समुदायलाई हात धुने सिकाउने देखि सरसफाइका सूचक घोकाउने सम्म

खुला दिसामुक्त अभियानका क्रममा समुदायले ‘चर्पी निर्माण’ मा बढी जोड दिएको र सरसफाइका अन्य सूचकहरुको कार्यान्वयनमा पर्याप्त ध्यान पुग्न नसकेका कारण पनि पूर्ण सरसफाइ अभियानका क्रममा सबै सूचक पूरा गराउन निकै हम्मे हम्मे पर्यो । “त्यतिबेला घरदैलो गर्दै चर्पी बनाउनका लागि मात्र अनुरोध गरिन्थ्यो, सरसफाइका अरु सूचकमा न हामीले धेरै कुरा गर्न भ्यायौं, न त समुदायले नै ध्यान दिन सकेका थिए”, बेलबारी नगरपालिका, वडा नं. ८ का अध्यक्ष धनपति गौतम भन्नुहुन्छ, “अहिले पूर्ण सरसफाइ अभियानका क्रममा ७ वटा मूल सूचक र २६ वटा सहायक सूचक रहेका छन्, जुन पूरा गराउनका लागि प्रत्येक दिनजसो घरदैलो गरिरहनुपर्छ ।”
यही घरदैलोमा समेत साथ दिइरहेका छन्, बालबालिकाहरुले । उनीहरुले ८० प्रतिशतसम्म सूचक पूरा गर्ने घरधुरीमा प्रोत्साहनका लागि हरियो झण्डा राख्ने गरेका छन् । “हरियो झण्डा राख्दा घरधुरीलाई हौसला थपिने रहेछ, पूर्ण सरसफाइका सूचक पूरा गर्न छिमेकी घरधुरीलाई नैतिक दवाव सृजना हुने रहेछ”, बेलबारी–९ का वडाध्यक्ष नगेन्द्र खड्काको भनाइ छ, “बाल क्लबको सक्रिय सहभागिताले पूर्ण सरसफाइको सन्देश समुदायको सबै तहमा लैजान सहयोग समेत पुगेको छ ।”

घरधुरीमा पूर्ण सरसफाइ अनुगमन तालिका झुण्ड्याइएको छ, टोल र वडा तहमा गठन भएका अनुगमन समितिले घरायसी सरसफाइको अवस्था अनुगमन गरी तालिकामा अंक दिन्छन् । तालिकामा रहेको अंकको आधारमा बाल क्लबका सदस्यहरुले घरदैलो गरी सफा स्वच्छ घरमा हरियो स्टिकर र न्यूनतम ८० प्रतिशत सूचक पूरा गरेका घरमा झण्डा गाडिदिन्छन् ।
“केही घरधुरीले सूचक पूरा नगरीकनै पनि हरियो स्टिकर माग्न थाल्नुहुन्छ”, बाल क्लबका सदस्य जेसन खवास भन्नुहुन्छ, “हामीले सूचकका आधारमा कम्तिमा ८० प्रतिशत अंक नपाएका घरधुरीलाई बाँकी सूचक पूरा गर्नका लागि सम्झाइ बुझाइ गरेर छोड्छौं, र पछि फेरि अनुगमनमा जान्छौं ।”
राष्ट्र खुला दिसामुक्तको एक वर्ष पुगेको अवसर र विश्व हात धुने दिवसको सन्दर्भमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले आयोजना गरेको महिनाव्यापी हात धुने महाअभियानमा बाल क्लबका सदस्यहरुको सहजीकरण प्रभावकारी रहेको बताउनुहुन्छ पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघ विराटनगरका टिम लिडर हिमांसु यादव । “विद्यालय नखुले पनि प्रधानाध्यापक र संस्थापकहरुसँगको सहकार्यमा सार्वजनिक र संस्थागत दुबै विद्यालयका बाल क्लब सदस्य तथा विद्यार्थीहरुले प्रभावकारी सहजीकरण गरे”, उहाँको भनाइ छ, “रतुवामाइ नगरपालिका लगायतका स्थानमा त विद्यार्थीको सक्रियता र व्यापक सहभागिताका कारण नै हात धुने कार्यक्रम उत्सवजस्तै बन्यो ।”
मोरङकै विराटनगर महानगरपालिकाका विपन्न बस्ती, ग्रामथान, बूढीगंगा, कटहरी, जहदा लगयतका स्थानीय तहमा बालबालिकाले हात धुने महाअभियानमा सहजीकरण गरे ।
सहजीकरण होस् या अनुगमन, बालबालिकाले विधिसम्मत ढंगले गर्ने गरेको बुझाइ ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको स्थानीय साझेदार संस्था नारी विकास संघका पूर्ण सरसफाइ कार्यक्रम अधिकृत शर्मिला चौधरीको छ । “बालबालिका सृजनशील छन्, घरधुरीलाई सरसफाइका सूचकको बारेमा नयाँ र सृजनात्मक ढंगले जानकारी गराउँछन्”, चौधरी भन्नुहुन्छ, “अनुगमन समिति कहिलेकाहीं अंक दिने सन्दर्भमा लचिलो बने पनि बालबालिको कहिल्यै पनि गुणस्तरमा सम्झौता गर्दैनन् ।”



1758 पटक हेरिएको 

